भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीद्वारा धर्ना



बुटवल ।

झन्डै १० महिनायताको रनिङ बिलबापत पाउनुपर्ने ५० करोड भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् । कोषअन्तर्गतका विभिन्न परियोजनाका ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।

‘लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा निर्माण कार्य गरिरहेका निर्माण व्यवसायीहरूले विगत १० महिनादेखि पेश भएको रनिङ बिलको भुक्तानी नपाएको हुँदा यो धर्ना कार्यक्रम गरिरहेका छौं,’ धर्नास्थलमा टाँगिएको ब्यानरमा भनिएको छ ।

यसअघि शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरूलाई अविलम्ब भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । ‘भुक्तानीमा भइरहेको ढिलाइले परियोजनाहरूको प्रगतिमा गम्भीर असर पु¥याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि भुक्तानी प्रक्रिया छिटो अगाडि नबढाइएमा निर्माण व्यवसायीहरूले अझ कडा कदम चाल्न बाध्य हुनेछन् । यसबाट सिर्जना हुने सम्पूर्ण जिम्मेवारी लुम्बिनी विकास कोषले लिनुपर्नेछ ।’

यस राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका विभिन्न परियोजनामा लुम्बिनी–एनके– खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजित जेभी, रमन–गजुरमुखी–रामजानकी जेभी र खानी–अर्घाखाँची– बबुल जेभी कार्यरत छन् ।

यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य रोकिसकेका छन् । अझै २ दिनसम्म भुक्तानी नभएमा कोषको कार्यालयमै तालाबन्दी गर्ने निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार