नरैनापुरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री



बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर १ रहेको एक विद्यालय र तीन मदरसामा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक, झोला र शैक्षिक सामग्रीहरू वितरण गरिएको छ । श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँसहित अन्य तीन मदरसामा अध्ययनरत विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको हो ।


मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्रीहरू वितरण गरिएको लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले जानकारी दिइन् ।

उनका अनुसार एक विद्यालय र तीन मदरसामा अध्ययनरत चार सय ५० बढी विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्रीहरू दिइएको थियो । ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरिएको हो,’ उनले भनिन्, ‘चार सय ५० भन्दा बढी विद्यार्थीहरूलाई पोसाक, झोला र शैक्षिक सामग्री दिएका छौं ।’

लुम्बिनी प्रदेश सांसद नमुनाका अनुसार विद्यार्थीलाई एक जोड स्कुल पोसाक, एउटा झोला, कापी, कलमलगायतका सामग्रीहरू सहयोग गरिएको छ ।
पोसाकलगायतका शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू नियमित विद्यालय आउनुका साथै शैक्षिक गुणस्तरमा समेत विकास हुने अपेक्षा राखिएको उनले बताइन् ।

‘बाँकेकै विकटमा रहेको यहाँ अभिभावकको आर्थिक स्थिति राम्रो नहुँदा छोराछोरीलाई विद्यालय पठाउन सक्दैनन् । पठाए पनि उनीहरू नियमित स्कुल जाँदैनन्,’ लुम्बिनी प्रदेश सांसद नमुनाले भनिन्, ‘बालबालिकाहरू नियमित विद्यालय आउलान् र राम्रोसँग पढ्लान् भनेर पोसाकसहितका शैक्षिक सामानहरू बाँडेका हौं ।’

लुम्बिनी प्रदेश सरकारले निःशुल्करूपमा दिएका पोसाकसहितका शैक्षिक सामग्रीहरूको दुरूपयोग हुन नदिन विद्यालयका शिक्षकहरूलाई उनले आग्रह गरिन् ।
‘प्रदेश सरकारले राम्रो उद्देश्य राखेर विद्यार्थीहरूलाई दिएका शैक्षिक सामग्रीहरूको सदुपयोग गर्नुपर्छ । यसका लागि अभिभावकसँगै शिक्षकको समेत भूमिका हुन्छ,’ सांसद नमुनाले भनिन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले चार सय ५० बढी विद्यार्थीको लागि पोसाकसहित शैक्षिक सामग्री वितरणको लागि बजेट व्यवस्था गरिदिएकोमा सांसद नमुनालाई धन्यवाद व्यक्त गरे ।

‘प्रदेश सांसद नमुनाले यहाँको शैक्षिक अवस्था माथि उकास्नको लागि पहिलादेखि नै लागिरहनुभएको छ,’ उनले भने, ‘अहिले पनी प्रदेश सरकारबाट बजेट पार्नको लागि भूमिका खेल्नुभएकोमा धन्यवाद दिन चाहान्छुँ ।’

नरैनापुरको शैक्षिक सुधारका लागि गाउँपालिका लागिपरेको बताउँदै प्रदेश र संघ सरकारले समेत सहयोग गर्नुपर्ने अध्यक्ष शाहले बताए । विद्यार्थीहरूलाई पोसाक, झोला र शैक्षिक सामग्रीहरू वितरण कार्यक्रममा वडाध्यक्ष इसाक जोलाह, अभिभावक, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार