तीजका अवसरमा शुभकामना आदान–प्रदान, तीजमिलन, तीज प्रतियोगिता, अन्तक्र्रिया, तीज महोत्सवलगायतका अनेक नाममा कार्यक्रमहरू एक महिना अघिदेखि नै सुरु हुन थाल्छन् । आमा समूहदेखि लिएर राजनीतिक दल र तिनका भातृ संगठनहरूले समेत तीजका अवसरमा भनेर विभिन्न कार्यक्रमहरू आयोजना गर्न थालेका छन् ।वीरेन्द्र जैसी । नेपालगन्ज ।
भदौ शुक्ल तृतीयाका दिन व्रत बस्नका लागि सजिलो होस् भनेर त्यसको अघिल्लो दिन अडिलो खाना अर्थात् दर खाने अनि तृतीयाका दिन व्रत बस्ने । वर्षभरि माइतीसँग भेट हुन नपाएका छोरीचेलीहरूलाई आमन्त्रण गरी दर खुवाउने, नारीहरूले तीजको भाकामा गीत गाउँदै नाचगान र रमाइलो गर्ने । गीतमार्फत नारीहरूले आफूले भोगेका अनुभूतिहरू खुलेर व्यक्त गर्ने ।
तीजको सांस्कृतिक क्रियाकलापको निचोड यही हो । परम्परागत रूपमा तीज दुई दिनको चाड भए पनि समयसँगै यो दुई दिनमा सीमित नरहेर महिनाभरिको चाड भइसकेको छ । यो धार्मिक मान्यतामा आधारित सांस्कृतिक चाडबाट अर्थराजनीतिक चाड पनि बन्दै गइरहेको छ । तीजका अवसरमा गरिने क्रियाकलापहरू समयसँगै आर्थिक पक्ष हुँदै राजनीतिक रूपले निर्देशित हुँदै गइरहेका छन् ।
अहिले सहरका सबैजसो रेस्टुरेन्ट तथा पार्टी प्यालेसका हलहरू तीजका अवसरमा हुने कार्यक्रमले गुन्जायमान छन् । कार्यक्रमका लागि हलको समय मिलाउनुपर्ने अवस्था छ । एक महिना अघिदेखि नै राता साडीमा सजिएर तीजका भाकामा नाचगान गर्ने र दर खाने कार्यक्रममा हिँडेका नारीहरूको चहलपहल सुरु भइसक्छ । नेपालगन्जका एक रेष्टुरेन्ट व्यवसायीले प्रायः चाडबाडहरू बजारलाई चलायमान गराउने अवसर रहेको बताए । त्यसमा पनि तीज रेस्टुरेन्ट व्यवसायलाई अन्य चाडभन्दा बढी चलायमान गराउने चाड बन्दै गएको उनको अनुभव छ ।
तीज गायन क्षेत्रका कलाकारहरूका लागि पनि एक अवसर हो । तीजको भाकामा गीत तयार गर्ने र युट्युबमा प्रशारित गर्ने काम पनि महिना दिन अघिदेखि नै सुरु हुन्छ । युट्युबले मूलधारका प्रशारण माध्यमलाई पनि एक महिना अघिदेखि नै तीजका भाकामा गाइएका गीतहरू बजाउन बाध्य पार्छ । र, त्यसले दुई दिनको चाडलाई मासिक चाडका रूपमा बदल्न भूमिका खेल्छ ।
तीजका अवसरमा शुभकामना आदान–प्रदान, तीजमिलन, तीज प्रतियोगिता, अन्तक्र्रिया, तीज महोत्सवलगायतका अनेक नाममा कार्यक्रमहरू एक महिना अघिदेखि नै सुरु हुन थाल्छन् । आमा समूहदेखि लिएर राजनीतिक दल र तिनका भातृ संगठनहरूले समेत तीजका अवसरमा भनेर विभिन्न कार्यक्रमहरू आयोजना गर्न थालेका छन्् । एउटा राजनीतिक संगठनले तीज मिलन कार्यक्रम गरेसँगै अर्काे संगठनले पनि आफ्नो उपस्थिति जनाउन कार्यक्रम गर्ने क्रम बढेको छ ।
तीजका नाममा हुने कार्यक्रममा कतिपय अवस्थामा एकै किसिमका साडीहरू लगाउनुपर्ने नियमहरू पनि लगाइएका पाइएका छन् । यसका साथै भड्किलो किसिमले गहनाको प्रदर्शनी हुने र अनावश्यक रूपमा खानपिनमा खर्च गरिने गरेको भन्दै समाजको एक तप्काबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ । अवस्था यस्तोसम्म पुगेको छ कि प्रशासन कार्यालयहरूले भड्किलो रूपले तीज नमनाउन भन्दै अनुरोध गर्नुपरेको छ ।
सूचना प्रविधिले गाउँसहर जताततै तीज मनाउने शैलीमा परिवर्तन ल्याए पनि सहरका तुलनामा गाउँमा अलि कम तडकभडक हुने गरेको देखिन्छ । यद्यपि संसारभरि नै चाडबाडलाई आर्थिक क्रियाकलापहरू चलायमान हुने अवसरका रूपमा लिइन्छ । यस्तो अवस्थामा तीज पनि त्यही प्रवृत्तिकै एक पर्व बन्दै गइरहेको छ । तर, कतिपय अवस्थामा तीज मनाउने शैलीमा आएका विकृतिका बारेमा भने सचेत ढंगले छलफल हुन जरुरी छ ।
नेपाल सरकारको अधिकृतका रूपमा कार्यरत अमृता केसीका अनुसार ‘पुरुषले वर्षैभरि पार्टी गर्ने, जमघट गर्ने गर्छन् तर तीजमा महिलाहरूले एक डेढ महिना अघिदेखि दर खाएको कुरालाई किन इसु बनाउनुप¥यो ?’
भनेर केही महिला अधिकारकर्मीका रूपमा आफूलाई चिनाउनेहरूले भन्ने गरेका छन् । तर उनी भन्छिन्, ‘संस्कृतिलाई विकृतिमा रूपान्तरण गर्न खोज्ने कुरा महिलाको अधिकारको कुरासँग सम्बन्धित छैन भन्ने लाग्छ । समाजमा जाने बुझेका र पढेलेखेका महिलाहरूले संस्कृतिको जगेर्ना गर्ने हो नि त्यसलाई अपल्याख्या गरेर विकृति फैलाउन हुन्न भन्ने मलाई लाग्दछ ।’
केसीको भनाइसँग कवि देवकी तिमिल्सेनाको पनि विचार मेल खान्छ । उनी भन्छिन्, ‘पुरुषहरू वर्षभरि रमाउन मिल्ने नारीहरूले एक महिना अघिदेखि मनाउँदा पनि विरोध गर्ने ? पुरुषले दिनरात रक्सी खाएर मातिन हुने तर महिलाले खानै नहुने ? लगायतका अतिरञ्जित र अतिवादी बुझाइका कारण समाजमा महिला र पुरुष दुबैलाई नकारात्मक असर परेको कुरामा गम्भीरतापूर्वक नसोच्नु नै यस्तो भाष्यको निर्माण हुनु हो ।’
उद्यमी दिला शाहका विचारमा महिनादिन अघिदेखि नै दर खाने नाममा हुने क्रियाकलापहरू परम्परामा आएको विचलन हो । उनी भन्छिन्, ‘होटेल रेस्टुरेन्टहरूमा गएर दर खाने नाममा दारुका बोतलहरू देखाउँदै चेस गरिरहेका क्रियाकलापहरूले हाम्रो समाज र आउँदो पिँढीलाई धेरै ठूलो घाटा हुनेछ ।’
पत्रकार अंशु खनालका विचारमा धेरै दिदीबहिनीहरूको पालैपालो दर खुवाउने चलन भएर पनि महिनादिन अघिबाटै तीजको चलहपहल सुरू हुन थालेको हुनसक्छ । तर दर खाँदा लगाउने एकैखाले लुगा, गहना र मेकअप पुँजीवादी सोचसँग जोडिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएकाहरूलाई त अहिलेको तडकभडकवाला तीज मनाउनै गाह्रो छ ।’
