19 June 2024  |   बुधबार, असार ६, २०८१

हामीसँग पनि राम्रा–राम्रा बिउ छन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०८०  

हामीले जति पनि लगानी गरेका छौँ उहाँहरू सबै किसान नै हो । मैले यहाँका सञ्चारकर्मी मित्रहरूलाई पनि सूची दिएको छु । तपाईंहरू आकस्मिक रूपमा जुन फर्ममा गएर पनि हेर्न सक्नुहुन्छ । हामीले गरेको काममा हामी एकदमै स्पष्ट र पारदर्शी छौँ । हामीले किसानलाई नै लगानी गरेका छौँ । तर समस्या कहाँनिर हुन्छ भने हामीकहाँ हजारौँको निवेदन पर्छ तर त्यसबाट हामीले सय जना मात्र छान्नुपर्ने हुन्छ । बाँकी नौ सय जना त हाम्रो कार्यक्रमभित्र समेटिन सक्नुहुन्न ।


० यहाँको कार्यालयले अहिले कृषि तथा पशुपालनसम्बन्धी के कस्ता कार्यक्रम अगाडि सोरेको छ ?

हाम्रो कार्यालयको नामबाटै पनि धेरै कुरा बुझ्न सकिन्छ कि यो कार्यालयले कृषि र पशुपन्छीसम्बन्धी कार्यक्रम अगाडि बढाउने हो । कृषि क्षेत्रमा हामीले साना सिँचाइ, स्मार्ट कृषि गाउँ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । हामीले बिउबिजन पूर्वाधारका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । त्यस्तै, पशुपन्छीको कुरा गर्दा हामीले एउटा त पूर्वाधार विकासलाई जोड दिएका छौँ । अर्को पशुजन्य उत्पादन र भण्डारणका लागि गोदाम निर्माण गर्ने कार्यक्रम छ । त्यस्तै पशुपन्छीमा भ्याक्सिनेसनका कार्यक्रम छन् । भरखरै मात्र पनि करिब ४५ हजार भ्याक्सिन हामीले लगाइसकेका छौँ । त्यस्तै लम्पीस्किनको भ्याक्सिन लगाउने, पशुपन्छी उपचारका शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रम चलिरहेका छन् । किसानको मागअनुसार घरगोठमै गएर हामीले सेवा दिइरहेका छौँ ।

० तपाईंहरूले यस्ता कार्यक्रम चलाइरहँदा अहिले दुग्ध उत्पादक किसान भने सडकमा आन्दोलन गर्दै आइरहेका छन् । यो विषयमा यहाँ के भन्नुहुन्छ ?

विगतदेखि नै यस जिल्लामा हामीले पशुपन्छीका क्षेत्रमा जुन लगनशील र दत्तचित्त भएर काम ग¥यौँ त्यसैको परिणामस्वरूप जिल्लालाई पुग्ने दूध उत्पादन गरेर हामीले बाहिर पनि पठाउन सफल भएका छौँ । अहिले पनि दैनिक बर्दियाबाट करिब १५ हजार लिटर दूध बाहिर निर्यात भइरहेको छ । धेरै किसान यसमा आबद्ध हुन चाहनुभएको छ । यो जिल्लामा दूध उत्पादन राम्रोसँग भइरहेको छ । तर अहिलेको सन्दर्भमा बजार पाउन अलि गाह्रो देखिएको छ । चुनौती सिर्जना भएको छ ।

० भारतबाट आउने दूधले गर्दा यहाँको दूध खपत भएन भन्ने पनि किसानको गुनासो रहने गरेको छ नि ! त्यो नियन्त्रणको प्रयास किन हुँदैन ?

विगतमा दूध बिक्रीको अवस्था राम्रो थियो । तर केही समयदेखि खास गरी यो आर्थिक वर्ष लागेदेखि अलिकति समस्या चाहिँ देखिएको छ । समयमा किसानले भुक्तानी पाउन नसकेको समस्या पनि छ । पर्याप्त मात्रामा दूध बिक्री भएन भन्ने समस्या पनि छ । यहाँले भनेजस्तै खुला सिमानाका कारणबाट भारततिरबाट दूध छि¥यो भन्ने पनि किसानको गुनासो आएको छ । अब खुला सिमानाका कारण दूध बाहिरबाट आएकै छैन भन्न पनि नसकिएला । हाम्रो देशमा पर्याप्त उत्पादन हुँदाहुँदै बाहिरबाट दूध भित्रिनु पक्कै पनि राम्रो होइन । यसको रोकथामका लागि पहल होला भन्ने मैले आशा राखेको छु । हाम्रो कार्यालयले उत्पादनमा मात्र सेवा दिने तर निगरानीमा हाम्रो भूमिका कम हुने हुँदा सम्बन्धित निकायबाट त्यस्तो पहल होला भन्ने आशा लिन सकिन्छ ।

० कतिपय ठाउँमा पशुपालक किसानहरूले स्थानीय प्रशासनलाई दूधको अवैध आयात रोक्न माग गर्दै ध्यानाकर्षण पनि गराएका छन् ।बर्दियामा त्यस्तो अवस्था छ कि छैन, तपाईंलाई यस्तो केही जानकारी छ ?

जिल्ला प्रशासन कार्यालयमा किसानहरूले ध्यानाकर्षण गराउनुभएको छ । हामीलाई पनि मौखिक रूपमा त्यसको जानकारी आएको छ । साँच्चिकै यो समस्या किसानहरूले भनेझैँ हो भने यसमा राज्यले समाधानका लागि पहल गर्नुपर्छ । बजारीकरणका लागि खासगरी हामीले अन्य विकल्पको पनि खोजी गर्नुपर्छ । लागत मूल्य घटाएर अब विदेश निर्यात गर्नेतिर पनि हामीले सोच्नुपर्छ । अहिलेसम्म हामीले आन्तरिक बजारलाई मात्र हे¥यौँ । ताजा दूध खपतलाई बढी जोड दियौँ । अबका दिनमा दूध प्रशोधन गरेर, निर्यात गरेर पनि बजारमा पहुँच पु¥याउनेतर्फ पनि जोड दिनुपर्छ भन्ने लाग्छ ।

० खोरेत रोग नेपालबाट उन्मूलन भयो भनिन्छ, तर अझै पनि नेपालमा खोरेत भेटिएको छ । बर्दियामा के छ अवस्था ?

बर्दियामा खोरेत देखिएको छैन । केही पहाडी जिल्लामा यो देखिएको थियो । तर त्यो पनि खोरेत नै हो भन्न सकिने अवस्था छैन । हामीले खोरेतविरुद्ध धेरै भ्याक्सिन लगाएका छौँ । तथापि सीमाबाहिरबाट पनि पशुहरू नेपाल भित्रिने भएका कारण यदाकदा यो देखिने गरेको छ । पूर्णरूपमा निर्मूल भएको छैन । यो रोग निर्मूल नभएसम्म नेपालबाट पशु चौपायाको मासु विदेश निर्यात गर्र्न सकिँदैन । त्यसकारण नेपालमा किसानको हितका लागि पनि खोरेत रोग निर्मूल हुनु अति आवश्यक छ ।

० नेपालमा नीतिगत अप्ठेरोका कारण पनि कृषि तथा पशुपन्छीजन्य उत्पादन निर्यात गर्न नसकिएको भन्ने पनि सुनिन्छ नि ?

अब यही मात्रै कारण त होइन । यसका धेरै कारण छन् । तर यो पनि एउटा कारण चाहिँ हो । खोरेत रोग देखिएको छ भने अरू देशले लान मान्दैनन् । त्यसबाट अरू पशुपन्छीमा पनि रोग फैलिन सक्ने अवस्था हुन्छ । विदेश निर्यात हुन नसक्ने कुरामा यसको मूल्य, गुणस्तर आदि जोडिएका छन् । त्यतिमात्र होइन राम्रो वैदेशिक सम्बन्ध पनि विस्तार हुनुप¥यो । हामीकहाँ अहिले राम्रो गुणस्तरको अलैँची उत्पादन हुँदै आएको छ । तर अहिले पनि त्यो डाइरेक्ट तेस्रो मुलुकमा जान सकेको छैन ।

० हामी त कृषि प्रधान देश, पहिला हामी कृषिजन्य उत्पादन विदेश निर्यात गथ्र्यौं । बर्दियाबाट पनि कति कृषि उत्पादन बाहिर जान्थ्योे । तर अहिले प्रायः सबैजसो कृषिजन्य बस्तु आयात नगरी हामीलाई पुग्दैन । यस्तो किन ?

