कोहलपुर ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुुरले २०८१ सालका महत्वपूर्ण पर्वहरू विजया दशमी शुभदीपावली तथा छठको अवसर पारेर बिहीबार शुभकामना आदान–प्रदान, रचना वाचन तथा साहित्य विमर्श गरेको छ ।
ज्ञानोदय पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सभाहलमा आयोजित कार्यक्रमका वक्ताहरूले शुभकामना आदान–प्रदान गर्नुका साथै यस क्षेत्रको साहित्य लेखनको प्रवृत्तिबारे विचार विमर्श गरेका थिए ।
कवि एवम् पत्रकार नवीन अभिलाषीले शुभकामना मन्तव्य राख्दै यस क्षेत्रका पछिल्ला रचनाहरूमा विचार पक्षको अभाव देखिन थालेको धारणा राखेका थिए । ‘रचनामा विचार पक्षलाई हामीले त्यति महत्व दिएनौँ कि !’ उनले भने, ‘अबका रचना विचारले युक्त हुनु जरुरी छ । लामो समय समाजमा बाँच्ने पनि तिनै रचनाहरू नै हुन् ।’ उनले यहाँका स्रष्टाले सिर्जना गर्ने रचनामा स्थानीय माटोको सुगन्ध, यहाँका किनारीकृत मानिसका पीडा र दर्द समेटिनुपर्ने पनि बताए ।
त्यस्तै, अर्का स्रष्टा एवम् धरा भाषा कला, साहित्य प्रतिष्ठान बाँसगढीका अध्यक्ष ईश्वरीप्रसाद रिजालले पछिल्लो समय यस क्षेत्रका स्रष्टाहरूले विभिन्न विधामा कलम चलाउँदै आए पनि ती सम्बन्धित विधाको सैद्धान्तिक फ्रेमभित्र लेखिएका छन् कि छैनन् भन्ने कुराको हेक्का नगर्ने गरिएको बताए । कुनै पनि विधाको सैद्धान्तिक पक्षलाई बिर्सन नहुने उनको भनाइ थियो ।
साहित्यकार सागर गैरेले हाम्रो पूूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमले चाडबाड भित्रिएको अनुभूति गराएको बताए । उनले साहित्यमाथिको विमर्शसहित आयोजित कार्यक्रम उपलब्धिपूर्ण बनेको धारणा राखे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई, सन्तोषी विष्ट, पत्रकार विष्णु बेलबासे, भरत पनेरू, खोपीराम वली, भीम प्रज्वल, बद्री ढकाल, प्रकाश मरासिनी, मणि गैरे, चन्द्रावती अधिकारी, शेखर दहित, ढकबहादुर थारू, शिवध्वज शाहीलगायतको उपस्थिति रहेको थियो ।
शुभकामना मन्तव्य राख्दै स्रष्टाहरूले आ–आफ्ना रचनासमेत वाचन गरेका थिए । स्रष्टाहरूले साहित्यको सामाजिक तथा वैचारिक मूल्यबारे विमर्श गर्दै आआफ्ना सुझावसमेत राखेका थिए । प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले अध्यक्षता गरेको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव केशव निमेषले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्