17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

खजुरा प्रज्ञा प्रतिष्ठानले प्रतिभाको खोजी गर्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १३, २०८०  

नेपालगन्ज ।
बाँकेको खजुरा गाउँपालिकामा शनिबारदेखि बृहत् साहित्य कार्यक्रम आयोजना गरिने भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि साहित्य कार्यक्रमको आयोजना गर्न लागेको हो । खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. ईन्द्रबहादुर भण्डारीका अनुसार विभिन्न ७ विद्यामा ३ दिन कार्यक्रम आयोजना हुनेछ ।

जसमा गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला रहेको उपकुलपति डा.भण्डारीले जानकारी दिए । ‘माघ १३ र १४ गते ७ विद्यामा प्रतियोगिता गराइनेछ र १५ गते उत्कृष्ट र विद्यागत उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृृत गरिन्छ,’ डा. भण्डारीले भने, ‘योभन्दा पहिला केही विद्याहरूमा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । तर एकैपटक बृहत्रूपमा भने पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।’

कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उनले बताए । कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता लिन पाउने उनको भनाइ छ ।खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार खजुरा गाउँपालिकाभित्र रहेका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न बृहत् कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

उनले खजुरा गाउँपालिका साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको र यो कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने बताए ।
उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा प्रतिष्ठानले आयोजना गर्न लागेको हो ।

 

प्रकाशित मितिः शनिबार, माघ १३, २०८०     10:03:18 AM  |