27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

‘श्रमहाट’का निराश मजदुर !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०८०  

यसरी न्यून ज्याला र काम गरेको पैसा नपाउने समस्याबाट पिरोलिएका नेपालगन्ज श्रमहाटका मजदुरहरूका विषयमा कसैले बोल्दैनन् उल्टो हेप्ने काम भइरहेको छ ।

नेपालगन्ज ।
दिलु चौधरीले काम नपाएको चार दिन भयो । काम नगरेका कारण उनीसँग पैसा छैन । साथीभाइको कोठामा साँझबिहानको खाना खाइरहेका छन् । अब त साथीभाइको पनि खाना सकिने बेला भइसक्यो । ‘यहाँ काम खोज्न आउन लागेको चार वर्ष भयो तर यस्तो समस्या मैले कहिल्यै झेलेको थिइनँ । पहिलो पटक कामै नपाएर बसिरहेको छु,’ दिलुले दुखेसो पोखे ।

बर्दिया राजापुरका रामलखन थारूले पहिले रिक्सा चलाउँथे । त्यसबाट खर्च मात्रै हुने आम्दानी नहुने भएपछि मजदुरी सुरु गरे । तर अहिले भने जस्तो काम पाइँदैन । काम पाइहाले पनि थोरै पैसा मिल्छ । ‘कामको खोजीमा नेपालगन्ज आइयो । यहाँ त काम नपाइनाले कोठाभाडा तिर्नै मुस्किल होला जस्तो भइसक्यो,’ रामलखन भन्छन् ।

दिलु र रामलखन जस्ता पाँच सय मजदुर कामको खोजीमा हरेक बिहान नेपालगन्जको श्रमहाटमा जम्मा हुन्छन् । तर यसरी जम्मा भएका मध्ये मुस्किलले सय जनाले पनि रोजगारी पाउँदैनन् । रामलखन भन्छन्, ‘बाँकी सबै कामबिहिन हुनुपर्छ । साँझ के खाने भन्ने पिरलो छ ।’ उनका अनुसार कोरोना पछि यो समस्या बढेको हो । आर्थिक मन्दीले घर एवं पूर्वाधार निर्माणको काम ठप्प छ ।

त्यसको असर दिनभर काम गरेर त्यहीबाट आएको पैसाले छाक टार्नेहरूलाई परेको बताउँछन्, रमेश यादव । उनी भारत रुपैडियाका हुन् तर कामको खोजीमा नेपालगन्जको श्रमहाटमा आउँछन् । ‘मसहित मेरो गाउँबाट दश जना यहाँ काम खोज्दै आउँछौं । तर पछिल्लो दुई वर्षयता खासै काम पाइएको छैन । काम पाइए पनि थोरै पैसा पाइन्छ,’ उनी भन्छन् ।

बर्दिया राजापुरकै रूपा थारूको पीडा पनि रमेशको जस्तै छ । काम पाए पनि न्यूनतम सात सय प्रतिदिन ज्याला पाउनुपर्नेमा चार सयमै काम गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘यही चार सयमै काम नगर्ने हो भने पनि खान लाउन पुग्दैन । काम नपाइने हाम्रो बाध्यतालाई टेकेर ठग्ने काम भइरहेको छ ।’ रूपाका अनुसार त कैयौं मजदुरले त त्यही थोरै पैसासमेत ठेकेदारबाट पाएका छैनन् ।

यसरी न्यून ज्याला र काम गरेको पैसा नपाउने समस्याबाट पिरोलिएका श्रमहाटका मजदुरहरूका विषयमा कसैले बोल्दैनन् उल्टो हेप्ने काम भइरहेको उनको भनाइ छ । नेपालगन्जको श्रमहाटबजार वर्षौदेखि लाग्दै आएको छ । जहाँ कामको खोजीमा आएका बाँके र बर्दियाका ग्रामीण क्षेत्रका श्रमिक र कामदार खोज्नेहरूको हरेक बिहान भीड लाग्छ । वर्षांैदेखि त्रिभुवनचोकमा लाग्दै आएको यो श्रमिक हाट पछिल्लो समय नेपालगन्ज रंगशाला जानेबाटोमा सारिएको छ ।

स्वस्फूर्तरूपमा श्रमिकहरू यहाँ बिहान जम्मा हुन्छन् । त्यसरी जम्मा भएका श्रमिकहरूलाई रोजगारदाता व्यक्तिले काममा लैजान्छन् । व्यक्तिविशेष हुँदै ठेकेदारहरूको माध्यमबाट यहाँ जम्मा हुने श्रमिकले रोजगारी पाउँदै आएका छन् । उनीहरूले दिनको हिसाबले काम गर्छन् र चलनचल्ती अनुसारको पारिश्रमिक पाउँदै आएका छन् । एक ठाउँ काम सकिएपछि फेरि अर्को दिन पहिलेको जस्तै श्रम हाटबजारमा गई नयाँ कामको खोज्न लाग्छन् ।

पुरुषसँगै महिला कामदारहरूको पनि उपस्थिति हुने भएकाले स्वस्फूर्तरूपमा वर्षाैदेखि लाग्दै आएको यो श्रमहाटले स्वदेशमै रोजगारि खोज्ने र स्वदेशमै कामदार खोज्नेबीचको पुलको काम गरे पनि यसलाई व्यवस्थित गर्न कसैले चासो दिएका छैनन् । उल्टो हेपाहा नजिरले हेरेर बिहान जम्मा हुँदासमेत झर्को मान्ने गरेको भन्दै श्रमिकहरूले पिरमर्का सुनाउँछन् ।

नेपालगन्जमा घर, सडक जस्ता पूर्वाधार निर्माणमा चाहिने श्रमिक आपूर्ति गर्दै आएको श्रम हाटलाई व्यवस्थित गर्न र यहाँ श्रमिकको न्यूनतम सेवासुविधा सुनिश्चित गर्न कसैले चासो नदिएको अवस्था छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०८०     8:56:45 AM  |