‘वरिष्ठ नेता’लाई रास्वपाको विधानमै राखिने



काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावअघि बालेन शाहलाई पार्टी प्रवेश गराउँदा सिर्जना गरिएको ‘वरिष्ठ नेता’ पदलाई विधानमा समावेश गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता पद राख्ने निर्णय गरेको हो । रास्वपामा हाल प्रधानमन्त्री शाह वरिष्ठ नेता छन् । तर, पार्टीको विधानले उनलाई चिन्दैन ।

बालेन रास्वपामा विलय हुँदा पदाधिकारी बस्न नचाहेपछि सभापतिपछिको वरीयतामा रहने गरी वरिष्ठ नेताका रूपमा व्यवस्थापन गरिएको थियो । यो पदलाई अब वैधानिकता दिने बिहीबार बसेको सचिवालय वैठकमा सहमति जुटेको हो । ‘वरिष्ठ नेता’ सेरेमोनियल रूपमा मात्रै रहने पार्टीका एक पदाधिकारीले बताए । यो पदमा निर्वाचन नहुने ती पदाधिकारीको भनाइ छ ।

‘वरिष्ठ नेता भनेको पदाधिकारी नभएर एउटा सम्मानित पदका रूपमौ मात्रै रहने छ । त्यसैले यसमा निर्वाचनको साटो मनोनयन गर्ने व्यवस्था हुन्छ,’ उनले भने । स्रोतका अनुसार प्रधानमन्त्री बालेन नै वरिष्ठ नेता बन्ने छन् । उनलाई वरिष्ठ नेतामा निरन्तरता दिने समझदारी पहिल्यै भएको बुझिएको छ । बालेनले रास्वपामा शक्तिशाली पद लिने चाहना देखाएका छैनन् । सँगसँगै, केन्द्रीय समितिको आकार बढाउने निर्णय पनि बैठकले गरेको छ ।

रास्वपाले चुनावअघि बालेन शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी उक्त पद सिर्जना गरेको थियो । आसन्न पहिलो महाधिवेशन क्रममा सचिवालय बैठकले उक्त पदलाई विधानको हिस्सा बनाएको हो । रास्वपाले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठन गरेको विधान संशोधन समितिको प्रतिवेदनमा भने वरिष्ठ नेता पद राख्ने प्रस्ताव गरिएको थिएन। त्यसलाई पार्टीले नै निर्णय गर्ने भनिएको थियो ।

त्यसै अनुरूप बिहीबार सभापति लामिछानेको नेतृत्वमा बसेको सचिवालय बैठकले वरिष्ठ नेताको पद रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सचिवालय बैठकले केन्द्रीय समितिको आकार बढाएर १५८ बनाउने निर्णय पनि गरेको छ । अहिले रास्वपामा १२१ सदस्य छन् । विधान संशोधन समितिको प्रस्तावमा भने केन्द्रीय सदस्यको आकार बढाएर १३६ बनाउने उल्लेख थियो ।

ती नेताका अनुसार सचिवालय बैठकले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय पनि गरेको छ । यस अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सह–महामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक, एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहने छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार