मलाई कोहलपुर नगरपालिकाको मात्र एक हप्ताका लागि कार्यबाहक मेयर हुन दिनुस् त म कस्तो काम गर्दो रहेछु । यदि सुरुमै दिने हो भने एक हप्ता र अन्तिममा दिने हो भने नगर सभाको बजेट ल्याउँदाको एक दिन मात्रै कार्यबाहक दिनूस् । मैले कस्तो काम गर्दोरहेछु, त्यसपछि हेरौँ । यो मेरो चुनौती नै भयो । तपाईंको मिडियामार्फत आज म यो घोषणा गर्छु । अहिले जति काम भएका छन् त्योभन्दा डबल काम गर्न सकिनँ भने म वडाध्यक्षबाट तत्काल राजीनामा दिएर हिँड्छु ।
० कोहलपुर नगरपालिका–३ मा ऐलानी, पर्ती र सरकारी जग्गाको नापजाँच चलिरहेको छ । अहिले यो काम कहाँ पुगेको छ ?
कोहलपुर नगरपालिका वडा नम्बर ३ मा अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीका लागि भनेर जग्गा नापजाँचको काम भइरहेको छ । हामीले माघ १६ गतेदेखि किरण नालाबाट जग्गा नापजाँच सुरु गरी मदनचोक हुँदै अहिले शान्तिनगर चोकमा नापजाँचको काम गरिरहेका छौँ । साविक रझेना २ ‘क’को प्लटलाई पहिला नापजाँच गरेर हामी टे«सको कित्ता नम्बर हाल्ने, त्यसपछि क्रमशः रझेना १ क, ख, ग, घको गर्दै वडा नम्बर ३ को सम्पूर्ण जग्गा नापजाँच गर्ने योजनामा छौँ । यो काममा नगरपालिकाको खर्चले नपुग्ने मैले देखिरहेको छु । यदि नगरपालिकाको पैसाले पुगेन भने पनि हामी आफ्नै पैसा खर्च गरेर भए पनि छिटोभन्दा छिटो जग्गा धनीलाई पुर्जा वितरण गर्ने योजनामा छौँ ।
० जग्गा नापजाँच सँगसँगै निस्सा वितरण पनि गर्दै जाँदा चाँडो र सहज पनि हुन्थ्यो होला नि ! हैन र ?
अन्य वडामा यो अभ्यास पनि भइरहेको मैले पाएको छु । तर हाम्रो वडामा उल्टो छ । वडा कार्यालयको सम्पूर्ण डकुमेन्ट निस्सासहित बोकेर वडाको एक जना जनप्रतिनिधिको नेतृत्वमा घरघरमा गएर निस्सा वितरण हुन्छ । त्यसपछि मात्र नापीको काम हुन्छ । जग्गा नापजाँचका लागि कुनै पनि व्यक्ति वडा कार्यालयसम्म जानै नपर्ने वातावरण हामीले मिलाएका छौँ ।
० प्राविधिक जनशक्ति आवश्यक पर्ने भएकाले कतिपय पालिकाहरूमा जनशक्ति अभाव भएको सुनिन्छ । जनशक्ति कसरी व्यवस्थापन गर्नुभएको छ ?
हाम्रो वडामा एउटा ‘टोटरेसन’बाट अमिन र सर्वेक्षकसहित सात जनाको जनशक्ति छ । यो जनशक्तिले ‘फिल्डवर्क’ त गर्न भ्याएको छ । तर ‘अफिसवर्क’ यो जनशक्तिले भ्याएको छैन । यो वडामा २५ सय सेरोफेरोमा कित्ता छन् । यत्रो कित्ता नाप्न एउटा ‘टोटरेसन’लाई काम गर्न गाह्रै छ । त्यसकारण नगरपालिकासँग पनि हामीले जनशक्तिको कुरा गरिरहेका छौँ । तर नगरपालिकाको नेतृत्व जनशक्ति ‘हायर’ गर्ने कुरामा सुस्त देखिएको छ । यदि नगरपालिकाले जनशक्ति दिएन भने पनि हामी वडाबाटै व्यवस्थापन गर्छौं ।
० भूमि आयोगले कर्मचारी खटाएको छैन ?
आयोगको एक जना कर्मचारी मात्र हुनुहुन्छ । आयोगबाट एक जना सर्वेक्षक हुनुहुन्छ । बाँकी हामीले नै कर्मचारी ‘म्यानेज’ गरिरहेका छौँ ।
० तपाईंको वडामा नापजाँच गर्नुपर्ने जग्गा कति छ ?
वडा नम्बर ३ मा ७० जना सुकुम्बासी हुनुहुन्छ । १६ सय ७६ फाइल खडा भएका छन् । छुटेका सयभन्दा बढी मान्छे हुनुहुन्छ । ३ नम्बर वडाको २ क जहाँ अहिले हामी नापिरहेका छौँ यो ५६ बिघाभित्रको भूगोल हो । त्योभन्दा बाहिर हामीकहाँ १ सय २० बिघाभन्दा बढी ऐलानी जग्गा छ ।
० छुटेका भनिएका जग्गालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
छुटेका भनिएका जग्गा बीचमा किनबेच भएको वा टाढा भएका कारण फर्म भर्न नभ्याउनुभएको वा रसिद नकाट्नुभएका जग्गाधनी हामीले जग्गा नाप्दै गर्दा भूगोलमा आइसकेको खण्डमा उहाँका कागजपत्र हेरेर, क्रम हेरेर उहाँको जग्गा कन्फर्म हो भन्ने भएमा तत्काल जग्गा नापेर कित्ता नम्बर उहाँलाई उपलब्ध गराउँछौँ । फर्म खुलेको खण्डमा एउटा प्रक्रिया पूरा गरेर उहाँहरूलाई पनि समावेश गरेर पुर्जा वितरण गर्छौं ।
० १६ सय फाइल र करिब २५ कित्ता जग्गा वितरण गर्दा त राजस्व पनि राम्रै उठ्ने रहेछ नि ? चाँडो जग्गा वितरण गरे पालिकाको एउटा महत्वपूर्ण आर्थिक स्रोत पनि यो हुन सक्दैन र ?
हो, यदि मेरो वडामा मात्रै पूर्जा वितरण हुने हो भने यहाँबाट मात्रै १६ देखि १७ करोड रूपैयाँ राजस्व उठ्छ । कम्तीमा १६–१७ करोड । अहिले नगरपालिकाले म्यानपावर हायर गर्दा पनि धेरै पैसा खर्च हुन्छ भनेर डराइरहेको छ । किनभने हाम्रो कार्यकालको अन्त्यतिर पुर्जा बाँड्ने कुराले कुनै पनि अर्थ राख्दैन । त्यो त चुनाव केन्द्रित मात्रै गर्ने कुरा हो । फटाफट काम गरेर छिटोभन्दा छिटो पूर्जा वितरण गर्न सकियो र राजस्व पनि उठाउन सकियो भने त्यही राजस्वको पैसा जनताको घरआँगनमा विकास गरेर खर्च गर्न सक्छौँ । जनताले तिरेको राजस्व घुमेर जनताकै घरआँगनमा विकास निर्माणमा खर्च गर्न सकिन्थ्यो । यो कुरामा नगरपालिका अग्रसर भएको जस्तो मलाई लाग्दैन । यसमा नगरपालिकाको मूल नेतृत्वले कुरा नबुझेको हो कि जस्तो लाग्छ ।
० कोहलपुर नगरपालिका अव्यवस्थित बसोबासी बढी भएको र ऐलानी, पर्ती जग्गा बढी भएको क्षेत्र मानिन्छ । कतिपय वडा त पूरै अव्यवस्थित बसोबासी मात्र भएका वडा छन् । त्यहाँबाट त अझ बढी राजस्व संकलन गर्न सकिँदैन र ?
कोहलपुर नगरपालिकाको सबैभन्दा बढी राजस्व उठ्ने वडा भनेको वडा नम्बर २ हो । त्यहाँ हाम्रोभन्दा डबल संख्यामा अव्यवस्थित बसोबासी छन् । जनसंख्या पनि धेरै छ । यो हिसाबले पनि कोहलपुर नगरपालिकाभित्र राजस्वबाटै अर्बौं रूपैयाँ उठ्छ । जनतालाई राजस्व तिर्ने कुराको चिन्ता छैन । उहाँहरूलाई बरु चाँडो पूर्जा वितरण गरिदिए राजस्व जति परे पनि हामी तिथ्र्यौं भन्ने छ । तर चाँडो गर्ने कुरामा नगरपालिकाको मूल नेतृत्व उदासीन छ । नगरपालिकाले यो राजस्व उठाएर सदुपयोग गर्नेतिर सिर्जनात्मक तरिकाले सोच्नुपर्छ । कर्मचारी कम राखेर, ढिलो गरेर त्यसको कुनै अर्थ छैन ।
० आयोगले जुन ठूलो अन्तर राखेर राजस्वको मापदण्ड बनाएको छ त्यो कत्तिको व्यावहारिक देख्नुहुन्छ ?
राष्ट्रिय भूमि आयोगले बनाएको राजस्वको मापदण्ड फिल्डमा लागू गर्न म निकै कठिनाइ देख्छु । उसले समाजवादी नीतिअनुरूप यो मापदण्ड बनाएको छ । एउटै ठाउँमा कुनै कम आयस्रोत भएको व्यक्तिलाई कम राजस्व र बढी आयस्रोत भएको व्यक्तिलाई बढी राजस्व लिने नीति लिइएको छ । तर व्यवहातः यो कुरा लागू गर्न गाह्रो छ । व्यक्तिको आर्थिक अवस्था पहिचानको पनि समस्या हुन्छ । व्यक्तिले स्वघोषणा गर्दा अत्यन्तै कम गर्छ भने हामीले खोजेर हिँड्न समस्या हुन्छ । त्यसो भएर मालपोत कार्यालयले तयार गरेको जुन सरकारी दर छ त्यसकै आधारमा राजमार्गमा परेकाको एउटा दर, २० मिटर पिच बाटोमा भएको एउटा र १२ मिटर बाटोमा भएको एउटा दर तयार गर्ने हो भने सहज हुन्छ जस्तो लाग्छ ।
० तपाईंहरूले जग्गा नापजाँच गरिरहँदा विवादहरू पनि देखिएका होलान् । कस्ता खालका विवाद बढी देखिने गरेका छन् ?
खासै त्यस्ता विवादहरू देखिएका छैनन् । सानातिना विवाद आए हामीले मिलाएर लगेका छौँ । कोहलपुर नगरपालिका–३ भित्र अहिले हामीले सर्वदलीय सहमतिबाट न्यूनतम बाटोको मापदण्ड ६ मिटर कायम गरेका छौँ । त्यसै अनुरूप अहिले नै नापजाँच भइरहेको छ ।
० वडाको तर्फबाट कहिलेसम्म तपाईंहरू भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न सक्नुहुन्छ?
नगरपालिकामा हाम्रो काम कतै अड्किएन, जिल्ला भूमि आयोगमा हाम्रो काम कतै अड्किएन भने केन्द्रीय आयोगले स्वीकृति दियो वा नापी र मालपोत सकारात्मक भइदिए भने जेठको मसान्तसम्म हामीले बाजागाजासहित पुर्जा वितरण गर्छौं । त्यही तयारीका साथ हामी काम गरिरहेका छौँ ।
० जग्गा नापजाँचको काम गर्दै गर्दा भूमि आयोगको तर्फबाट तपाईंहरूलाई काम गर्न कत्तिको सप्ठेरो–अप्ठेरो भइरहेको छ ?
बाँके जिल्लामा भूमि आयोगको नेतृत्व अलि कमजोर देख्छु म । हामीले जग्गा नाप्दै गर्दा फिल्ड भिजिटमा अहिलेसम्म के भएको छ भनेर आयोगका तर्फबाट कोही पनि आएको छैन । जनप्रतिनिधिलाई के अप्ठेरो भएको छ, हामीले सहयोग गर्नुपर्ने के छ भनेर सोध्नुभएको छैन ।
० बाँकेका सन्दर्भमा त अहिले अध्यक्ष नै नरहेको अवस्था छ क्या रे !
आयोगको सक्रियता भएको भए नापीको काम पनि छिट्टै सुरु हुन्थ्यो । अर्कोतिर आयोगसँग जोडिएका विभिन्न समस्या आउँछन् आयोगको निस्क्रियतामा ती समस्या समाधान प्रक्रियामा ढिला भएको छ । जस्तो हामीले एउटा एक ठाउँको कित्ता नापेर भ्याएपछि अस्थायीलार्ई स्थायी कित्ता नम्बर दिनुपर्ने हुन्छ । त्यसो गर्नका लागि पालिकाले पत्र पठाएको खण्डमा भूमि आयोगले मालपोतलाई पत्र पठाएर त्यहाँको अन्तिम कित्ता नम्बर उपलब्ध गराउने हो । यो काम भूमि आयोगको हो । त्यस्तै, साविकमा देखिएको कुलो वर्तमानमा अन्यत्र छ भने सार्वजनिक जग्गा हामीले केही पनि गर्न पाइँदैन । यस्ता केही समस्या छन् । आयोग सक्रिय नहँुदा यस्ता समस्या समाधान हुन सकेका छैनन्् ।
० अलिकति फरक प्रसंगमा कुरा गरौँ, नगर प्रमुखसँग तपाईंको मिडिया र सामाजिक सञ्जालमार्फत बेलाबेला ‘दोहोरी’ चल्ने गरेको देखिन्छ नि! किन ?
अहिलेका मेयर मेरै उमेर समूहको हुनुहुन्छ । मभन्दा एक दुई वर्ष जेठो हुनुहोला । यहाँका जनाताले युवालाई मेयर छान्दै गर्र्दा उहाँले युवापन त देखाउनुप¥यो नि ! कोहलपुर कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मुख्य नाका हो । तर आज पनि यहाँका मानिस मुभी हेर्न नेपालगन्ज पुग्नुपर्ने अवस्था छ । चौराहाको नजिक गएर हेर्नोस् त फोहोर ! चपरगौढी पुग्नुभयो भने त्यहीँ अस्तव्यस्त देख्नुहुनेछ । बिनायोजना बसपार्क उता सारियो । यताको बसपार्क अलपत्र छ । एम्बुलेन्स हिँड्ने बाटोमा ल्याएर नापी तथा मालपोत कार्यालय स्थापना गरिएको छ । यस्ता खालका गतिविधिले गर्दा उहाँसँग मेरो कुरा मिल्दैन । हाम्रो सुझावलाई उहाँले मान्दा पनि मान्नुहुुन्न । आफूबाहेक अरूलाई गन्दै नगन्ने उहाँको स्वभाव छ ।
० यो कुरा त तपाईंहरूले मिडिया वा सामाजिक सञ्जालमा नभएर कार्यपालिका बैठक, नगर सभामा उठाउनुपर्ने होइन र ! त्यहाँ त फेरि तपाईंहरू केही विरोध गरेको सुनिँदैन ?
कार्यपालिका बैठकमा म धेरै बोलेँ । म त त्यहाँ लड्नका लागि मात्रै जाने जस्तो भयो । सधैँ झगडा मात्रै गर्न त मलाई पनि कहाँ रुचि हुन्छ र ! तर बाध्यता त्यस्तै आइपर्छ । अहिले पनि निस्सा वितरण गर्नका लागि जनतासँग सय दुई सय रूपैयाँ उठाइएको छ । तर त्यसको निर्णय पालिकामा कहीँ पनि भएको छैन । अब कार्यपालिकामा उहाँको दुई तिहाइ बहुमत छ । नगर सभामा दुई तिहाइभन्दा बढी बहुमत छ । त्यहाँ हामीले कुरा उठाएर सुनुवाइ हुने अवस्था पनि छैन । हाम्रो कुरा निर्णय र कार्यान्वयन हुने अवस्था छैन । त्यसो भएर नगरका वा वडाका जनतालाई सचेत बनाउन पनि यसो गर्नुपरेको हो । जनतामा जानकारी र सचेतता त हुनुप¥यो नि !
० फरक दलीय प्रतिनिधित्वका कारण नगर प्रमुखबाट पनपक्षको अनुभव गर्नुपरेको छ कि छैन ?
अवश्य पनि छ । अहिले नगरपालिकालाई कांग्रेस भर्ती केन्द्र बनाइएको छ । शिक्षक होस् वा नगरपालिकामा होस् सबै कांग्रेसबाटै भर्ती गरिएको छ । मेयर भएर उहाँले गरेको काम नै यही हो । उहाँ आफ्नो ‘प्रोटेक्सन’ हुने काम मात्रै गर्नुहुन्छ । यदि अहिले हामीले नापेको जग्गाको समयमै पुर्जा दिइएन भने उस्तै परे नगरपालिकामा गएर अनसन बस्ने तयारीसमेत गरिसकेको छु । जनप्रतिनिधिले त जनताका आवाज बोल्नुप¥यो । मलाई व्यक्तिगत रूपमा केही चाहिएको छैन । अहिले पनि मैले मेरो तलब व्यक्तिगत रूपमा लिएको छैन । त्यो रकम सामाजिक काममा खर्च गरिरहेको छु । मलाई कोहलपुर नगरपालिकाको मात्र एक हप्ताका लागि कार्यबाहक मेयर हुन दिनुस् त म कस्तो काम गर्दो रहेछु । यदि सुरुमै दिने हो भने एक हप्ता र अन्तिममा दिने हो भने नगर सभाको बजेट ल्याउँदाको एक दिन मात्रै कार्यबाहक दिनूस् । मैले कस्तो काम गर्दोरहेछु, त्यसपछि हेरौँ । यो मेरो चुनौती नै भयो । तपाईंको मिडियामार्फत आज म यो घोषणा गर्छु । अहिले जति काम भएका छन् त्योभन्दा डबल काम गर्न सकिनँ भने म वडाध्यक्षबाट तत्काल राजीनामा दिएर हिँड्छु ।









प्रतिक्रिया दिनुहोस्