अपांगता भएका व्यक्तिको खेललाई खेल नै मानिँदैन



क्रिकेटको अन्तर्राष्ट्रिय नियम अनुसार ८० प्रतिशत हाम्रो नियम मिल्छ । २० प्रतिशत चाहिँ मिल्दैन । उनीहरूले बल उडाएर फाल्छन््, हामी गुडाएर फाल्छौँ । उनीहरू ब्याट ठाडो पार्छन्, हामी सुताउँछौँ । हाम्रो बी–१ ले हानेको रन डबल हुन्छ, उनीहरूको कुनै पनि रन डबल हुँदैन । हाम्रो बाउन्ड्री ४५ देखि ५० यार्डको हुन्छ, उनीहरूको ५० देखि ७० यार्डको हुन्छ । हाम्रो चाहिँ ध्वनिबाट संकेत गर्नुपर्छ ।


० भर्खरै तपाईंहरूले कोहलपुरमा नेत्रहीनहरूको क्रिकेट प्रतियोगिता सम्पन्न गर्नुभएको छ । कस्तो रह्यो समग्र प्रतियोगिता ?

अत्यन्तै सफलतापूर्वक हामीले प्रतियोगिता सम्पन्न गरेका छौँ । प्रतियोगिता अवधिमा यहाँको स्थानीय सरकार, सञ्चारमाध्यमलगायत सर्वसाधारणको सहयोग पायौँ । यसमा हामी अत्यन्तै खुसी छौँ । सहभागी टिमहरूले पनि राम्रो खेले । जित हार त अब बेग्लै कुरा हो । समग्रमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । यसबाट हामी उत्साहित भएका छौँ ।

० टिम छनोट गर्दा तपाईंहरूले के–के मापदण्ड बनाउनुहुन्छ ?

यसमा पनि अन्य खेलाडी जस्तै फिजिकल स्ट्रेन्थ हुन्छ । ब्याटिङ–बलिङ स्किल हुन्छ । कमाण्ड हुन्छ । अनुशासन हुन्छ । एउटै डाइमेन्सन हेरेर सेलेक्ट गर्न मिल्दैन । तर बी–१, बी–२ र बी–३ तीनवटै क्याटगोरीबाट अनिवार्य समूहमा छनोट गर्नुपर्छ । बी–१ बाट एउटा समूहमा अनिवार्य ४ जना खेलाडी हुनैपर्छ ।

० तपाईं आफैँ पनि क्रिकेट खेलाडी हो ?

हो, म पनि कुनै बेला खेल्थेँ । नेपालमा नेत्रहीन क्रिकेट सुरु गर्ने व्यक्ति नै मै हुँ । सन् २००६ बाट नेपालमा नेत्रहीन क्रिकेट प्रतियोगिता सुरु भएको हो । सन् २०१० सम्म म पनि सक्रिय भएर क्रिकेट खेलेँ । २०१० मा पाकिस्तानमा एउटा अन्तर्राष्ट्रिय खेल खेलेपछि उमेर अवस्थाका हिसाबले मैले खेल्न छोडिदिएँ ।

० नेत्रहीनहरूले कसरी क्रिकेट खेल्लान् भन्ने आम नागरिकमा उत्सुुकता रहने गरेको पाइन्छ । अन्य आममानिस जस्तै नेत्रहीनहरूले पनि क्रिकेट खेल्न सक्छन् भनेर कसरी महसुस गर्नुभयो ?

यो कुरा मलाई पनि थाहा थिएन । एक पटक पाकिस्तानबाट केही क्रिकेट प्रशिक्षक नेपाल आएका थिए । उनीहरूले ब्लाइन्डलाई क्रिकेट तालिम दिँदा रहेछन् । यही क्रममा म पनि त्यो प्रशिक्षणमा सहभागी भएँ । उनीहरू फर्किएपछि मैले पनि यहाँ संघ खोलेर सामाजिक सचेतनाका लागि यो आवश्यक छ भन्ने लागेर टिम बनाउन थालेँ । त्यसरी नै यो विकास हुँदै यहाँसम्म आइपुगेको छ ।

० प्रतियोगितामा सहभागी हुनेक्रममा कहाँ–कहाँ खेल्नुभयो ?

हामीले राष्ट्रिय रूपमा त विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै र त्यसमा सहभागिता जनाउँदै आएका छौँ । तर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि हामीले सहभागिता जनाएका छौँ । भारत, पाकिस्तान, दुबई जस्ता देशमा गएर अन्तर्राष्ट्रिय प्रतियोगितामा हामीले सहभागिता जनाइसकेका छौँ । ब्लाइन्ड क्रिकेटको कुरा गर्दा पुरुषभन्दा महिला टोली सशक्त देखिँदै आएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि महिलाहरूले राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालमा आयोजित दुईवटा अन्तर्राष्ट्रि प्रतिस्पर्धामा महिला टोलीले जित हासिल गरेको छ । भारत र पाकिस्तानमा भएका खेलमा पनि नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले जित हात पारेको छ । हाम्रो महिला टोली अन्तर्राष्ट्रिय स्तरमा पनि अगाडि नै छ तर पुरुषहरूमा चाहिँ त्यति छैन । साधन स्रोतको अभावमा पनि पुरुष टोलीले राम्रो गर्न सकिरहेको छैन ।

० नेत्रहीन क्रिकेट प्रतियोगिताहरूलाई राज्यले कुन रूपमा हेरेको छ । सहयोग कत्तिको पाइरहनुभएको छ ?

पहिला राज्यले पनि हामीलाई धेरथोर सहयोग गरेको थियोे । तर केही वर्षदेखि सहयोग हुन सकिरहेको छैन ।

० कानुनी रूपमा तपाईंहरूको खेलले मान्यता पाउँछ ?

किन नपाउनु ! हामीले अन्तर्राष्ट्रिय खेलसमेत खेल्दै आएका छौँ । कानुनी मान्यता नभई कसरी अन्तर्राष्ट्रिय खेल खेल्न सकिन्छ र ! खेलकुद परिषद्ले बजेट नै छुट्याउँछ । क्यानसँग पनि हामी आबद्ध छौँ । दुई वर्षअघिसम्म खेलकुद् परिषद्ले आयोजना गरेको खेलमा हामी सहभागीसमेत हुन्थ्यौँ । सन् २०१९ मा पाकिस्तानमा नेत्रहीन महिलाहरूले जितेपछि खेलकुद मन्त्रालयले उनीहरूलाई जनही ५० हजार पुरस्कारसहित सम्मान गरेको थियो ।

० कोहलपुरमै यो प्रतियोगिता गर्ने निर्णयमा कसरी पुग्नुभयो ?

मध्य तथा सुदूरपश्चिम क्षेत्रमा अपांगता खेलकुदसम्बन्धी जनचेतना वृद्धि गर्ने उद्देश्यले हामीले यो प्रतियोगिता यहाँ आयोजना गरेका हौँ । यहाँ त्यति धेरै खेलकुदको विकास हुन सकिरहेको छैन । फेरि सबै क्षेत्रबाट सहभागी टिमलाई यहाँ आउन सजिलो पनि भएकाले हामीले यो लोकेसन छान्यौँ ।

० नेत्रहीन क्रिकेट संघ कस्तो संस्था हो ?

यो दर्तावाला आधिकारिक संस्था हो, यो कुनै लुज फोरम होइन । क्रिकेटकै विकासका लागि गठन गरिएको हो । यो अन्तर्राष्ट्रिय नेत्रहीन क्रिकेट संघसँग पनि आबद्ध छ, नेपाल यसको नवौँ सदस्य राष्ट्र हो । यसको केन्द्रीय कार्यालय काठमाडौँमा छ । ७ वटै प्रदेशमा यसका जिल्ला शाखा छन् ।

० यस्ता प्रतियोगिता यसअघि कहाँ–कहाँ गर्नुभयो ?

प्रतियोगिता त हुँदै आएका छन् । २०६३ सालदेखि हामीले विभिन्न स्थानमा यस्ता प्रतियोगिता आयोजना गर्दै आएका छौँ । प्रत्येक वर्ष एक–दुईवटा प्रतियोगिता हुँदै आएका छन् । यसअघि मंसिरमा मात्र हामीले काठमाडौँको मूलपानीमा प्रतियोगिता गरेका थियौँ । यही डिसेम्बरमा महिला टोली भारतमा खेल्न गएको थियो । सन् २०२१ मा हामी भारतमै वल्र्डकप पनि खेल्यौँ । संघकै नेतृत्वमा हाम्रो टोली विदेशमा पनि प्रतियोगितामा सहभागी हुँदै आएको हो ।

० आम दर्शकहरूले तपाईंहरूको खेललाई कुन रूपमा लिने गरेको पाउनुहुन्छ ?

दुःखको कुुरा धेरै मानिसले अपांगता भएका व्यक्तिहरूका खेललाई खेल नै मान्दैनन् । यिनीहरूले पनि के खेल्न सक्छन् र ! हामीकहाँ क्रिकेटको कल्चर बल्ल अलिअलि सुरु हुन थालेको छ । जबकि भारत, पाकिस्तानलगायतका देशमा ब्लाइन्डले पनि वर्षौंदेखि क्रिकेट खेल्दै आएका छन् । त्यहाँका ब्लाइन्ड बच्चालाई ‘भविष्यमा तिमी के बन्ने बाबू ?’ भनेर सोध्यो भने ‘क्रिकेटर’ भन्ने जबाफ आउँछ । त्यहाँ दर्शकले पनि खेल र खेलाडीलाई फरक नजरले हेर्ने गरेका छन् । प्रत्येक दुई–तीन महिनामा त्यहाँ टुर्नामेन्ट हुन्छ । भर्खर मात्रै म्याच जितेका ब्लाइन्ड खेलाडीलाई मोदी सरकारले जनही एक–एकवटा घर दिएको छ ।

० यो प्रतियोगितामा नेत्रहीनहरूलाई के–के कुरामा छुट हुन्छ ?

यसमा अब आइसीसीको एउटा नियम हुन्छ । वल्र्ड ब्लाइन्ड क्रिकेट एसोसिएसनको अर्को नियम हुन्छ । यसमा क्रिकेटको अन्तर्राष्ट्रिय नियम अनुसार ८० प्रतिशत चाहिँ हाम्रो नियम मिल्छ । २० प्रतिशत चाहिँ मिल्दैन । उनीहरूले बल उडाएर फाल्छन््, हामी गुडाएर फाल्छौँ । उनीहरू ब्याट ठाडो पार्छन्, हामी सुताउँछौँ । हाम्रो बी–१ ले हानेको रन डबल हुन्छ, उनीहरूको कुनै पनि रन डबल हुँदैन । हाम्रो बाउन्ड्री ४५ देखि ५० यार्डको हुन्छ, उनीहरूको ५० देखि ७० यार्डको हुन्छ । हाम्रो चाहिँ ध्वनिबाट संकेत गर्नुपर्छ । यिनै कुरा केही फरक छ नत्र सबै उस्तै हो ।

  • No tags available
प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार