यस्तै हो भने एक दिन हामी भोकमरीको नराम्रो चपेटामा पर्छौं



मैले यसलाई एउटा कीट पाठशालाको रूपमा विकास गरौँ भनिरहेको छु । तर हाम्रो पालिका र जनप्रतिनिधिहरूलाई यसबारे ज्ञान र रुचि नै छैन । अहिले त्यहाँ विभिन्न प्रदेश, पालिका र विदेशबाट समेत विज्ञहरू आएर अवलोकन गर्नुभएको छ । हामी नार्कसँग मिलेर काम गरिरहेका छौँ । जहाँ नार्क वैज्ञानिकहरू वर्षमा दुई–तीन पटक आएर अनुसन्धान गर्नुहुन्छ । यो ठाउँ र यहाँको कीट विकासबारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन÷प्रसारण भएका छन् । तर दुःखको कुरा त्यो ठाउँमा अहिलेसम्म मेरै पालिकाबाट कुनै कर्मचारी वा जनप्रतिनिधि त्यहाँ अवलोकन गर्न पुग्नुभएको छैन । हाम्रो पालिका यसबारे बेखबर छ । अब भन्नुस् यसलाई के भन्ने !

० नेपालमा भइरहेको मौलीपालन कुन किसिमको छ ? यहीँको रैथाने प्रजातिको मौरी पालिँदै आएको छ वा आयातित प्रजातिका मौरी पालिने गरेको छ ?

नेपालमा विभिन्न प्रजातिका मौरी पालन गरिँदै आएको अवस्था छ । सबैभन्दा बढी त आयातित मेलिफेरा प्रजातिको मौरी पालनमै किसान बढी आबद्ध हुनुहुन्छ । मौरी पालक किसानको छाता संगठन नेपाल मौरी पालक महासंघले गत वर्ष सार्वजनिक गरेको एक तथ्यांकअनुसार नेपालमा झन्डै २० हजार किसान मौरी पालनमा आबद्ध छन् । यो चाहिँ मौरी पालनमा प्रत्यक्ष रूपमा जोडिएका किसानको तथ्यांक होे । ३०–४० देखि सय दुई सयसम्म मौरीका घार पालेका किसानको तथ्यांक हो । नेपालमा मेलिफेरा, कठ्यौरी, भेरेलगायतका १० लाखभन्दा पनि बढीका लागि मौरीको गोलाको ठाउँ छ भनिन्छ तर यहाँ विभिन्न प्रजातिका दुई सय गोला मात्र मौरी पालन हुँदै आएको छ । अझै ८ सय गोला मौरी पाल्ने ठाउँ त खाली नै छ । अब राज्यले कृषि क्षेत्रमा केही नगरेको भन्ने त होइन तर मुलुक संघीयतामा गएपछि सबैभन्दा ठूलो मार किसानलाई परेको छ । पहिला जिल्ला कृषि कार्यालय र सेवा केन्द्र हुन्थ्यो । केही समस्या प¥यो भने किसान सेवा केन्द्रमा जान्थ्यो । सेवा केन्द्रले जिल्ला कृषि कार्यालयलाई किसानका समस्या समाधानका लागि अनुरोध गथ्र्यो । त्यहाँ सबै विभागको कम्तीमा एउटा विज्ञ हुन्थ्यो । तर अहिले छिटोछरितोका लागि कृषि शाखा पालिकामा ल्याइयो । तर त्यहाँ विज्ञताको कमी भयो ।

० नेपालमा मौरीपालन सम्बन्धी अध्ययन गरेका विज्ञकै अभाव छ भन्छन् नि हो ?

नेपालमा मौरीका ठूलो ठूलो विज्ञहरू हुनुहुन्छ । तर उहाँहरू यो देशमा बस्न चाहनुहुन्न । बस्नु पनि भएको छैन । हामीले हालसालै नेपालमा मौरीको डिएनए चेक गर्न चाहेका थियौँ । नेपालमा मौरी आएको ४०–५० वर्ष भएकाले मौरीको जिन बूढो भयो कि भनेर हामीले मौरीको डिएनए परीक्षण गर्न चाहेका थियौँ । त्यो काम किसानको लेबलबाट सम्भव हुने कुरा भएन । तर विज्ञहरूको अभावले त्यो काम हुन सकिरहेको छैन ।

० अहिले नेपालमा कति प्रकारका मौरीहरू पालिने गरेका छन् ?

नेपालमा पालिने मौरीमा मुख्य गरी ५ वटा प्रजाति छन् । त्यसमध्ये हाम्रो रैथाने प्रजाति जसलाई सेरेना भन्छ त्यो हिमाली, पहाडी र तराई गरेर तीन प्रकारको छ । तराईमा भएको यो प्रजातिको अवस्था खतरामा छ, लोप हुने अवस्थामा छ । अहिले हाम्रो अभियान भनेकै तराईको सेरेना प्रजातिको रैथाने मौरीलाई कसरी बचाउने भन्ने हो । पहाडी सुरक्षित छ किनकि त्यहाँ व्यावसायिक रूपमा खेती भइरहेको छ । हिमाली पनि त्यति सुरक्षित छैन । त्यसपछि हाम्रै रैथाने मौरी कठ्यौरी छ । यो पनि नेपालबाट लोप हुने अवस्थामै छ । यो यस्तो अवस्थामा छ जहाँ यसलाई बचाउन नै अप्ठेरो छ । अर्को खागो भन्ने छ, जसलाई स्थानीय भाषामा भेरे मौरी भनिन्छ । जुन रुखहरूमा हुन्छ । यो पनि संकटपूर्ण अवस्थामा छ । मह सिकार गर्नेहरूले आगो लगाउने र मारिदिने कारणले यो प्रजाति पनि संकटमा परको छ । त्यसपछि आएर भीर मौरी । यो मौरी दैलेख, जाजरकोटको जंगलतिर भेटिन्छ भने लमजुङ, तनहुँ, गोरखातिर पनि यो प्रशस्त भेटिन्छ । यो मौरी नेपालको पहिचानको रूपमा पनि रहेको छ । यो मौरी विश्वभरि नै प्रख्यात छ । मह सिकारका नाममा मह निकाल्ने प्रक्रिया र परम्पराका कारण यो चर्चित भएको हो । यसरी सिकार गर्दै जाँदा कतै लोप हुने हो कि भन्ने पनि छ । र अर्को मेलिफेरा जुन आमरूपमा व्यवसाय गरिँदै आएको छ । यो तराई र भित्री मधेसमा पाइन्छ । यसका पनि धेरै प्रजाति छन् । तर हामीसँग भएका यो जातका मौरी महकै लागि मात्र उपयोग गरिने गरेको छ ।

० तपाईले व्यवसायमा कुन प्रजातिलाई प्राथमिकता दिएर मौरी पालन गरिरहनुभएको छ ?

मैले सुरुमा सिक्दा त यही मेलिफेरा नै पालन गरेँ । महकै लागि यो प्रजातिको मौरी पालिने भएकाले मैले पनि त्यही गरेँ । तर यो व्यवसाय गर्दै जाँदा मौरीका स्थानीय धेरै प्रजाति लोप हुँदै गएको देखेपछि त्यतातिर पनि म आकर्षित हुँदै गएको छु । मेरो क्षेत्र दाङ, बाँके, बर्दिया र कैलालीसम्म भएका कारण यहाँका रैथाने प्रजातिका बारेमा पनि रुचि जाग्यो । बुझ्दै जाँदा यहाँको पुत्का जातको मौरी लोप हुँदै गएको पाएँ । त्यसपछि अहिले म यो प्रजातिको मौरी संरक्षणमा पनि लागेको छु । व्यवसायिक रूपमा त मेलिफेरा त छँदै छ । अर्कोतिर लोप हुने अवस्थामा रहेको तराईको सेरेना मौरी पनि बचाउनुपर्छ भनेर हामी लागिरहेका छौँ । यो घुमन्ते प्रजातिको भएकाले यसको विकास गर्नुपर्ने हुन्छ जुन किसानको लेबलबाट सम्भव छैन । त्यसमा राज्यले लगानी गरेर र विज्ञले अनुसन्धान गर्नुपर्छ । यसले यदि आयातित मौरीले जत्तिकै उत्पादन दिन सक्ने भयो भने त किसान त्यसैमा आकर्षित हुन्थे । अहिलेको हाम्रो मुख्य अभियान भनेको आफ्नै रैथाने प्रजातिलाई उन्नत बनाएर प्रयोग गर्नुपर्छ भन्ने हो । यसो गर्नसक्यो भने हाम्रो रैथाने बिउ पनि बच्छ र उत्पादन पनि लिन सकिन्छ । अन्नबाली, वनस्पति, पशुपन्छी, कीट, शूक्ष्म जीवाणु र जलीय कुण्ड यी ६ वटा कम्पोनेन्ट जुन छन् यिनलाई हाम्रै प्रजातिको विकास गरेर उन्नत बनाउनुपर्छ ।

० अहिले विभिन्न पालिकाले विभिन्न प्रजातिका मौरीका बिउ ल्याएर वितरण गर्दै आएको पाइन्छ नि ?

स्थानीय सरकारले यो मौरीको बारेमा केही बुझेकै छैन । स्थानीय सरकारले कहीँकतै मौरीका घार वितरण गरेको भए पनि त्यही मेलिफेरा प्रजातिका केही मौरीका घार वितरण ग¥यो होला । त्यो स्थानीय प्रजातिको होइन ।

० तपाईले जुन पुत्का मौरी पाल्नुभएको छ, त्यो नेपालमा कत्तिको प्रभावकारी भएको पाउनुभएको छ ?

मैले यो पुत्कालाई मह उत्पादनकै लागि भनेर पालेको होइन । म केरला गएर यसका बारेमा केही जानकारी हासिल गरेर आएँ । त्यसमा नगरपालिकाले पनि सहयोग गरेको थियो । हामीले भ्यु टावरमा पुत्का मौरी संरक्षण क्षेत्र भनेर बनाएका छौँ । त्यहाँ झन्डै १० कठ्ठा जग्गा सामुदायिक वनले उपलब्ध गराएको छ । त्यहाँ अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायतका देशका विज्ञहरूसमेत आएर अवलोकन गरेर गएका छन् । त्यो देखेपछि उनीहरूको प्रतिक्रिया छ, ‘तिमीहरू सुनको भाँडोमा भिख मागिरहेका छौ ।’ मैले यही कुरा हाम्रो पालिकामा राख्दा उहाँहरू गम्भीर बन्नुहुन्न । मैले यसलाई एउटा कीट पाठशालाको रूपमा विकास गरौँ भनिरहेको छु । तर हाम्रो पालिका र जनप्रतिनिधिहरूलाई यसबारे ज्ञान र रुचि नै छैन । अहिले त्यहाँ विभिन्न प्रदेश, पालिका र विदेशबाट समेत विज्ञहरू आएर अवलोकन गर्नुभएको छ । हामी नार्कसँग मिलेर काम गरिरहेका छौँ । जहाँ नार्क वैज्ञानिकहरू वर्षमा दुई–तीन पटक आएर अनुसन्धान गर्नुहुन्छ । यो ठाउँ र यहाँको कीट विकासका बारे विभिन्न सञ्चार माध्यमका समाचार प्रकाशन प्रसारण हुन्छ । तर दुःखको कुरा त्यो ठाउँमा अहिलेसम्म मेरै पालिकाबाट कुनै कर्मचारी वा जनप्रतिनिधि त्यहाँ अवलोकन गर्न पुग्नुभएको छैन । हाम्रो पालिका यसबारे बेखबर छ । अब भन्नुस् यसलाई के भन्ने !

० तपाईंले मौरीका रैथाने प्रजातिहरू लोप हुँदै गएको कुरा गर्नुभयो, यसको खास कारण चाहिँ के हो ?

हामीकहाँ जुन परम्परागत खेतीकिसानी हुन्थ्यो त्यो मानव, पशुपन्छी तथा किट सबैका लागि अनुकूल थियो । हिजो जुन बालीमा मौरीले पराग सेचन गथ्र्यो, त्यहाँबाट रस लिएर आउँथ्यो यसबाट दुवैलाई फाइदा थियो । तर अहिले हामी हाइब्रिड प्रविधिको अन्न उत्पादन गर्न थाल्यौँ, जुन चाहिँ आफैँमा नपुंशक छ । अब एउटा मौरी नपुंशक चिज खाएर कसरी पुंशक बन्न सक्छ । यो कुरा भोलि गएर मानवमा पनि लागू नहोला भन्न सकिन्न । हामीले नपुंशक चिज खाएर पुंशक कुरा गरिरहेका छौँ । हिजो हाम्रा बिउ बैंक हाम्रा घरका भित्ताहरू थिए । काँक्रो, चिचिन्डो, फर्सी, लौका जे हुन्थे हामी भित्तामै राख्थ्यौँ । ती उर्वरा शक्तिदेखि खाँदा पनि शक्ति प्रदायक थिए । तिनै बिरुवामा चरेर मौरी पनि बाँचेका थिए । तर अब बिउबिजन हाम्रो नियन्त्रणबाट बाहिर गइसक्यो । यस्तै हो भने थाहै नपाई कुनै दिन हामी भोकमरीको चपेटामा पर्नेछौँ । बहुराष्ट्रिय कम्पनीले कुनै दिन अब हामी बिउ दिन सक्दैनौँ भने भने त्यसको पहिलो मारमा हामी नेपाली पर्छौं । हामीसँग बिउ नै छैन । छिमेकी मुलुकहरूले आफूलाई चाहिने बिउ ५० वर्ष, सय वर्षका लागि पुग्ने गरी संरक्षण गरेका छन् । तर हामीसँग केही छैन । सरकारको बिउ बैंक स्थापना गर्ने नीति पनि छ । हामीले पनि स्थानीय सरकारलाई बारम्बार यो कुरा भनि पनि रहेका छौँ ।

० भनेपछि मौरीको चरन वा आहार–विहार प्रतिकूल बन्दै गएकाले लोप हुने अवस्था आएको हो ?

एकदमै । हाम्रा घरहरू पहिला पशुपन्छी, कीटमैत्री थिए । घरमा परेवा, गौँथली बस्थे । गोठमा गाईभैँसी पालिन्थे । मौरीहरू आएर बस्थे । तर अहिले हाम्रा घरका संरचना पशुपन्छी, कीटमैत्री छैनन् । यो पृथ्वीमा सबैभन्दा बढी कीट छ । तर त्यही प्रजाति सुरक्षित छैन ।

० जैविक विविधतामा मौरी पालनको के भूमिका छ ?

‘नो बि नो लाइफ, नो बि नो वर्क’ अर्थात मौरी छैन भने जीवन नै छैन भनिन्छ । मौरीजन्य कीट भएन भने मानिसको आयु जम्मा ५ वर्षमात्र हुन्छ भनिन्छ । यो हो पनि । यदि मौरीजन्य कीट भएन र परागसेचन गरेन भने अन्नबाली, फलफूल, तरकारी कसरी फल्छ ?

० अहिले तपाईहरू कीट संरक्षणको अभियानमा पनि हुनुहुन्छ । विभिन्न स्थानमा कीट संरक्षणका लागि प्रयास भइरहेका छन् । यसको कत्तिको प्रभावकारिता देख्नुहुन्छ ?

२०७८ सालमा नार्कको जिन बैंकले मेरो जुन ओम शिवशक्ति मौरी पालन छ त्यसैलाई पुरमल घरायसी कीट बैंकको रूपमा स्थापना ग¥यो । त्यसपछि मैले यो घरमा मात्र सीमित रहेर हुँदैन । म घरभन्दा बाहिर निस्कनुपर्छ र मैले गरेको क्रियाकलापले देशलाई समाजलाई फाइदा पुग्नुपर्छ भन्ने लागेर म यसमा लागेको हुँ । मैले विभिन्न स्कुलहरूमा जिन बैंक स्थापना, घाँसेचौर संरक्षण गर्न चाह्यौँ । तर स्कुलहरूले ध्यान नदिएपछि हामीले गाभर भ्यालीमा गाभर भ्याली सामुदायिक जिन बैंक बनायौँ । यसको अहिले म अध्यक्ष पनि छु । यो जिन बैंक स्थापनामा नार्कका वैज्ञानिक डा. बालकृष्ण जोशी, तिलक ढकाललगायत हौसला र सहयोग रह्यो । उहाँहरूकै प्रेरणाले यो स्थापना भयो । त्यसपछि यति धेरै मान्छेले त्यो अवलोकन गर्नुभयो कि कृष्ण चौधरीजीको होमस्टे व्यवसायमा पनि यसले दुगुनाले सकारात्मक प्रभाव पा¥यो । यसले पर्यटकहरूलाई पनि आकर्षित गरिरहेको छ । त्यसपछि हामीले यसलाई स्कुलतिर पनि विस्तार गर्दै लगेका छौँ । त्यसैक्रममा राष्ट्रपति चुरे संरक्षण समितिसँग मिलेर हामीले त्यहीँ नजिकैको रारा स्कुल, कोहलपुरका ग्रिनपिस, बालज्योति, गोरखालगायतका विद्यालयमा फिल्ट जिन बंैकको स्थापना गरेका छौँ ।

  • No tags available
प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार