8 September 2024  |   आइतवार, भदौ २३, २०८१

युवतीहरूको ‘ग्याङ फाइट’बारे नयाँ तथ्य– सँगै आए, सँगै गए, कुटिनेले घरमा भनेनन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ८, २०८०  

सुनसरीको बराहक्षेत्र नगरपालिका– १० स्थित सप्तकोशी नदी किनारमा युवतीहरूबीच भएको ‘ग्याङ फाइट’बारे नयाँ तथ्य बाहिर आएको छ ।

पिकनिक खान गएका उनीहरूबीच विवाद हुँदा एक समूहले अर्काे समूहलाई कुटेको प्रहरीको अनुसन्धान बाट खुलेको हो । ‘८ जना नै छिमेकी रहेछन्, मिलेर पिकनिक खान आएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी प्रभु ढकालले भने, ‘पिकनिक खाइसकेपछि झगडा हुँदा ५ जनाले ३ जनालाई कुटेका रहेछन् ।’

कुटपिटमा संलग्न पाँचैजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका– १० भुजेल टोलकी १९ वर्षिया प्रीति लिम्बू, बराहक्षेत्र– ८ सैनिक टोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षिया विनिता उराव, बराहक्षेत्र– ९ की १९ वर्षीया सञ्जिता राई र निहाङ राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

‘ग्याङ फाइटपछि सबै मिलेर घर गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘एक स्थानीयले भिडियो खिचेर सामाजिक सञ्जाल फेसबूकमा हालेपछि परिवारका सदस्यले थाहा पाएर जाहेरी परेको हो ।’

कुटाइ खाने युवतीहरूले घर गएर कुटपिटबारे कुनै जानकारी नगराएको प्रहरीले जनाएको छ ।

२९ गते शुक्रवार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलको सप्तकोशी नदी किनारमा युवतीहरूले ‘ग्याङफाइट’ गरेका थिए । उनीहरूले मादक पदार्थ सेवन गरेको समेत खुलेको छ । प्रहरीका अनुसार उनीहरूले निगार खाएका थिए ।

ब्वाइ फ्रेन्डको पोल खोलिदिएको विषयमा झगडा भएको भनिए पनि अहिलेसम्म पक्राउ परेकाले बयानमा नखुलाएको एसपी ढकालले बताए ।

‘सामाजिक सजाल पोस्ट गरेको भिडियोमा किन भनिस् भनेर कुटपिट गरेको देखिन्छ । ‘ब्वाइफ्रेन्ड’कै विषयमा झगडा भएको हुन सक्छ,’ ढकालले भने, ‘मादक पदार्थ सेवन गरेर झगडा भएको खुलेको छ । सबै पक्राउ परेका छन्, अब खुल्दै जाला नि !’

शुक्रवार साँझ करीब साढे ५ बजेतिर बराहक्षेत्र– ८ की १९ वर्षीया मनिषा राई तथा १७ वर्षिया र १६ वर्षिया अर्की युवतीमाथि ५ जनाले निर्घात कुटपिट गरेको भिडियोमा देखिएको छ ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, साउन ८, २०८०     2:17:35 PM  |