आजदेखि कोहलपुरमा ‘ए’ डिभिजन लिग फुटबल हुँदै



नेपालगन्ज ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा आज शनिबारदेखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
कोहलपुरस्थित १३ बिघा फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगन्जको धम्बोझी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

असारको १३ गतेसम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आबद्ध ९ क्लबको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब रहेका छन् ।

यसैगरी, समूह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समूह ‘ए’ र समूह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

दुइ साताअघि बाँके जिल्ला फुटबल संघले कोहलपुरमै जिल्ला स्तरीय (बि डिभिजन) नकआउट फुटबल प्रतियोगिता गरेको थियो । आजबाट हुने जिल्ला लिग फुटबलले बाँके जिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

लिग कम नकआउटका आधारमा सेमिफाइनल हुँदै फाइनलमा जित हासिल गर्ने टोली जिल्लाको लिग च्याम्पियन बन्नेछ । नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्र्याक निर्माण कार्य चलिरहेकाले कोहलपुरमा प्रतियोगिता आयोजना गर्नु परेको आयोजकले जनाएको छ ।

सुरुआतमा नेपालगन्जमा आयोजना गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा आएर कोहलपुरमा प्रतियोगिता गर्नुपरेको अध्यक्ष शाहीले जानकारी दिए ।

आज शनिबार बेलुका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असार २ गते शनिबार