नेपालगन्ज ।
आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने नवौँ धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । यसवर्ष म्याराथनको नगद पुरस्कार राशिमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्यान्ड्सले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । स्याराथनमा नगद पुरस्कारसम्बन्धी विस्तृत जानकारी चाँडै जानकारी गराइने आयोजकले जनाएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्वको विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३)को स्मरणमा ९ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।
क्रियटिभ ह्यान्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौँ धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरिएको छ ।
नेपालगन्ज म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेश(एम्स) बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३औँ सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा छ । एम्सबाट ४२. १९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरी विभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग–अलग स्पर्धा गराई पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग दौड (५ किमी) सञ्चालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्