कोहलपुर र अस्ट्रेलियाको मेरिबिकीबीच भगिनी सम्बन्ध विस्तारका लागि छलफल



कोहलपुरले अस्ट्रेलियाको मेरिबिकी काउन्सिलबीच भगिनी सम्बन्धका लागि छलफल थालेको छ । नगर सभाले यसअघि नै त्यसका लागि निर्णयसमेत गरिसकेको छ । धेरै नेपालीहरूको बसोबास रहेको मेरिबिकी काउन्सिलका मेयरले समेत नेपालका केही नगरसँग भगिनी सम्बन्ध कायम गर्ने सार्वजनिक रूपमै बताइसकेका छन् । त्यसका लागि मेरिबिकीको एउटा टोली कोहलपुर आइपुगेको छ ।

बाँके ।

कोहलपुर नगरपालिकाले अस्ट्रेलियाको मेरिबिकी काउन्सिल (नगरपालिका)सँग भगिनी सम्बन्ध स्थापना गर्नका लागि छलफल थालेको छ । सोही क्रममा शुक्रबार नगरपालिका र अस्ट्रेलियाको मेरिबिकीका सामाजिक अभियन्ताबीच प्रारम्भिक छलफलसमेत भएको हो । त्यसका लागि मेरिबिकीका सामाजिक अभियन्ता तथा उद्यमी हम्जा वारियोको नेतृत्वमा बिहीबार नै तीन सदस्यीय टोली कोहलपुर आएको हो ।

उक्त टोलीले कोहलपुरका जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवालगायतसँग अस्ट्रेलियाको मेरिबिकी काउन्सिलसँग भगिनी सम्बन्ध विस्तारका लागि छलफल गरेको नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले जानकारी दिए ।

अस्ट्रेलियाको ठूलो सहरका रूपमा चिनिने मेलबर्न सिटीमा रहेका ३१ वटा नगरपालिकामध्ये मेरिबिकी काउन्सिल एउटा हो । सामाजिक अभियन्ता तथा उद्यमी वारियोले आफूहरूले भगिनी सम्बन्ध विस्तारका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका थिए ।

‘मलाई कोहलपुर एकदमै सुन्दर लाग्यो । कतिपय ठाउँमा म घुमिसकेँ,’ उनले भने, ‘यस्तो सुन्दर सहरसँग सम्बन्ध जोड्नका लागि म समन्वयकारी भूमिका निर्वाह गर्छु ।’ उनले यहाँको स्थानीय कला संस्कृति, शिक्षाको विकासलगायतका सवालमा सहयोग आदानप्रदान गर्न सकिने सम्भावना औँल्याएका थिए ।

छलफलमा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले अस्ट्रेलियाबाट आएको टिमसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । ‘सम्भावना बोकेका सहरहरूबीचका स्थानीय सरकारबीच समन्वय र सहकार्य सम्भव रहेको छ,’ उनले भने, ‘दुई देशबीचको भगिनी सम्बन्ध विस्तारका लागि प्रयास भएकोमा हामी उत्साहित छौँ ।’

भगिनी सम्बन्ध विस्तारको प्रारम्भिक चरण सुरु भएको उल्लेख गर्दै नगर प्रमुख आचार्यले कोहलपुरका लागि यो नयाँ भएको बताए । उनले कोहलपुरले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यापर्यटन र कलासंस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे ।

‘छिमेकी मुलुक तथा अन्य देशहरूसँग भगिनी सम्बन्धलाई अगाडि बढाएर कोहलपुरको विकास र समृद्धिमा केही न केही नयाँपन दिनसक्यौँ भने कोहलपुरका लागि सुखद रहनेछ,’ नगर प्रमुख आचार्यले अगाडि भने । नगर उपप्रमुख संगीता सुबेदीले युवाहरूको सपनाको सहरसँग भगिनी सम्बन्ध विस्तारका लागि छलफल भइरहँदा आफूहरूलाई खुसी लागेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कोहलपुर नगर सभाले मेरिबिकी काउन्सिलसँग भगिनी सम्बन्ध कायम गर्ने भनेर निर्णयसमेत गरिसकेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको समन्वयमा नेपाल सरकारको पूर्ण स्वीकृति लिई अन्तर्राष्ट्रिय संस्थासँग भगिनी सम्बन्ध राख्नका लागि नगरपालिकालाई कानुनले अधिकार दिएको उनले बताए ।

भगिनी सम्बन्धसँगै दुबै देशका पालिकाहरूको उद्योग व्यवसाय, पर्यटन, पूर्वाधार, शिक्षा र संस्कृतिको क्षेत्रमा आपसी सहयोग आदानप्रदान हुनेमा ढकालले विश्वास लिए । ‘भगिनी सम्बन्ध भएपछि यहाँको समृद्धि र विकासका लागि अस्ट्रेलियाले लगानी गरेर योगदान पु¥याउन सक्छ,’ उनले भने, ‘अस्ट्रेलिया पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा धेरै अगाडि बढिसकेको छ ।

त्यहाँका नवीनतम् प्रविधिहरू प्रयोग गरेर नवप्रवद्र्धनलाई उजागर गर्दै कोहलपुरलाई विकासको अग्रगतिमा लानका लागि समेत भगिनी सम्बन्धले सहयोग पु¥याउनेछ ।’ मेरिबिकी काउन्सिलका अन्तर्राष्ट्रिय सम्पर्क अधिकृत तथा सामाजिक अभियन्ता दान घिसिङले मेरिबिकीका मेयरले नेपालका केही नगरसँग भगिनी सम्बन्ध बनाउने घोषणा गरिसकेको बताए ।

नेपालीको धेरै जनसङ्ख्या रहेको मेरिबिकीका मेयरले सार्वजनिक रूपमा नेपालमा भगिनी सम्बन्ध कायम गर्ने उद्घोष गरेकाले प्रयास थालिएको उनको भनाइ रहेको थियो । ‘सम्बन्ध बनाउन कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । दुबै देशको व्यवस्थासमेत करिब–करिब उस्तै रहेकाले सहज होला,’ घिसिङले भने, ‘दुबैतिरका नगरपालिकाबीच छिट्टै नै भेटघाटको तालिका बनाउँछौँ ।’

सामान्य मोडालिटीका विषयमा समेत मेरिबिकीका मेयरले स्वीकृति दिइसकेको उनले जानकारी दिए । उनका अनुसार त्यसका लागि अहिलेलाई शिक्षा, स्वास्थ्य र बाणिज्य विषयमा कसरी जोड्न सकिन्छ भनेर प्राथमिकतामा राखेर छलफल र बहस भइरहेको छ ।

अस्ट्रेलियालाई नेपालसँग जोड्ने अभियानमा आफूहरू जुटेको घिसिङले बताए । कोहलपुर र मेरिबिकीको भौगोलिक अवस्थालगायतमा समानता रहेकाले सम्बन्ध कायमको सम्भावना आफूहरूले देखेको उनले बताए ।

छलफल कार्यक्रममा नगरका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न समितिका संयोजकहरू, विभिन्न शाखा प्रमुख, कोहलपुर उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, घरेलु महासंघ कोहलपुर, कोहलपुर कृषि बजार, बाल क्लब, किशोरी क्लब, युवा सञ्जालका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार