कोहलपुर ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बाँके र बर्दियाका दजनौँ घरपरिवार प्रभावित भएका छन् । वर्षाका कारण खोला र नदीमा आएको बाढीले कैयौँ घरमा क्षति पुगेको छ भने दर्जनौँ परिवार विस्थापित भएका छन् । राप्ती नदीमा आएको बाढीले शनिबार बाँकेका नदी तटीय क्षेत्रका कैयौँ घरमा डुबान भएको थियो भने दर्जनौँ घरपरिवारका बासिन्दा विस्थापित भएका थिए ।
तर आइतबार भने डुबानकोे त्यस्तो समस्या नदेखिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । बाढीका कारण शनिबार सुरक्षित स्थानमा सारिएका व्यक्तिहरू पनि नदीमा पानीको बहाव घटेपछि आइतबार घर फर्किएको उनले बताए ।
‘बाढीका कारण आइतबार बाँकेमा कतै कुनै क्षति भएको खबर छैन,’ अधिकृत ज्ञवालीले भने, ‘शनिबार सुरक्षित स्थानमा सारिएका १ सय ५० जना पनि आ–आफ्नो घर फर्किसकेका छन् ।’ बाढीबाट अहिलेसम्म भएको क्षतिबारे वडा कार्यालयहरूले तथ्यांक संकलन गरिरहेकाले त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।
‘अहिलेसम्म मानवीय र अन्य कुनै ठूलो क्षति भएको छैन,’ उनले भने, ‘शनिबारको बाढीले बाँकेमा ३ दर्जन जति घरमा सामान्य क्षति पुगेको छ ।’ उनले बाँकेका राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाको नदीतटीय क्षेत्रका घर डुबानमा परेको बताए । भारी वर्षाका कारण बाँकेका नेपालगन्ज, कोहलपुरलगायतका सहरी क्षेत्रमा डुबानको समस्या देखिएको छ ।
त्यसैगरी, शनिबार आएको बाढीले बर्दियामा पनि केही घरहरूमा क्षति पु¥याएको छ । गेरुवा नदीमा आएको बाढीले बर्दियाको गेरुवा गाउँपालिकाका ४÷५ घरमा क्षति पु¥याएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले जानकारी दिए ।
सहायक प्रजिअ कठायतका अनुसार भादा नदीमा आएको बाढीले गुलरिया नगरपालिकाको पशुहाट क्षेत्रका केही घरमा क्षति पुगेको छ । त्यस्तै, कर्णाली नदीमा आएको बाढीले सत्तीघाटमा केही घरहरूमा सामान्य क्षति पुगेको उनले जानकारी दिए ।
‘अहिलेसम्म खासै ठूलो क्षति र समस्या त देखिएकोे छैन,’ सहायक प्रजिअ कठायतले भने, ‘तर नदीहरूमा पानीको बहाव घटबढ भइरहेकाले उच्च सतर्कता अपनाउन भने जरुरी छ ।’ उनले कर्णाली, बबई, भादालगायतका नदीमा पानीको बहाव बढिरहेकाले सतर्कता अपनाउन नदी आसपास क्षेत्रका बासिन्दालाई आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले शनिबार एक सूचना जारी गरी बाढीको समयमा नदी खोला किनारमा नजान, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन, नदीमा काठदाउरा छोप्ने तथा माछा मार्नेजस्ता कार्य नगर्न र घरका महत्वपूर्ण बस्तु नगद, गरगहना र जिन्सी सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको छ ।
त्यस्तै, अत्यावश्यक खाद्यान्न सुरक्षित स्थानमा राख्न र ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरी महिलाहरुको विशेष ख्याल गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुुरोध गरेको छ । लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि शुक्रबारदेखि सुरु भएको वर्षा आइतबार दिउँसोसम्म पनि निरन्तर भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्