बर्दिया जिल्लाबाट अहिले पनि कृषिजन्य उत्पादन धान, गहुँ, मकै, गेडागुडी र तरकारीसमेत निर्यात हुन्छ । दूध पनि दैनिक कम्तिमा पनि १० देखि १५ हजार लिटर बाहिरी जिल्लामा गइरहेको छ । खसीबोका यहाँबाट बाहिर जान्छन् । बर्दियाको हकमा भन्ने हो भने उत्पादन बढ्दो छ । मध्यवर्ती क्षेत्रमा केही चुनौती सिर्जना भए पनि समग्रमा हाम्रो जिल्लामा सिँचाइको व्यवस्था राम्रो हुँदै गएको, प्राविधिक सेवा बढ्दै गएको आदि कारणले उत्पादन वृद्धि भइरहेको छ ।

० कृृषि क्षेत्रमा लागेका किसानको गुनासो के हुन्छ भने, २–३ कठ्ठा जमिन भएका किसानलाई सरकारले हेर्दैन । बिघौँबिघा भएका वा सामन्त जमिन्दारहरूलाई मात्र हेर्छ अथवा झोले किसानलाई मात्र हेर्छ । के यस्तै हो त ?

हामीले जति पनि लगानी गरेका छौँ उहाँहरू सबै किसान नै हो । मैले यहाँका सञ्चारकर्मी मित्रहरूलाई पनि सूची दिएको छु । तपाईंहरू जहाँ गएर पनि हेर्न सक्नुहुन्छ, जुन फर्ममा आकस्मिक रूपमा गएर पनि हेर्न सक्नुहुन्छ । हामीले गरेको काममा हामी एकदमै स्पष्ट र पारदर्शी छौँ । हामीले किसानलाई नै लगानी गरेका छौँ । तर समस्या कहाँनिर हुन्छ भने हामीकहाँ हजारौँको निवेदन पर्छ तर त्यसबाट हामीले सय जना मात्र छान्नुपर्ने हुन्छ । बाँकी नौ सय जना त हाम्रो कार्यक्रमभित्र समेटिन सक्नुहुन्न । यसै कारण पनि यस्तो आवाज आउने गरेको हुनसक्छ । साना किसानका लागि केही लक्षित कार्यक्रम हामीले गरिरहेका छौँ । साना किसानका लागि स्थानीय तहलाई पनि अधिकार छ । उहाँहरूसँग पनि प्रशस्त बजेट छ । उहाँहरूले पनि गरिरहनुभएको छ । साना किसानका लागि बिउबिजन वितरण, च्याउका कार्यक्रम, मौरीका कार्यक्रम बेलाबेला हामीले गरिरहेका पनि हुन्छौँ ।

० सहकारीसँग जोडिएर पनि कृषिका कार्यक्रमहरू अगाडि बढिरहेका हुन्छन् । बर्दियामा सहकारीसँग जोडिएर कस्ता कार्यक्रम अघि सार्नुभएको छ ?

हामीले सहकारी मोडेलबाटै काम गर्ने सोचाइ बनाएका छौँ । यस वर्ष हामीले सहकारीमार्फत कृषि प्रसार कार्यक्रम भनेर दुईवटा नमुना कार्यक्रम पनि गर्न खोज्दै छौँ । यो हाम्रो पहिलो अनुभव हुनेछ । त्यसपछि हामीले सहकारी संस्थालाई नै लक्षित गरेर बिउबिजन भण्डार, पशुजन्य उत्पादन भण्डार कार्यक्रम राखेका छौँ । यसरी सहकारीलाई नै जोड दिएर पनि हामीले कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ । सहकारीमा साना–ठूला धेरै किसान आबद्ध छन् । त्यसैले पनि सहकारीमार्फत जान सकियो भने त्यसबाट धेरै किसान लाभान्वित हुनसक्ने अवस्था हुन्छ ।

० नेपालमा पाइने जति पनि बिउबिजन छन् ती भारतबाट आउने गरेको र त्यसको गुणस्तरीयता नहुने गरेको भन्ने किसानको गुनासो रहन्छ नि ?

