4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

नगरपालिकाकै पहिलो विद्यालय बनाउने लक्ष्य छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १६, २०८०  

हाम्रा शिक्षकहरूको पढाउने जुन शैली छ त्यो अन्यत्रभन्दा फरक छ । अध्यापनमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका छौँ । हामी प्रोजेक्टरबाट अध्यापन गर्छौं । जुनिएर क्लासमा टिभीबाट र अन्यमा प्रोजेक्टरबाट पढाइ हुन्छ ।

अर्जुनप्रसाद तिवारी
प्रधानाध्यापक

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर, बर्दिया

विद्यालयमा शैक्षिक सुधारका लागि के कस्ता प्रयासहरू गरिरहनुभएको छ ?

म २०७३ सालबाट यस विद्यालयमा प्रधानाध्यापकका रूपमा नियुक्त भएँ । म आएपछि यहाँको भौतिक तथा शैक्षिक क्षेत्रमा निरन्तर सुधार गर्ने प्रयास भइरहेका छन् । हामीले विद्यालयमा एउटा सिस्टम बसाएका छौँ ।

शिक्षकहरू दैनिक लेसन प्लान बनाएर मात्र कक्षा कोठामा छिर्नुहुन्छ । परियोजना कार्य र बढीभन्दा बढी विद्यार्थीहरूको सहभागितालाई हामीले जोड दिएका छौँ । सामूहिक छलफल गरेर जान्ने र नजान्ने बिद्यार्थीबीच एकआपसमा अन्तरक्रिया गराउने काम गरिरहेका छौं ।

विद्यालयप्रति विद्यार्थीको आकर्षण कसरी गरिरहनुभएको ?

विद्यालयको तर्फबाट हामीले सक्नेजति गरिरहेका छौँ । हामीले अलि फरक शैलीमा विद्यार्थीलाई पढाउने र सिकाउने प्रयास गरिरहेका छौँ । म आफैँ पनि चाइल्ड साइकोलोजीमा अनुसन्धान गरिरहेका नाताले विद्यार्थीको मनोविज्ञान अनुसार उनीहरूलाई ट्रिट गर्ने प्रयास गर्छौं । सिकाइमा यो विधि निकै प्रभावकारी हुन्छ । विद्यार्थी आकर्षणका लागि खेलकुल गतिविधि हुने गरेका छन् । खेलकुदका क्षेत्रमा नगरपालिकामा नै हाम्रो विद्यालय विगत ५ वर्षदेखि प्रथम हुँदै आएको छ ।

र, विभिन्न प्रतिभा भएका विद्यार्थीहरूलाई हामीले अतिरिक्त क्रियाकलापमा पनि समेट्ने गरेका छौँ । जसका कारण विद्यार्थीहरूमा विद्यालयप्रति आकर्षण बढेको छ । अब यसमा धेरै फ्याक्टरले काम गरेको हुन्छ । हामी बस्ने समाजले पनि विद्यार्थीमा फरक पार्छ । सानो छँदा कस्तो वातावरणमा हुर्कियो ? कस्तो संस्कार दिइयो ? सकारात्मक कि नकारात्मक कुन रूपमा गाइड गरियो । घरपरिवार, छिमेक र समाजले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पार्दछ । ऊ कस्तो परिवार र संस्कारमा हुर्किंदै आएको छ भन्ने कुरा विद्यार्थीको क्रियाकलाप र बानी व्यवहारबाट थाहा पाउन सकिन्छ । त्यसैअनुसार अभिभावकसँग सहकार्य गरेर अगाडि बढेका छौं ।

अहिले विद्यालयमा विद्यार्थी, शिक्षक र कर्मचारीको संख्या कति छ ?

हाल यहाँ ११ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्या बढ्दो क्रममा छ । हामी शिक्षक, कर्मचारी २८ जना मात्रै छौँ । १२ कक्षासम्म पढाइ हुन्छ । विद्यार्थी अनुपातमा यो शिक्षक संख्या पर्याप्त होइन । बिहान पढाएको शिक्षकले नै दिउँसोमा पनि पढाउने गर्नुहुन्छ । व्यवस्थापन गरेर अध्यापन गराइरहेका छौँ ।

भौतिक संरचना अवस्था के छ ?

भौतिक रूपले जेनतेन धानिएको छ, विद्यालय । आर्थिक रूपमा सम्पन्नशाली छैनौँ हामी । विद्यालयलाई स्थानीय, प्रदेश र संघ सरकारको सहयोगको ठूलो खाँचो छ । किनभने ११ र १२ को अहिलेसम्म एउटा पनि दरबन्दी छैन ।

९ र १० मा पनि ४ वटा मात्रै दरबन्दी छ । जबकि ५ वटा हुनुपर्ने हो । सबै कक्षा यहाँ उपलब्ध शिक्षकहरूले नै धानिरहनुभएको छ । विद्यार्थीहरू पनि टाढाटाढा जगतिया, दमौली र बेलौलीलगायतका गाउँबाट आउने गरेका छन् । त्यसैगरी भौतिक संरचनाकै अभावमा हामीले बिहानी र दिउँसो गरेर दुई सिफ्ट कक्षा चलाउनुपरेको छ ।

यहाँ टाढटाढाबाट विद्यार्थी अध्ययन गर्न आउनुको कारण के ?

हाम्रा शिक्षकहरूको पढाउने जुन शैली छ त्यो अन्यत्रभन्दा फरक छ । अध्यापनमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका छौँ । हामी प्रोजेक्टरबाट अध्यापन गर्छौं । जुनिएर क्लासमा टिभीबाट र अन्यमा प्रोजेक्टरबाट पढाइ हुन्छ । त्यस्तै हामी विद्यार्थीको मनोविज्ञान बुझेर त्यही अनुसार पढाउँछौँ ।

कक्षा १२ को रिजल्ट बर्दिया जिल्लामै हाम्रो स्कुलको राम्रो छ । शिक्षकहरूले विद्यार्थीलाई गर्ने व्यवहार, विद्यालय प्रशासनले उनीहरूलाई गर्ने सहयोग आदि कारणले नै विद्यार्थीमा आकर्षण बढ्ने हो । हामीले अभिभावक र विद्यार्थीको विश्वास जित्न सकेकैले विद्यार्थी संख्या निरन्तर बढिरहेको छ ।

प्रविधिको प्रयोगका लागि सबै शिक्षकहरू सक्षम हुनुहुन्छ त ?

सुरुसुरुमा केही कठिनाइ पनि थियो । शिक्षकहरूले पनि पहिला गाह्रो मान्नुभएको थियो । अहिले सबै शिक्षकहरू प्रविधिमा अध्यस्त भइसक्नुभएको छ । सहजै पढाउन सक्नुहुन्छ । नयाँ आउने शिक्षक जुन प्रविधिमा पोख्त हुनुहुन्न उहाँहरूलाई तालिम पनि दिने व्यवस्था मिलाएका छौँ ।

अहिले विद्यालयको सिकाइ उपलब्धि कस्तो छ ?

म आउँदा विद्यालयको समग्र सिकाइ उपलब्धि ५४ प्रतिशत थियो । म आएबाट अहिले ७४ प्रतिशत पुगेको छ । २० प्रतिशत वृद्धि गर्न हामी सफल भएका छौँ । यद्यपि हामी यो उपलब्धिमै सन्तुष्ट चाहिँ छैनौँ । क्रमिक रूपमा बढाउँदै पनि लगेका छौँ । खस्किन दिएका छैनौँ ।

विद्यालय, समुदाय र अभिभावक त्रिपक्षीय व्यवस्थापनको पाटो कत्तिको सहज अथाव गाह्रो छ ?

जसले पक्षपाती आँखाले हेर्छन्, त्यस्ता अभिभावकले जति गरे पनि केही न केही खोट निकालिहाल्छन् । त्यस्ता अभिभावकहरूबाट यदाकदा ‘विद्यालयले के गरेको छ र ?’ भन्ने गरेको पनि सुनिने गरेको छ । त्योबाहेकका अधिकांश अभिभावकहरू यहाँ बच्चा पठाएर ढुक्क हुनुहुन्छ ।

विद्यालयमा भइरहेको शैक्षिक, भौतिकलगायतका सुधारप्रति जानकार हुनुहुन्छ । करिब ९८ प्रतिशत अभिभावको बुझाइ विद्यालयप्रति सकारात्मक भएको पाएका छौँ । मैले जिम्मेवारी लिएको ६–७ वर्षको अवधिमा मेरो बच्चालाई किन पिटियो ? किन शिक्षकद्वारा गलत व्यवहार गरियो ? भन्ने जस्ता एउटै गुनासा आएका छैनन् ।

अहिले कुलतको सुरुवात विद्यालय तहबाटै बढी हुने गरेको पाइन्छ । उपल्ला कक्षाका विद्यार्थीहरू कुलतमा फस्ने समस्या देखिने गरेको छ । यहाँको विद्यालयमा यो समस्या कस्तो छ ?

छँदै छैन म भन्न सक्दिनँ । यदाकदा यस्ता समस्या पनि देखिने गरेका छन् । विद्यालयमा भन्दा पनि बाहिरबाट यस्तो कुरा सुनिन्छ । यसका लागि पनि हामीले मनोवैज्ञानिक विधि अपनाउने गरेका छौँ । विद्यालयमा हामीले चाइल्ड क्लब बनाएका छौँ । प्रत्येक कक्षाको प्रतिनिधित्व हुने गरेर क्लब बनेको छ । यदि कक्षामा कसैमाथि शंका भयो भने त्यो विद्यार्थीले विद्यालय प्रशासनमा जानकारी गराउँछ ।

हामीले निगरानी बढाउँछौँ । निगरानीका क्रममा उसको पहिचान हुन्छ । त्यस्ता विद्यार्थी कक्षामा सधैँ टोलाउने, कम बोल्ने र रेगुलर स्कुल उपस्थित नहुने गरेको पाइन्छ । पहिचान गरे पनि हामी विद्यार्थीलाई सोझै केही पनि भन्दैनौँ । अभिभावकलाई बोलाएर छलफल गर्छौं । उसको कुलतबारे अरूलाई थाहा छ भन्ने भान पर्न दिँदैनौँ । अरूले थाहा नपाउँदै सुध्रिनुपर्छ भनेर सम्झ्यो भने बढी प्रभावकारी हुन्छ । भरखरभरखर त्यस्तो कुलतमा लागेकाहरू सुध्रिने सम्भावना पनि बढी हुन्छ । यसरी हामीले सुधारेका घटना पनि छन् । पटक–पटक काउन्सिलिङ गरे ८० प्रतिशत सफल पनि भइन्छ ।

यसका अलावा अरू समस्या पनि छन् । करिब ३ प्रतिशत विद्यार्थी समाज, परिवार र अन्य विविध कारणले डिप्रेसनमा परेका छन् । त्यस्ता विद्यार्थी पढ्छन्, लेख्छन्, कक्षामा बस्छन् तर पढाएको कुरा बुझ्दैनन् । उनीहरू विद्यालयका सबै नियममा बस्छन् । तर, समस्या र तनावमा हुन्छन् । यस्ता समस्याका लागि पनि हामीले काउन्सिलिङ गर्ने गरेका छौँ । दुई जना शिक्षकले यस विषयमा तालिम लिएर पनि आउनुभएको
छ । म आफैँ पनि यस क्षेत्रमा एक्स्पर्टका रूपमा काम गरिरहेको छु ।

विद्यालयप्रति अभिभावकहरूको भूमिका कस्तो पाउनुभएको छ ?

हाम्रा अभिभावकमध्ये करिब ७० प्रतिशत अभिभावक दैनिक रूपमा काम नगरे छाक टार्न गाह्रो हुने अवस्थाका छन् । काम नगरे घरपरिवार धान्न गाह्रो छ । कसैका बाबा, आमा विदेशमा त कसैका कालापहाड छन् । त्यस्ता अभिभावक र विद्यालयबीच प्रत्यक्ष भेट हुँदैन । फेरि अभिभावक र विद्यार्थीहरूका इच्छाहरू पनि मिल्दैनन् । अभिभावक आफ्नो इच्छा बच्चामा लाद्न खोज्छन् ।

अनि ‘भनेको मान्दैन सर सम्झाउनुप¥यो’ भन्ने अभिभावहरूको संख्या धेरै छ । अभिभावकले कलमकापी किनेर बच्चालाई विद्यालय पठाउँदैमा दायित्व पूरा हुँदैन । त्यति गरिदिँदैमा बच्चाले पढ्ने पनि होइन । उसलाई त पढ्ने वातावरण अभिभावकले बनाइदिनुपर्छ । अभिभावकले आफ्नो बच्चासँग साथीजस्तै बनेर सँगसँगै बसेर उसलाई पढ्न प्रेरित हुनेखालका गतिविधि गरिदिनुपर्छ । यस्तो वातावरण धेरै विद्यार्थीको घरमा छैन । समस्या यही हो ।

तपाईं प्रधानाध्यापक रहिरहँदा आगामी दिनमा विद्यालयलाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

२०७५ सालमा हामीले पञ्चवर्षीय योजना बनाएका थियौँ । जुन योजनाअन्तर्गत हामी अहिले चलिरहेका छौँ । यो योजना अनुसार हामीले विद्यालयमा साढे १३ सय विद्यार्थी पु¥याउने लक्ष्य लिएका थियौँ । जसमा साढे ११ सय विद्यार्थी संख्या पु¥याउन सफल भएका छौँ । भौतिक निर्माणदेखि नयाँ शिक्षक थप्ने सबै कुराहरूमा पूर्ण नभए पनि क्रमिक सफलता हासिल गरेका छौँ ।

अब यसै वर्ष नयाँ पञ्चवर्षीय योजना बनाउँछौँ । अबको हाम्रो भिजन भनेको सबैभन्दा बढी शैक्षिक उपलब्धि हासिल गर्ने हो । शैक्षिक, आर्थिक, भौतिक र खेलका क्षेत्रमा कम्तीमा नगरपालिकाकै पहिलो विद्यालय बनाउने मेरो लक्ष्य छ । २०९० सालसम्म म यहीँ रहँुला या नरहुँला तर एउटा भिजन दिएपछि भोलि आउने प्रअलाई पनि अवश्य सहज हुनेछ ।

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०८०     12:12:32 PM  |