20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

योग र फिजियोथेरापीबीको भिन्नता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०  

विनय कँडेल
सन् २००७ मा फिजियोथेरापी स्नातकका लागि अध्ययनका लागि भारतको राजिव गान्धी युनिभर्सिटीमा भर्ना लिएपछि फेयरवेल पार्टीमा एक जना साथीले रामदेवको योग पढ्न जान लागेको हो ? उस्तै–उस्तै होइन र ? भनेर प्रश्न गर्दा मलाई निकै असजिलो महसुस भएको थियो । आज पनि पटक–पटक नयाँ साथीभाइ, इष्टमित्र वा छिमेकीलाई म फिजियोथेरापी उपचार गर्छु वा फिजियोथेरापिस्ट हुँ भन्दा यो त योग जस्तै हो भन्ने गर्छन् । कतिपय त बिरामी मैले फिजियोथेरापी गर्दा सिकाएका कसरत– ‘यो त योगा जस्तै छ । मैले गरिरहेको छु, टिभीमा बिहान–बिहान आउँछ । फलानो गुरुले सिकाउनुभएको’ भन्ने पनि सुनेको छु । यी र यस्तै प्रश्न तथा परिस्थितिले यो लेख्न प्रेरणा मिलेको पनि हो ।

विसं २०७२ सालदेखि माघ १ गते योग दिवस मनाइँदै आइएको छ । सो दिनको मौका पारी योग र फिजियोथेरापीबीचको समानता र भिन्नता प्रस्ट्याउने जमर्काे गरेको छु । अन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस भने हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइन्छ । समानता १. स्वास्थ्य सुधार ः योग र फिजियोथेरापी दुवैको उद्देश्य स्वास्थ्यमा सुधार गर्ने नै हो । योगले आत्मा, शरीर र मनको समन्वय बढाउँछ भने फिजियोथेरेपीले विशेषज्ञद्वारा निर्दिष्ट गरिएका रोग वा लक्षणसम्बन्धित निवारक, निदानात्मक, प्रवर्धनात्मक, उपचारात्मक र पुनस्र्थापना गर्दछ ।

२. श्वास प्रश्वास तथा ध्यान ः योग र फिजियोथेरापी दुवैले श्वासप्रश्वासको तनावमा सुधार गर्ने पद्धति उपयोग गर्दछन् । योगले विशेष असन, प्राणायाम र ध्यान गराउँछ । तर फिजियोथेरापीले विभिन्न व्यायाम र श्वास नली निकासका उपाय प्रदान गर्दछ । ३. कार्यक्षमतामा सुधार ः योग र फिजियोथेरापीले अवस्थितिको सुधार गर्ने लक्ष्य राखेका छन् । यी पद्धतिले शरीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित बनाएर रोगीलाई शक्तिशाली बनाउँछन् । दुवै पद्धतिले जीवनको गुणस्तरलाई स्तरीय बनाउन कार्यक्षमतामा उल्लेखनीय सुधार गर्न सहयोग गर्दछ ।

भिन्नता
१. चिकित्सकीय धारा ः योग एक परम्परागत चिकित्सा पद्धति हो । यो सनातन धार्मिक विधिका रूपमा जानिएको छ । तर फिजियोथेरापी एक आधुनिक चिकित्सा पद्धति हो । यो वैज्ञानिक अध्ययनमा आधारित छ । नेपाल सरकारले फिजियोथेरापीलाई एलोप्याथिक चिकित्सा प्रणालीअन्तर्गत राखी स्वास्थ्य सेवा नियमावली २०५५ मा छुट्टै समूह उल्लेख भए पनि योगको कुनै समूहमा उल्लेख्य नरहेको पाइन्छ । यद्यपि नेपाल स्वास्थ्य व्यवसायी परिषद्अन्तर्गत नेचुरल थेरापी विधामा योग प्रशिक्षकको दर्ता र नियमनको प्रावधान रहेको छ ।

२. क्षमता ः योगले आत्मा, मन र शरीरको समन्वय गर्दछ र ध्यानद्वारा शारीरिक र मानसिक सुधार गराउँछ । फिजियोथेरापिस्ट विशेषज्ञद्वारा निर्दिष्ट रोग वा चिकित्सकीय लक्षण कम गर्न, उपयुक्त व्यायाम, भौतिक उपकरण जस्तै ताप, राप, करेन्ट आदिको प्रयोगले निदान गरिन्छ ।

३. प्रकृतिक पद्धति र योगासन ः योगमा प्रकृतिक पद्धति र योगासनको शिक्षा पर्छ । तर फिजियोथेरापी चिकित्साले रोग वा चिकित्सकीय लक्षणमा आधारित व्यायाम गराउँछ । केही आसन परिवर्तनका महत्व, कामकाजमा अपनाउनुपर्ने आसन, कार्य सम्पादनको तरिका आदिसम्बन्धी सुझाव, सल्लाह दिने काम फिजियोथेरापीमा पर्छन् ।

४. प्रमाणमा आधारित ः फिजियोथेरापी प्रमाणमा आधारित अभ्यास हो । वैज्ञानिक रिसर्चले स्थापना गरेको साहित्यमा आधारित रही चिकित्सकको अनुभव र बिरामीको मूल्य मान्यतालाई उच्च सम्मान गर्दै फिजियोथेरापी पद्धतिहरू अपनाइन्छ । यस्तै परम्परागत र वैदिक अभ्यासको आधारमा योग गरिए पनि आधुनिक चिकित्सक प्रणाली जस्तै यसमा पनि उच्च गुणस्तरको रिसर्च भएको छ । त्यही रिसर्चका आधारमा अभ्यास हुन थालेको विज्ञहरू बताउँछन् ।

५. अन्य ः शल्यक्रिया र अपाङ्गता भएका व्यक्तिहरूको पुनस्र्थापनामा योगको सीमित प्रयोग भएको पाइन्छ । फिजियोथेरापी भने कुनै पनि शल्यक्रिया अझ हाडजोर्नी, नशा, मुटु, फोक्सोको शल्यक्रियापछि अपरिहार्य हुन्छ । अन्त्यमा योग र फिजियोथेरापी दुई विशेष प्रकारका चिकित्सा पद्धति हुन् । यसको उपयोगले व्यक्ति लाभान्वित हुन्छन् । योगले आत्मा र शरीरमा समन्वय बढाउँछ । तर फिजिओथेरेपीले विशेषज्ञतामा आधारित रोग वा लक्षणहरूमा सुधार गर्दछ । यी दुवै पद्धतिहरूले स्वास्थ्य र शारीरिक समस्यामा सुधार गर्दा विभिन्न लाभ प्रदान गर्दछन् । व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन आउँछ । साभार ः रातोपाटी

                                (कँडेल वीर अस्पताल फिजियोथेरापी युनिटका प्रमुख तथा नेपाल फिजियोथेरापी संघका महासचिव हुन् ।)

 

प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०     9:52:37 AM  |