तीजको भड्किलो रूपलाई रोक्न राज्य नै सक्रिय हुनुपर्ने र समाजको सचेत वर्गले यसको सकारात्मक पाटाबारे पैरवी गर्नुपर्नेमा जोड दिन्छिन् केसी । यसका साथै राज्य पनि यस विषयमा सक्रिय भूमिकामा आउनुपर्ने उनको राय छ । उनी भन्छिन्, ‘केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले यो पर्वको नाममा वा संस्कृतिको नाममा विकृति फैलाउने कार्य गर्नेहरूलाई सचेत गराउने, सचेत गराउँदा पनि नसुध्रिए कारबाही गर्ने गरी नीति बनाई लागू गनुपर्छ ।’
कवि तिमिल्सेनाका विचारमा तीजको विकृत रूपलाई रोक्न सामाजिक रूपमा अभिमुखीकरण, तालिम, तीजको मर्म र ऐतिहासिकतासम्बन्धी अन्तक्र्रिया, विचार विमर्श र समीक्षा पहिलो प्रयास हुनसक्छ ।
तीजको मौलिक तथा ऐतिहासिक पक्ष भुल्नु हुँदैन
अमृता केसी
अधिकृत, नेपाल सरकार
हरितालिका तीज हिन्दुधर्मावलम्वी महिलाहरूको मनाउने विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग मनाउने पर्व भएकाले यसलाई हाम्रो नेपाली समाजमा महिलाको चाड भनेर चिन्ने गरिन्छ ।
विगतमा र अहिले पनि हाम्रो देशका ग्रामिण क्षेत्रका महिलाहरू आफूले आफ्ना घरपरिवारबाट पाएका हिंसा, यातना, वेदना, दुःखेसो, लान्छनालगायतका पीडाहरूलाई पोख्न नसक्ने भएकाले गीतलाई माध्यम बनाएर आफ्ना साथीसङ्गीसँग आफ्नो माइती घरमा गएर दुःखसुख पोखापोख गर्ने भएकाले पीडा पोख्ने पर्वका रूपमा पनि लिने
गरिन्छ । बिहे भएर गएका वर्षौंसम्म पनि माइतीघर आउन नपाएका महिला दिदीबहिनीहरूलाई आफ्ना आफन्तसँग भेटघाट हुने अवसर भएकाले तीजले हाम्रो सामाजिक संरचनामा छुट्टै महत्व र अर्थ राख्छ ।
तीजको आफ्नै सामाजिक, सांस्कृतिक र मौलिक विशेषता छ । मैले बुझेसम्म दर खाने भनेको तीजको अघिल्लो दिन हो । यस दिनमा विवाह भई घर गएका विवाहित दिदीबहिनीहरू र घरमै रहेका अविवाहित दिदीबहिनीहरूलाई एकैठाउँमा भेला गराई दाजुभाइहरूले यथाशक्य मीठा र मिष्ठान्न भोजन खुवाउने चलन हो । हरितालिका तीजको दिनमा निराहार व्रत बस्दा असजिलो नहोस् भनेर अघिल्लो दिनको मध्यराति खिर, खाजा, चिच्चर, दूध, दही र फलफुललगायतका परिकारहरू खाने र खुवाउने गरिएको हो ।
पछिल्लो समय सहरी क्षेत्रका महिलाहरू जो आत्मनिर्भर छन्, सक्षम छन् उनीहरूले तीज आउनु एक डेड महिना अघिबाटै होटल तथा पार्टी प्यालेसहरूमा पैसा उठाएर नाचगान गर्ने, दर खाने, गहना तथा लुगा प्रदर्शन गर्ने गरेको देखिन्छ । यसलाई सकरात्मक रूपमा लिन सकिँदैन । साथीभाइबीच माया प्रेम साटासाट गर्ने, जमघट हुने कुरालाई अन्यथा भन्न मिल्दैन । तर तीजको नाममा यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, मौलिक पक्षलाई असर पार्ने छुट कसैलाई पनि छैन ।
तीजको विकृति रोक्न सम्भव छ । त्यसका लागि एउटा व्यक्ति, एउटा समुदाय वा एउटा संघसंस्थाले गरेर मात्र हुँदैन । तीनै तहका सरकारले यो पर्वको नाममा वा संस्कृतिको नाममा विकृति फैलाउने कार्य गर्नेहरूलाई सचेत गराउने, सचेत गराउँदा पनि नसुध्रिए कारबाही गर्ने गरी नीति बनाई लागू गर्नुपर्छ । सञ्चारकर्मी र मिडियाहरूले तीजको धार्मिक, सांस्कृतिक तथा मौलिक संस्कृतिका बारेमा समाचार तथा सूचनामूलक सामग्रीहरू प्रकाशन तथा प्रसारण गर्ने, डेढ महिना अघिदेखि हुने दरका कार्यक्रमलाई महत्व नदिने तथा सम्बन्धित निकायलाई खबरदारी गर्ने गर्नुपर्छ । स्थानीय सरकारले मौलिक र तीजको महत्व झल्किने तीज गीत प्रतियोगिता राख्ने, स्थानीय पाठ्यक्रममा तीजको मौलिक संस्कृति र संरक्षणका विषय समावेश गर्नेलगायतका काम गर्नुपर्छ ।
स्वतन्त्रताका नाममा अतिवादी बुझाइ भयो
देवकी तिमिल्सेना
कवि
तीज पर्वलाई छोरी चेलीहरू भेला भएर भावना साटासाट गर्ने, समूहमा रमाउने र स्वतन्त्रताको अनुभव गर्ने रूपमा लिइन्छ । यसको ऐतिहासिकता शिव र पार्वतीको प्रणय कथासित जोडिएको पाइन्छ । यो धर्म, संस्कृति, प्रेम, विद्रोह र समर्पणसँग सम्बन्धित छ ।
अझ भनौँ युगौँदेखि धार्मिक र आध्यात्मिक विश्वासलाई आधार बनाएर सोहीअनुसार समाज निर्माण कार्यमा योगदान दिएको कुरा पनि उल्लेख गरेको पाइन्छ । विशेषगरी तीजलाई एकता, प्रेम, खुसी, समृृद्धि, पारिवारिक सद्भावको पर्वका रूपमा मनाउँदै आएको पाइन्छ । यो कृषि र पितृसत्तात्मक व्यवस्थासँग जोडिएकाले त्यसप्रतिको विद्रोहको रूपमासमेत यसलाई बुझ्न सकिन्छ ।
यो पर्व सामाजिक, पारिवारिक, सांस्कृतिक र आर्थिक पक्षहरूसँग पनि जोडिएको पाइन्छ । धार्मिक–सांस्कृतिक पहिचान पाए पनि सामन्तवादी संस्कृतिको सोचका कारण विविध संस्कृति र संस्कारको नाममा थोपरिएको दुःख, अपमान, घृणा, हेला र वेदनाको ठूलो बोझ बिसाउने माध्यम थियो । चौतारी, आँगन, चौर र शिव मन्दिरमा भेला भएर मनको भावना पोख्ने विगतको परम्परा हो ।
यो त्यतिबेलाको महिलाहरूको विद्रोही चेत हो । यस पर्वलाई भाद्र शुक्ल द्वितीया तिथिदेखि चार दिनसम्म मनाइन्छ । जसअन्तर्गत पहिलो दिन दर खाने, दोस्रो दिन निराहार व्रत बस्ने, तेस्रो र चौथो दिन विधिसम्मत् रूपमा स्नान गरी ऋषिहरूको पूजा गर्ने प्रचलन रहेको छ । छोरीहरू रजस्वला भएपछि नै पञ्चमी नुहाएर बीचमा शिवलिङ्ग बनाई वरिपरि दिदीबहिनीले घुमेर शिवको महिमा गाएर पूजा गरेको पाइन्छ । यसरी हेर्दा तीज पर्वले हाम्रो सामाजिक संरचनामा सद्भाव, पारिवारिक मिलन, सामूहिक चेतना, विद्रोह र सामाजिक मूल्य–मान्यताको पहिचान र अर्थ राख्छ ।
तीजको सुरुवातदेखि आजको बदलिँदो परिवेशसम्म आउँदा नेपाली नारीहरूको महान् चाडको रूपमा मनाइने यो पर्वमा गाइने गीतहरू, माँगल र सवाइहरू विगतको तुलनामा विकृत हुँदै गइरहेको समाजको अनुभव छ । अहिलेको शिक्षित वर्गको अध्ययन, चिन्तन बहस र समीक्षा यो विषयमा गम्भीरतापूर्वक नभएको पाइन्छ । समाजको कुरूप पक्षलाई बोकेर महिला समानता, स्तन्त्रता र सशक्तीकरणकरणको आवाज उठाउनु हास्यास्पद पनि लाग्ने गर्दछ । अर्को कुरा तीज भनेपछि महिलाको मात्रै चाड हो भनेर बुझ्नु पनि अस्वाभाविक लाग्दछ ।
वर्तमानमा तीजलाई समयभन्दा अघिदेखि मनाउनु, मनाउने तरिकामा फरक आउनुमा फरक बुझाइ र चेतना भएर हो भन्ने लाग्छ । जस्तै ः पुरुषहरू वर्षभरि रमाउन मिल्ने नारीहरूले एक महिना अघिदेखि मनाउँदा पनि विरोध गर्ने ? पुरुषले दिनरात रक्सी खाएर मातिन हुने तर महिलाले खानै नहुने ? लगायतका अतिरञ्जित र अतिवादी बुझाइका कारणले समाजमा महिला र पुरुष दुबैलाई नकारात्मक असर परेको छ ।
तीज भन्नेबित्तिकै गीत संगीत पनि जोडिन्छ र आजका कतिपय गीतहरूले समाजमा अपाच्य हुने र समाज रूपान्तरणमा नकारात्मक प्रभाव पारेको पाइन्छ । यसले समाजलाई अधोगतितिर धकेल्छ । तथापि, तीजले नेपाली महिलाका जीवन पद्धतिलाई रूपान्तरण कसरी गर्दछ, महिलाको अधिकार र स्वन्त्रताको बाहक कसरी बन्न सक्छ भन्नेतिर सोच्नुपर्छ ।
भड्किलो तीजले विपन्न समुदायलाई मानसिक असर गर्छ
दिला शाह
उद्यमी
तीजको नाममा महिनौँ अगाडिदेखि दर खाने हाम्रो परम्परा होइन । यस्तो परम्परा गर्दै होटल रेस्टुरेन्टहरूमा गएर दरखाने नाच्ने उच्छृङ्खलता देखाउने अझ दारुका बोतलहरू देखाउँदै चेस गरिरहेका यस्ता क्रियाकलापहरूले हाम्रो समाज र आउँदो पिँढीलाई धेरै ठूलो घाटा हुनेछ । यसले हुने खाने र हुँदा खानेको बीचमा धेरै ठूलो विकराल अवस्था ल्याइरहेको देखिन्छ ।
यस्तो अवस्थालाई हामीले स्वतन्त्रताको नाम दिइरहेका छौँ भने यो हामीले सरासर गलत गरिरहेका छौँ । कोरोना कालपछि समाजमा कतिपय व्यक्तिहरूले साँझ बिहानको छाक टार्न गाह्रो छ । तर महिलाहरूले महँगा महँगा साडी, गहना सेट लगाएर होटल रेस्टुरेन्टमा गएर नाच्दै खाँदै गर्दाको यो अवस्थाले ती साँझ बिहान खान नसक्ने परिवारहरूलाई कस्तो असर पर्छ ? यसले गर्दा पनि धेरै व्यक्तिहरूमा मानसिक समस्याको प्रभाव पर्ने पनि देखिएको छ ।
तीजको नाममा देखिएको यो विकराल अवस्थालाई रोक्नका लागि हामी आफैँ सचेत हुन जरुरी छ । यसका लागि विभिन्न कार्यक्रमहरूमा सचेतता प्रदान गर्ने र यहाँको स्थानीय सरकार, सरोकारवाला, समाजका अगुवा महिला लिडरहरूले यस पनि विषयमा छलफल गरेर केही मापदण्डहरू राखिदिनुपर्छ कि जस्तो मलाई लाग्छ ।
बदलिँदै गरेको सामाजिक अवस्थाले तीजको संस्कृतिलाई विकृत बनाउन पक्कै पनि सघाउ पु¥याएको होला । त्यस्तै खालका गीत संगीत र उच्छृङ्खल मनोवृत्तिले गर्दा आज तीजको हाम्रो मौलिकतालाई असर गरेको हो । यसमा हरेक क्षेत्रले अत्यन्तै गम्भीर भएर सोच्न जरुरी छ ।
व्रत र पञ्चमी पूजाप्रति सहमत छैन
अंशु खनाल
पत्रकार तथा अभियानकर्मी
चाड मनाउनेलाई एक महिनाअघि दर खाने कुराहरू सामान्य नै लाग्ला । धेरै दिदीबहिनीहरूको पालैपालो खुवाउने चलन भएर पनि सायद एक महिनाअघि नै सुरू हुन थालेको होला । दर खाँदा लगाउने एकैखाले लुगा, गहना र मेकअप फेरि पुँजीवादी सोचसँग जोडिन्छ ।
आर्थिक अवस्था कमजोर भएकाहरूलाई त अहिलेको तडकभडकवाला तीज मनाउनै गाह्रो छ । मैले देखेको तीज वर्षौँदेखि नभेटिएका दिदीबहिनी भेटेर दुःख सुखका गीत गाएर, नाचेर मनाउनेवाला नै थियोे तर अहिले हुर्किंदै गर्दा तीजको बदलिँदो ट्रेन्ड देख्दा थोरै अचम्भित हुन्छु । यसबाट पनि कसरी पुँजीवादले हाम्रो समाजमा असर गरिरहेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
गरे सम्भव नहुने केही छैन । अहिले पनि ग्रामीण भेगमा हाम्रा आमा, दिदीबहिनीहरू तीजका लागि छुट्टै सारी या गहना किन्दैनन् । नाचगान र रमाइलो गर्छन् तर सहरी भेगमा तीज पर्वमा मात्रै हुने आर्थिक भार हाम्रा ग्रामीण भेगका आमाहरूलाई छैन । त्यही पनि रौनक फेरि उस्तै नै छ ।
मेरो विचारमा तीजका तीनवटा पक्ष छन् । खानपान, नाचगान र रमाइलो र व्रत र पञ्चमी पूजा । म व्रत र पञ्चमी पूजासँग सहमत छैन । तर तीजमा गाइने पुराना गीतहरू र आमाहरू धक खोलेर नाचेको हेर्न चाहिँ मन पर्छ । तर व्रत र पञ्चमी पूजाले चाहिँ पितृसत्तात्मक सोचलाई झन् बढावा दिन्छ भन्ने मलाई लाग्छ । जीवनसाथीको लामो उमेरको कामना जोकोहीलाई पनि हुन्छ ।
तर त्यसैका लागि निराहार व्रत बसेर खुट्टाकै पानी खाने कुरासँग चाहिँ सहमत हुन सकिन्न न त महिनावारीको पाप पखाल्न भन्दै गरिने पञ्चमी पूजासँग नै सहमत हुन सकिन्छ । तर तीजमा महिलाहरूले आफूसँग भएका अनेकौँ घटना र दुःख सुखहरूको कुरा साथीसंगी र दिदीबहिनीसँग सेयर गर्नेवाला पक्ष चाहिँ धेरै हिसाबले महत्वपूर्ण छ नै ।
प्रतिक्रिया दिनुहोस्