दाङ ।
रोल्पामा हजुरबुबाको हत्या गरेको आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । सोमबार थवाङ गाउँपालिका–२ जाजरकोट टोलमा ७१ वर्षीय सारू रोकाको हत्या भएको थियो ।
उनको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत लामाले बताए ।
नाति रामकुमारले भरूवा बन्दुकको कुन्जाले टाउकोमा हिर्काएर हजुरबुबा सारूको हत्या गरेको प्रहरीले आरोप लगाएको छ । उनीहरू दुबै जना सोमबार भोजबाट मापसे गरी फर्किएका थिए । मापसे गरी फर्किएका उनीहरूबीच झगडा भएपछि नातिले बन्दुकको कुन्जाले हिर्काएको डिएसपी लामाले जानकारी दिए ।
‘घटनामा ठूलो कारण केही देखिएको छैन । भोजबाट मापसे गरी फर्किँदा झगडा भएपछि हत्या भएको देखिन्छ,’ उनले भने । सारूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
रोल्पा प्रहरीले घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्