दूधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन



दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगन्ज दुग्ध वितरण आयोजनालाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुखसहित कर्मचारीहरूसँग भएको छलफलमा उनले ६/७ महिनादेखि दूधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिएका हुन् ।

‘तपाईहरूसँग छलफल गर्न चाहन्थेँ । किसानले दूधको भुक्तानी नपाउँदा समस्या परेको छ । मसम्म पनि किसानको कुरा आइपुगेको छ । दूधको भुक्तानी रोकिँदा चौतर्फी असर परेको छ । छिटो भुक्तानी गर्नुहोस्,’ उनले भने, ‘किसानको भुक्तानी रोकेर राख्न हुँदैन । म संघीय सरकारसँग पनि यसबारेमा पहल गर्छु ।’

गत पुस महिनाबाट किसानले दूधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दूधको भुक्तानीका लागि अर्थ मन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

लुम्बिनी प्रदेशको ग्रामीण अर्थतन्त्रको बलियो आधारका लागि दुग्ध व्यवसायलाई प्रवद्र्धन गर्नेगरी प्रदेश सरकारले समेत योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले गरेका थिए । नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलीप चौधरी दूधमा आत्मनिर्भताका लागि नेपालगन्ज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरेका छन् ।

यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् । दुध उत्पादन बढ्दै गए पनि बजारीकरणको समस्या किसानले भोग्नुपरेको छ । असोज महिनादेखि चैतसम्म दैनिक ८ हजार लिटर दूध संकलन हुने गरेको छ । असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत महिनामा दूध उत्पादन बढे पनि बजारीकरण गर्न समस्या हँुदा मिल्क होलिडेको मारमा किसान छन् । तर, वैशाखदेखि भदौ महिनासम्म दूध संकलन भने ह्वात्तै घट्ने हुँदा दूधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ ।

वैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक २ हजार लिटर मात्रै दूध संकलन हँुदा बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भुरिगाउँ चिस्यान केन्द्रबाट दूध संकलन हुँदै आएको छ । यस्तै, सुर्खेतको छिन्चु दूध चिस्यान केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दूध संकलन हुँदै आएको हो ।

१ सय ११ सहकारी संस्थाबाट हजारौँ किसानले दूध बिक्री–वितरण गर्दै आएका छन् । उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दूध प्रशोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दूध संकलन हुँदै आएको आयोजना कार्यालयले जनाएको छ । दूधको सहज बजारीकरणका लागि पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २०८१ भदौ १४ गते शुक्रबार