लुम्बिनी प्रदेश सरकारले पूरक बजेट नल्याउने



दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारेका छन् ।

चालु आर्थिक वर्षका लागी स्वीकृत वार्षिक कार्यक्रमहरूको पूर्ण कार्यान्वयनका लागि सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको जानकारी दिँदै छुटेका योजनाहरूलाई अर्काे आर्थिक वर्षमा समेट्न सकिने बताएका थिए ।

बर्दियाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मीलगायत सरोकारवालाहरूसँग राप्ती उपत्यका देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले योजना माग गर्दा प्रक्रियागत रूपमा आउन पनि आग्रह गरे । अघिल्लो सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले आचार्यले बजेट बनाएका थिए ।

‘तपाईंहरू स्पष्ट हुनुहोस्, सरकारले पुरक बजेट ल्याउँदैन । छुटेका योजनाहरूलाई अर्काे वर्ष समेट्नेगरी तयारी थाल्छौँ,’ उनले भने, ‘योजना माग गर्ने प्रक्रिया हुन्छन् । ती प्रक्रिया पूरा गरेर आएका योजनाहरूलाई समेट्छौं ।’

उनले योजना माग्न मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरूमा आउनु नपर्ने, जिल्ला तहका विषयगत कार्यालयहरूमार्फत योजनाहरू अघि बढाउन आग्रह गरेका थिए । अघिल्ला सरकारले थालेका तर, पूरा हुन नसकेका योजनाहरूलाई वर्तमान सरकारले सम्बोधन गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार