हामीलाई आशा छ, पक्कै पनि निकुञ्जले ऐलानी जग्गामा बसेकाहरूलाई जग्गा उपलब्ध गराउने कुरामा कुनै बाधाअड्चन गर्नेछैन । यहाँ बसोबास गर्ने गरिब जनता नै हुन् । उनीहरूले यहाँ बसेर आफ्नो दुःख गुजारा गर्दै आएका छन् । त्यसैले उनीहरूले जग्गा पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
डम्बर खड्का । अध्यक्ष, वडा नम्बर १३
कोहलपुर नगरपालिका
१. यहाँको वडा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्दछ । यहाँ बाघले स्थानीयलाई बेलाबेला दुःख दिने गरेका घटना सुनिन्छ । अर्कातिर पर्यटन प्रवद्र्धन तथा लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि राज्यले बाघ संरक्षणमा जोड दिइरहेको छ । यसलाई कसरी सन्तुलन मिलाएर लैजान सकिन्छ ?
कोहलपुर नगरपालिकाका २, १२ र १३ वडा बाँके राष्ट्रिय निकुञ्जभित्र पर्दछन् । २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । यो निकुञ्ज बाघको राम्रो बासस्थान मानिन्छ । तर यहाँ मानव बसोबास पनि रहेकाले बाघका कारण मानव बसोबास क्षेत्रमा धेरै समस्या उत्पन्न पनि हुने गरेका छन् ।
त्यतिमात्र नभएर अन्य जंगली जनावरले पनि यहाँका जनताले लगाएका बालीनालीमा क्षति पु¥याउने गरेका छन् । बाघले पशुचौपाया मारिदिने गरेका छन् । आजभन्दा ३ वर्षअघि कोहलपुर–१३, खड्कवारमा बाघको आक्रमणबाट एक बूढीआमाको मृत्यु भएको थियो ।
२. यहाँका बासिन्दाका यी समस्या त पहिल्यैदेखि रहेका समस्या हुन् । तर यहाँ आरक्ष स्थापना भएपछि यहाँका बासिन्दालाई थप के समस्या झेल्नुपरेको छ ?
हामी वडा नम्बर १३ लगायत निकुञ्ज क्षेत्रमा बस्नेहरूका धेरै समस्या छन् । वन्यजन्तुको आक्रमण त छँदै छ, निकुञ्ज बनिसकेपछि यहाँ प्रवेशमा पनि अप्ठ्यारो भएको छ । राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका जनतालाई गर्नुपर्ने सहयोग कमै मात्र गरिरहेको छ ।
जस्तै हाम्रा पशुचौपायालाई कुनै जंगली जनावरले मारेमा भएको क्षतिको २५/३० प्रतिशत मात्र क्षतिपूर्ति दिइने गरेको छ ।
३. यस क्षेत्रका बासिन्दाको माग के छ त ? राष्ट्रिय निकुञ्जले, नगरपालिकाले वा सरकारले के गरिदेओस् भन्ने छ ?
सबैभन्दा पहिला त यहाँ घेराबार भइदिएको भए यहाँका जनतालाई केही राहत हुने थियो । अर्कोतिर वन्यजन्तुले पु¥याएको क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाए पनि जनतालाई ठूलो राहत मिल्ने थियो ।
४. अर्कोतिर यहाँ स्कुल आउजाउ गर्ने बालबालिकालाई निकै समस्या पर्ने गरेको देखिन्छ । उनीहरूलाई कसरी सुरक्षा प्रदान गरिरहनुभएको छ ?
कोहलपुर–१३ को कुरा गर्दा यो क्षेत्रलाई देख्दा कर्णाली प्रदेशको कुनै विकट भूभागको झल्को आउँछ । यो वडामा तीनओटा टोलहरू छन्– खड्कवार, भरैया र सिम्र्री । यीमध्ये पनि भरैया अझ बिकट छ । पहाडबाट बगेर आएका गेरुवा र रोहिणी नाला यसै क्षेत्रमा पर्छन् ।
बर्खाको समयमा बालबालिका मात्र होइन, सुत्केरी महिला र वृद्धवृद्धाहरूलाई अस्पतालसम्म लैजान पनि गाह्रो छ । अति नै संवेदनशील अवस्था छ । अहिले भर्खरै हामीले भरैया जाने बाटोको रोहिणी खोलामा एउटा पक्की मोटरेबल पुलको डिपिआर तयार गरेका छौँ । यसले यहाँका जनतामा थोरै भए पनि आशा जागेको छ ।
५. यो क्षेत्रमा ऐलानी तथा पर्ती जग्गामा बाक्लो बसोबास रहेको पाइन्छ । यस्ता जग्गामा बसोबास गर्ने जनताले निकुञ्जबाट पाउने क्षतिपूर्ति नपाउने गरेको गुनासो सुनिन्छ । यसलाई कसरी सम्बोधन गर्ने प्रयास गर्नुभएको छ ?
हो, हामीले वर्षौं (२५÷३० वर्ष)देखि भोगचलन गर्दै आएको नम्बरीसँग सटेको जग्गालाई निकुञ्जले ध्यान दिएको छैन ।
ऐलानी जग्गालाई निकुञ्जले आफ्नै कोर एरिया ठान्छ या यो बसोबासलाई मान्यता नदिन खोजेको हो थाहा छैन । यहाँ २५/३० वर्षदेखि किसानहरूले जोतभोग गरेका छन् ।
घरटहरा बनाएर बसेका छन् । तर हामी निर्वाचित भएर आएपछि वडामा यस्ता जग्गाहरूलाई क्रमिक रूपमा नापजाँच गरिरहेका छौँ । आगामी दुई वर्षभित्रै यहाँका जनतालाई लालपूर्जा उपलब्ध गराउने प्रयासमा हामी छौँ ।
६. के लालपूर्जा पाउने अवस्था छ त ?
पक्कै पनि छ । यो बस्ती आजको बस्ती होइन । करिब ३ दशकअघिदेखिको बस्तीका बासिन्दालाई सरकारले लालपूर्जा नदिएर हुँदैन ।
७. निकुञ्जभित्र भएको जग्गालाई तपाईंहरूले मात्र भनेर नहोला नि ! राष्ट्रिय निकुञ्ज वा सरकारको भनाइ के छ नि ?
निकुञ्ज वा सरकारबाट अहिले त्यस्तो केही नयाँ सूचना आएको छैन । १० वर्षदेखि भोगचलन गरेको जमिनमा बसोबास गरेका सुकुम्बासी तथा भूमिहीनलाई जग्गा उपलब्ध गराउनुपर्छ भनेर नगरपालिकाले भनेको छ ।
वडाले पनि भर्खरै यसको लगत संकलन गरिरहेका छौँ । २०७६/७७ सालतिर पनि हामीले फारम भरेका थियौँ । त्यतिखेर फारम भरेका र भर्न छुटेका सबैलाई यही असोज ७ गतेदेखि फेरि फारम भर्न सुरु गरेका छौँ ।
हामीलाई आशा छ पक्कै पनि निकुञ्जले त्यसमा बाधाअड्चन गर्नेछैन । यहाँ बसोबास गर्ने गरिब जनता नै हुन् । उनीहरूले यहाँ बसेर आफ्नो दुःख गुजारा गर्दै आएका छन् । त्यसैले उनीहरूले जग्गा पाउनुपर्छ भन्ने हाम्रो भनाइ छ ।
८. त्यहाँका जनतालाई विभिन्न गैरसरकारी संस्था वा निकुञ्जले आयआर्जन, रोजगारीलगायतका विषयमा कुनै कार्यक्रम गरेका छन् कि छैनन् ?
केही गैरसरकारी संस्थाले त पशुपालनसम्बन्धी केही कार्यक्रम कहिलेकाहीँ सञ्चालन गर्ने गरेका छन् । तर निकुञ्जले अहिलेसम्म त्यस्ता कार्यक्रम गरेको जानकारी छैन । यो पर्यटन क्षेत्र पनि भएको हुनाले यहाँ होमस्टे पनि सञ्चालनमा आएका छन् ।
९. पर्यटन क्षेत्र भन्नुभयो, भर्खरै मात्र विश्व पर्यटन दिवस पनि सकिएको छ । यो अवसरमा तपाईंले आफ्नो वडामा कुनै विशेष कार्यक्रम ल्याउनुभएको छ त ?
पर्यटनका लागि सम्भावना भए पनि यहाँ अहिलेसम्म केही हुन सकेको छैन । यो वडाको खड्कवार भन्ने ठाउँमा हात्ती सवारीका लागि ठाउँ छ ।
होमस्टे त भइहाले । पिकनिक जानका लागि पिकनिक स्पटहरू छन् । तिनलाई व्यवस्थित गर्नु जरुरी छ ।
१०. यो ठाउँमा पर्यटन विकासका लागि अरू के–के सम्भाव्यता देख्नुभएको छ ?
चालु आव २०८०÷०८१ मा मैले एउटा यहाँको रानीघाट सामुदायिक वनका लागि केही रकम छुट्याएको छु । वडामा त के बजेट हुन्छ र !
तीनवटा टोलमा छर्दाछर्दै सकिन्छ । तै पनि मैले रानीघाटमा पर्यटनका लागि खर्च गर्ने भनेर २/४ लाख बजेट छुट्याएको छु ।
११. यो बजेट पर्यटनसम्बन्धी के कामका लागि खर्च हुन्छ त ?
प्रपोजल त अझै केही दिएका छैनन् । तर हामीले त्यहाँ पर्यटक भित्र्याउने खालका केही काम गर्ने सोच बनाएका छौँ । हात्तीसार छ ।
त्यहाँ नजिकै तालहरू छन् । गर्मी समयमा होमस्टेमा आउने पाहुनाहरूलाई नुहाउनका लागि ती ताललाई संरक्षण गर्न सकिन्छ ।
१२. तपाईं उम्मेदवार बनिरहँदा यहाँका बासिन्दाको अपेक्षा के थियो र अहिलेसम्म उनीहरूका अपेक्षाअनुरूप तपाईंले के काम गर्नुभएको छ ?
मप्रति यहाँका जनताले ठूलो आशा गरेका छन् । म उहाँहरूले मप्रति राखेको आशालाई निराशामा परिणत हुन पक्कै दिनेछैन । म निर्वाचित भएपछि कोहलपुर–१३ मा थुप्रै काम भएका छन् । म आएपछि यहाँ २८ वटा नयाँ काम भएका छन् ।
जंगली जनावरबाट बच्नका लागि तारबार गर्ने काम भएको छ । त्यसैगरी, तटबन्ध निर्माण, पक्की नाली निर्माण, सडक ग्राभिल, विद्यालय सुधारका काम, विद्युतीकरण, बाटाघाटा स्रोन्नतिलगायतका थुप्रै काम भएका छन् । यस वर्षको बजेटमा पनि यहाँ थुप्रै योजना पारिएको छ ।
१३. यो क्षेत्र कृषि उत्पादनका लागि पनि राम्रो क्षेत्रका रूपमा परिचित छ । यहाँका कृषकलाई कृषि उत्पादनमा नगरपालिकासँग कसरी जोड्नुभएको छ ?
हो, यो क्षेत्र कृषि उत्पादका हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो । त्यति मात्र होइन पशुपालन पनि यहाँ धेरै हुने गर्छ ।
यहाँ बेमौसमी तरकारीहरू फलाउने गरिन्छ । कृषिमा वडाको तर्फबाट त त्यस्तो केही योजना छैन । तर नगरपालिकाको तर्फबाट मल, बिउबिजनलगायत कृषि उपकरण तथा औजार वितरण गर्ने काम भएको छ ।
१४. अहिले प्रत्येक गाउँ, वडा र पालिकाहरूमा देखिएको प्रमुख समस्या हो, लागूऔषध दुव्र्यसनी । नवयुवाहरू लागूऔषधको दुव्र्यसनी फस्नेक्रम बढ्दै गएको पाइन्छ । यहाँको वडामा त्यसको अवस्था के छ ?
यो समस्या कुनै एक नगरपालिका, वडाभन्दा पनि देशैभरिको साझा समस्या हो । त्यसबाट हाम्रो वडा पनि अछूतो छैन । सूचना पाएसम्म हामीले वडाभित्र त्यस्ता व्यक्तिलाई सम्झाइबुझाइ पनि गर्ने गरेका छौँ ।
तुलनात्मक रूपमा कोहलपुरका अरू वडाभन्दा हाम्रो वडामा यस्तो संख्या कम नै छ जस्तो मलाई लाग्छ ।
१५. कम हुन त राम्रो हो तर यस्तो अवस्थामा युवाहरूलाई फस्नै नदिनका लागि केही कार्यक्रम वा योजना बनाउनुभएको छ ?
हाम्रो १३ वडामा १३ वटै टोल समिति छन् । ती समितिका अध्यक्षहरूलाई यस्तो दुव्यसनीमा फसेका व्यक्तिको निगरानी राख्न र वडामा खबर गर्न निर्देशन गरेका छौँ ।
सुरुमा हामी उनीहरूलाई अभिभावकसहित सम्झाइबुझाइ गर्छौं । त्यति गर्दा पनि सुध्रिएनन् भने उनीहरूलाई कानुनको दायरामा ल्याउने चेतावनी दिन्छौँ ।
प्रतिक्रिया दिनुहोस्