खजुराको सिमलघारीबाट नाबालिकालाई बाघले लगेको आशङ्का



खजुराको सिमलघारीमा रहेको घरबाटै आइतबार रातिदेखि वेपत्ता भएकी नाबालिकाको सोमबार रातिसम्मै खोजी गरेपनि फेला पर्न सकेकी छैनन् । सो क्षेत्रमा पाटेबाघ र चितुवा देखिने गरेकोले बाघ र चितुवामध्ये एकले लगेको आशङ्का गरिएको छ ।

तिलक गाउँले । खजुरा ।

आमा सीता पुन विक्षिप्त छिन् । आइतबार राति साढे ८ बजेदेखि बेपत्ता अढाई वर्षीया छोरी लक्ष्मी पुनको अहिलेसम्म अत्तोपत्तो छैन । वैदेशिक रोजगारीमा गएका श्रीमान् वीरेन्द्र पुन मंगलबार काठमाडौँ आइपुग्ने जानकारी पाएपछि छोरीसँगै आफू पनि काठमाडौँ गएर श्रीमान्सँगै गाउँ फर्किने सपना बुनेकी सीताको सपना केहीबेर पनि टिक्न पाएन ।

बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीस्थित वली चोकमा सीताको घर छ । घरभन्दा अलि पर बाख्राको खोर छ । त्यही खोरमा श्रीमान् आएपछि काट्ने भनेर पालिएको खसी पनि छ । त्यही खसीलाई दाना खुवाउनका लागि आइतबार बेलुका करिब साढे ८ बजे दुई छोरासहित सीता बाख्राको खोरतर्फ गएकी थिइन् ।

पछिपछि उनकी कान्छी छोरी अढाई वर्षीया लक्ष्मी पनि आएकी थिइन् । बाख्रालाई दाना खुवाएर घर फर्किने क्रममा पछिपछि आएकी छोरी एकाएक हराइन् । छोरीलाई नदेखेपछि आमा सीता झस्किइन् । यताउता खोजिन् । तर छोरी कतै भेटिइनन् ।

उनले आत्तिँदै वरिपरिका छरछिमेकलाई खबर गरिन् । तर लक्ष्मीको कतै अत्तोपत्तो लागेन । तबसम्म गाउँभन्दा अलि तलको खेतमा बाघले एउटा कुकुरको कान खाइदिएको हल्ला गाउँभरि फैलिसकेको थियो । अढाई वर्षीया बालिका लक्ष्मीलाई पनि बाघले लगेको आशङ्का गाउँलेहरूले गरे । सबै गाउँलेहरू जम्मा भएर खोजी कार्य सुरु गरे । गाउँलेले प्रहरीलाई पनि खबर गरे ।

प्रहरीसहित स्थानीयले बालिका लक्ष्मीको खोजी तीव्र पारे । खोज्दै जाने क्रममा खेतका आलीहरूमा रगत र बाघका पञ्जाको छाप देखिएपछि स्थानीयहरू लक्ष्मीलाई बाघले नै लगेको भन्नेमा विश्वस्त भए ।

बिहान उज्यालो भएपछि स्थानीयहरू नजिकै रहेको गिजरा सामुदायिक वनभित्र पनि पसे । तर बालिकाको कुनै अत्तोपत्तो लागेन । बिहानै इलाका प्रहरी कार्याल धनौली, सशस्त्र प्रहरी बल बढैया पोस्ट, जिल्ला वन कार्यालय बाँके र स्थानीयसहितको टोलीले खोजी कार्यलाई तीव्रता दिए पनि बालिकाको कुनै अत्तोपत्तो लाग्न सकेन ।

सोमबार बिहान करिब साढे ११ बजे नेपाल प्रहरीका दुईवटा कुकुर परिचालन गरेर बालिकाको खोजतलास गर्दासमेत कुनै पत्तो नलागेको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।

कुकुरले पत्ता लगाएको लोकेसन फलो गर्दै जाँदा गिजरा सामुदायिक वन हुँदै बाघ मानखोला तरेर बर्दियाको जंगलमा गएको हुन सक्ने अनुमान गरिएको उनले बताए । बर्दियाको जंगलमा खोजतलासका लागि जिल्ला वन कार्यालय बर्दिया र बर्दिया प्रहरीसँग समन्वय भइरहेको केसीले बताए ।

यसअघि पनि सो गाउँमा पटक–पटक बाघ आउने र बाख्रा खाने गरेको स्थानीय यमुना पुनले बताइन् । ‘बाख्रा र कुकुर त पटक–पटक लगेकै हो तर यसपटक मान्छे नै लग्यो,’ उनले भनिन् ।

प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालय र सयौँको संख्यामा स्थानीय परिचालित भएर खोजतलास गर्दा पनि बालिकाको अवस्था पत्ता नलागेपछि बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिकहरूलाई बोलाइएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले जानकारी दिए । तत्काल बाख्रा वा कुकुरको प्रयोग गरेर बाघ हिँड्ने स्थानमा खोर राखेर बाघ नियन्त्रणमा लिने प्रयास गरिने उनले जनाए ।

‘यसरी पनि सफल नभए हात्तीको प्रयोग गरेर भए पनि बाघ नियन्त्रणमा लिनुका साथै बालिकाको अवस्थाका बारेमा पत्ता लगाउन कुनै कसर बाँकी राख्ने छैनौँ,’ अध्यक्ष तुफानले भने । अहिले बाघ आउजाउ गर्ने विभिन्न स्थानमा क्यामेरासमेत जोडिसकिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार