सामाजिक सरोकार मञ्च गठन गर्नुको उद्देश्य के हो ? आजसम्म के–के काम गर्नुभयो ?
कोहलपुरमा रहेका भ्रष्टाचार, बेथिति, विसंगति, अनियमिततालगायतका विषयविरुद्ध आवाज बुलन्द गर्न सामाजिक सरोकार मञ्च गठन गरिएको हो । हाम्रो संस्थामा बजेट हुँदैन र कसैसँग मागेका पनि छैनौँ । आफ्नै पकेटबाट खर्च गरेर कोहलपुरको विकासका लागि यहाँका नागरिकलाई सचेत गराउन हामी लागिपरेका छौँ । कोलपुरको परिस्थिति हेरेर केही निर्णय गरेर सम्बन्धित निकायको ध्यान आकर्षण गराएका थियौँ । जस्तै कोहलपुर मेडिकलबाट स्वास्थ्य बिमा हटाइएको विषयमा स्वास्थ्य मन्त्रीलाई तुरुन्तै पुनः लागू गर्न ज्ञापनपत्रसमेत बुझायौँ । हाइवेमा जेब्राक्रस निर्माण गर्न सडक विभागमा गई ज्ञापनपत्र बुझाउने काम पनि भइसक्यो । दशबिघामा स्वास्थ्य बिमा लागू गर्न, दाहसंस्कारका लागि घाट निर्माण गर्न, यातायात कार्यालय स्थापना गर्न, नयाँ बसपार्कको जंगलमा पार्क व्यवस्थाप गर्न, चिडियाखाना निर्माण गर्नलगायतका विषयमा नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई ९ बँुदे ज्ञापनपत्र बुझाएर ध्यान आकर्षण गराएका छौँ । साथै विकास निर्माणका कार्य गर्दा गुणस्तारीय गर्न माग गर्दै खबरदारी गर्ने र सुझाव दिने काम पनि हामीले गरिरहेका र्छाैँ ।
० कोहलपुरको विकासका लागि सम्पूर्ण राजनीतिक दलहरू एकजुट छन् त ?
हामीकहाँ बहुदलीय व्यवस्था भएकाले हामी विभिन्न राजनीतिक दलमा आबद्ध छौँ । जतिबेला निर्वाचन होला त्यो बेला उम्मेदावर बनी राजनीति गरौँला । हार–जित होला । तर, निर्वाचन सकिएर निर्वाचित भएपश्चात हार्नेले पनि जित्नेलाई सहयोग गरौँ, खुट्टा तान्ने काा होइन । म त भन्छु, कोहलपुरको विकासमा कसैले राजनीति नगरौँ । मैले यहाँ नापी र मालपोत कार्यालय स्थापना गर्दा थोरै एकताको महसुस पनि गर्न पाएको छु । सबै राजनीतिक दलहरू र सबै दलका राजनीतिककर्मी सबैको सहयोगले यी कार्यालय यहाँ स्थापना गर्न हामी सफल भएका हौँ । जुन–जुन मन्त्रालयमा हाम्रो काम हो तिनै राजनीतिक दलको संयोजक बनाऔँ । काम र पहल गर्न सहज हुन्छ । म नै हुन्छु भनेर संयोजक बन्ने हो भने नाम मात्रै हुन्छ काम भने कुनै हुन सक्दैन ।
० यातायात कार्यालय कोहलपुरमा स्थापना गर्न विगतदेखि कुरा चल्यो तर सफल हुन नसक्नुको कारण के हो ?
पहिलो कुरा, कोहलपुरमा पहुँच भएका नेताहरू नभएर हो । दोस्रो, हामीहरू जसरी लाग्नुपर्ने हो त्यसरी लागनौँ । लागेपछि हुन्छ भन्ने म एउटा उदाहरण दिन चाहन्छु । २०६४ सालमा म उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा मेरो नेतृत्वमा २०६५ सालमा सर्वदलीय सहमतिमा यातायात, नापी, मालपोतलगायतका कार्यालय यहाँ ल्याउनका लागि काठमाडौँ गयौँ । चारैतिर धाउँदा पनि हामीले केही गर्न सकेनौँ । यातायात मन्त्रीले नै त्यसका लागि तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नै लेखर दिनुपर्ने बताए । हामी प्रधानमन्त्रीलाई भेट्न गयौँ । उहाँले आफ्नो क्षेत्रबाट कार्यालय सार्न मान्नुभएन । बरु उहाँले पटके काट्ने युनिट र ट्रायल सेन्टर कोहलपुरमा सारिदिने वचन दिनभयो । त्यसपछि मात्र हामीले ६ महिनाको भाडा तिरेर पटके काट्ने अफिस र ट्रायल सेन्टर स्थापना गर्न सफल भएका थियौँ । फेरि अहिले पटके काट्ने अफिस त नेपालगन्ज नै सरेछ । अहिले फेरि यातायात कार्यालय स्थापनाको कुरा चल्दा पो मैले थाहा पाएँ । मेरो कार्याकाल सकियो तर, त्यतिखेर मलाई थाहा दिएनन् । सेन्टरका हिसाबले यातायत कार्यलय कोहलपुरमा हुनुपर्छ । यसका लागि सबैको सहकार्य आवश्यक छ ।
० हिजो नुहाउन मिल्ने डुडुवा खोला अहिले एकछिन बस्न नसक्ने अवस्था छ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
डुडुवा खोला व्यवस्थापनका लागि हिजो म उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा वनमन्त्री देव गुरुङलाई प्रस्ट रूपमा लेखेर बुझाएको थिएँ । त्यो व्यवस्थापन ठूलो समस्या नै होइन । किनभने मेैले प्रस्ट रूपमा आफ्नो भिजन दिएको छु । यस विषयमा सामाजिक सरोकार मञ्चमा बसेर पनि हामी निर्णय गर्दै छौँ । डुडुवा नदीको जग्गा नापी कार्यालयबाट छुट्याउने र नदीको जग्गामा बनेका संरचना भत्काउनुपर्छ । वर्षायाममा बढ्दा नदीले लिने रूप कति हो त्यसअनुसार तटबन्धन गर्ने र दुईतिर नहर बनाउन सकिन्छ । नदीमा तीन–चारवटा बोरिङ गाड्ने र वर्षायामको दुई महिना खोल्ने गर्नुपर्छ । नदी आसपासमा पर्यटकीय हिसाबले विकास गर्न सकिन्छ । एउटा तलाउ बनाएर डुंगा राखदिने र नजिकमा आकर्षक होटल निर्माण गरिदिने हो भने पर्यटक आकर्षित पनि गर्न सकिन्छ । यसले सरसफाइका साथै आर्थिक र रोजगारी पनि सिर्जना हुन्छ । यस विषयमा हामीले नगर प्रमुखको पनि ध्यानाकर्षण गराएका छौँ ।
० अहिले बजारहरू चलायमान भएनन् भन्ने छ । तपाईं उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष पनि भएकाले हाम्रो बजार चलायमान बनाउन र उपभोक्तालाई रूपैडिया जानबाट रोक्न के गर्नुपर्छ भन्ने लाग्छ ?
अहिले रूपैडियामा जाँदा परिचय खुल्ने कागत देखाएर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाएको रहेछ । अब नेपालले पनि त्यस्तो गरोस् । मैले हेर्दा जबसम्म नेपाल र भारतको नाका बन्द हँुदैन तबसम्म यो व्यवस्थापन हुँदैन । यसो भन्दा फेरि भारतको कोही आउँदैन भन्ने होइन । सिस्टमबाट मात्रै आउँछ । नाकाबाट ३ प्रकार जस्तै ः बिरामी, एलसी खोलेर सामान ल्याउन र पर्यटनबाहेक अरू जान नपाइने होस् । दुःख सुखमा सहयोग कोहलपुरका व्यापारीहरूबाट लिने अनि पैसा हुँदा बस चढेर रूपैडिया जाने काम उपभोक्ताले पनि गर्नु भएन । यसो हुनुका म दुई कारण देख्छु । एउटा सरकारी नीति र अर्को व्यापारीको पनि ग्राहकलाई कस्ने प्रवृत्ति । रूपैडियाको दरमा नभई यहाँका व्यापारीहरूले केही मात्रामा मात्रै नाफा खाएर दिए पनि बजार चलायमान हुन्छ । यसबारेमा एक जनाले मात्रै चाहेर हुने स्थिति छैन । सबैको साथबिना सम्भव छैन । त्यसैले एक पिस ल्याए पनि भन्सार तिर्ने व्यवस्था गरे राजस्व पनि बढ्छ मान्छेहरू पनि पारि जान कम हुन्छन् ।
० पालिकामा दर्ता हुने व्यापारीहरू घढ्नुको कारण के होला ? पालिकाले पनि सहजता ल्याउन केमा कमजोरी गरेजस्तो लाग्छ ?
व्यापारीहरूलाई कर दिने मूल थलो जस्तो मात्रै बनाइयो । कर तिर्ने वातवरण बनाउनुप¥योे । अहिले केही सुधार भएको छ । नत्र कर तिर्न जाँदा कर कार्यालयमा जरिवाना र्तिन गएजस्तो व्यवहार कर्मचारीले गर्नाले पनि यस्तो भएको हो । कर तिर्न जाँदा मुद्दा लागेको मान्छे आएजस्तो र अवैध, दण्ड तिर्न गएजस्तो गर्ने प्रवृत्ति भयो । व्यापारीबाट कर उठाउने हो भने साना ठूला सबैबाट उठाउनुप¥यो । कर कहाँ जान्छ ? केमा खर्च हुन्छ ? भनेर खुलाउनुप¥यो । व्यापारीहरूले खुसीसाथ तिर्ने वातवरण बनाउनुप¥यो ।
० तपाईं कोहलपुरको राजनीतिक, व्यवसायी र सरोकार मञ्चको संयोजक पनि भएकाले कोहलपुरमा स्वास्थ्यको अवस्था कस्तो देख्नुभएको छ ?
स्वास्थ्यको अवस्था जुन हिसाबले विकास हुनपर्ने हो त्यसरी हुन सकेको छैन । दशबिघा मेडिकल कलेज पनि अस्तव्यस्त छ । हामीले दसबिघा मेडिकल कलेजलाई गाली गर्ने भन्दा पनि सुधारन गर्नेतिर लाग्नुपर्छ । यसका लागि हामी मेडिकल कलेजसँग तीन पटक बसेर छलफल पनि गरेका छौँ । त्यहाँ भएका गल्ती, कमीकमजोरी सुधार गर्न लागे पक्कै सुधार हुन्छ ।
० पछिल्लो समय कोहलपुर मेडिकल कलेजप्रति जनविश्वास घट्नुको कारण के देख्नुहुन्छ ?
यसमा हस्पिटल प्रशासनको कमीकमजोरी देख्छु । स्थानीय हस्पिटलमा उपचार गर्न जाँदा ढिलासुस्ती भयो र चर्काे आवाज ग¥यो भने उसलाई रिफर गरिदिने प्रवृत्ति बढिरहेको छ । पहाड वा दूरदराजबाट आएको भए उपचार नहुने भए पनि राखिरहने प्रवृति देखियो । बिहान साँझ आफ्नो खाली टाइममा आफ्नो मेडिकल चलाउनुस् । केही भएन । तर, यहाँ त हस्पिटलमा दिउँसोको १ घण्टा खाजा समयमा पनि आधा घण्टा अघि निस्कने र आफ्नो मेडिकलमा काम गर्ने र आधा घण्टापछि अस्पताल जाने गरेको पाइयो । जसले सेवाग्राहीमा असर परेको छ । आफ्नो किलनिक्कमा राम्रो व्यवहार गर्ने तर मेडिकल कलेज आउँदा फरक व्यवहार गर्ने गुनासो आएपछि यस विषयमा सरोकार मञ्चले तीनपटक बसेर सुझाव, सल्लाह र समधानका उपायसमेत दिएको छ । र अर्काे, यहाँ नेताहरूको फोनका आधारमा धनीले छुट पाउने तर गरिबले छुट नपाउने कार्य भइरहेको पाइएको छ जुन तत्काल रोक्नु जरुरी छ । हामीले यस विषयमा अस्पतालको ध्यानाकर्षण पनि गराएका छौँ ।
नेपालमा पनि बेलाबेला भूकम्प आएर धनजनको ठूलो क्षति हुने गरेको छ ।
० काठमाडौं, बझाङ, बाजुरा गर्दै जाजरकोटमा भूकम्पले ठूलो क्षति ग¥यो । कोहलपुरमा पनि भोलि त्यस्तो अवस्था आउन सक्छ । यहाँका संरचनाहरूको अवस्था के देख्नुहुन्छ ?
पछिल्लो समय जारकोटमा भूकम्प आएर ठूलो क्षति भयो । धेरै धनजनको क्षति भयो । प्रायः घरहरू भत्किए । जुन अझै बन्न सकेका छैनन् । अस्थायी टहरा बनाएर उनीहरूको व्यवस्थापन हुँदै छ । त्यहाँ बनेका घर र संरचनाहरू मापढण्डअनुसार नबनेकाले नै धेरै क्षति भएको हो । मलाइ लाग्छ, त्यस्तो अवस्था आयो भने कोहलपुरमा पनि ठूलो क्षति हुने स्थिति छ । अब जाजरकोटमा जस्तै अवस्था त कोहलपुरमा नहोला । किनभने नगरपालिका घोषणा भएदेखि बनेका घर र संरचानाहरू इन्जिनियरिङ मापदण्डअनुसार बनेका छन् । तर अझै पूर्ण मापदण्डअनुसार बलिया संरचना बनाउनेतिर ध्यान दिनु जरुरी छ ।
० कोहलपुरमा रहेका विद्यालयहरू भूकम्पबाट के सुरक्षित छन् ?
कोहलपुरमा रहेका केही विद्यालयहरूका संरचना पुराना छन् । त्यसैले ती असुरक्षित देखिन्छन् । तर, अहिले स्थानीय, प्रदेश र संघसंस्थाहरूको सहयोगले केहीबाहेक प्रायः सबैको भौतिक संरचना निर्माण गरिएकाले केही सुरक्षित भएजस्तो लागेको छ ।
० कोहलपुरमा यस्ता विपद्बाट जोगिन कस्ता पूर्वतयारी आवश्यक देख्नुहुन्छ ?
पहिलो कुरा त सचेतना कार्यक्रमहरू चलाउनु आवश्यक छ । दोस्रो कुरा, खाली ठाउँहरू प्रसस्त हुनुपर्छ । ताकि भूकम्पलगायतका आपतविपद् पर्दा सजिलै खाली ठाउँमा बस्न सकियोस् । अहिले कोहलपुरमा नगर विकास समितिको जग्गाबाहेक अरू सबै खाली जग्गाहरू विभिन्न व्यक्तिले ओगटेर बसेका छन् । कमसेकम नगरभित्र १५ वटै वडामा नेपाल सरकारमातहत रहेका सार्वजनिक जग्गाहरू सम्बन्धित वडाले संरक्षण गरेर पार्क, कार्यालय स्थापना गरे आपत्विपद्मा बस्न सहज हुन्छ । यसतर्फ पनि ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्