हाम्रो अनुसन्धान केन्द्रले जति पनि उन्नत जातको बिउ विकास गरेको छ ती किसानसम्म पु¥याउने प्रयास हामीले गरेका छौँ । ती धेरै राम्रा छन् । एक कठ्ठामा दुई क्वीन्टलसम्म फल्ने मसिनो धानका हाम्रै स्वदेशी जात छन् । त्यसैगरी हामीले यसै वर्ष गहुँको बिउ निकालेका छौँ । भारतबाट गहुँको बिउ ल्याएर प्रयोग गर्ने किसानले हाम्रै गहुँको बिउ प्रयोग गरेपछि गहुँ राम्रो भएको छ भनेर भन्नुभएको छ । हामीले किसानलाई स्वदेशी बिउ नै प्रयोग गर्न उत्प्रेरित गरिरहेका छौँ । राम्रा बिउ हामीसँग पनि छन् ।

० हामीकहाँ रैथाने बिउ कत्तिको उपलब्ध छ ?

हामीसँग आलुको रैथाने जात छ । यसको प्रवद्र्धन पनि भइरहेको छ । यसलाई स्थानीय थारू आलु भनिन्छ । त्यसलाई प्रवद्र्धन गर्न यसै साता हामीले स्थानीय किसान र बाँके र बर्दियाका व्यवसायीलाई जोडेर एउटा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै छौँ । यसमा यहाँको स्थानीय मकै, स्थानीय अनदी धान, स्थानीय मसुरोलगायतका स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास हाम्रो हुनेछ ।

० अहिले विद्यालयहरूमा बालबालिकालाई दिवा खाजा खुवाइन्छ । त्यसका लागि चाहिने भटमास, बदाम, जौलगायतका बस्तु जति पनि खपत गर्न सकिने त्यसका सप्लायरहरूको भनाइ रहन्छ । उनीहरू यस्तो उत्पादन नेपालमै हुने हो भने हामी जति पनि खरिद गर्छौं भन्छन् । यस्ता खाद्यान्न उत्पादनमा जोड दिन सकिँदैन ?

हामीले ठ्याक्कै दिवा खाजासँग जोडिएरै कस्तो योजना बनाउने भनेर सोचिएको अवस्था छैन । यस विषयमा सामान्य छलफल भए पनि गहन छलफल हुन बाँकी नै छ । बर्दियामा भटमासलगायतका उत्पादनको सम्भावनाका विषयमा हामीले त्यति जोड दिएका छैनौँ । पहाडतिर हो भने ठीकै हो । तर तराईमा त्यो त्यति उपयुक्त देखिँदैन । किनभने भटमास र धानको उत्पादन हुने समय एउटै हो । त्यसैले भटमास उत्पादनमा जोड दिँदा धान उत्पादनमा प्रभाव पर्छ । हाम्रो प्रमुख खाद्य बाली भनेको धान हो । देशका लागि भटमासभन्दा धान उत्पादनको महत्व बढी छ । त्यस्तै जौको पनि त्यति धेरै माग नेपाली बजारमा छैन ।

० बर्दिया जिल्लालाई अहिले माछाको हब पनि भनिन्छ । माछा किन्न कहाँ जाने भन्यो भने बर्दिया भनिन्छ । के साँच्चै बर्दिया माछाको हब बनिसकेको अवस्था हो ?

बन्दै छ । अझै बन्नेक्रम जारी छ । यहाँ अझै प्राकृतिक तालहरू छन् । नयाँ पोखरी निर्माणका कार्यक्रम पनि भइरहेका छन् । यस जिल्लामा अहिले माछा जोन पनि सुरु भएको छ । जिल्लामा अहिले माछासँग सम्बन्धित धेरै कार्यक्रम चलिरहेका छन् । माछामा पहिचान पनि बर्दियाले बनाइरहेको छ ।

० कतिपय किसानले माछाको भुरा नेपालमा नपाइने र भारतबाट ल्याउँदा समात्ने गरेको गुनासो पनि गर्छन् । अर्कोतिर माछाको आहार पनि गुणस्तरीय भएन भनेर भनिन्छ नि ?

माछाका भुरामा हामीले धेरै अघिदेखि लगानी गर्दै आएका हौँ । धेरै ह्याचरीहरूमा राज्यले लगानी गरेको छ । त्यहाँबाट भुरा उत्पादन पनि राम्रै भइरहेको छ । कतिपय किसानले निरन्तरता दिन नसकेको पनि हामीले देखेका छौँ । अब अवैध आयातलाई त हामीले रोक्नुपर्ने नै हुन्छ । आहाराको जहाँसम्म कुरा छ यसलाई हामीले घरायसी आहारा बनाउन सकिने कुरालाई पनि किसानलाई जानकारी दिन्छौँ । अहिले आयातित दानाको पनि प्रयोग छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०८०     9:56:49 AM  |