21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

सन्दर्भ मातातीर्थ औँसी : सन्तानप्रति आमाको माया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ६, २०८०  

आमा शब्दलाई लिएर कैयौं कविता लेखिए होलान् । कथा, उपन्यास, निबन्ध, संस्मरण आदिका शीर्षकमै आमा राखिएका धेरै लेख पढेका छू मैले । तर आमा नै यस्ती हुन्, जसको व्याख्या सधैं अपूर्ण हुन्छ । त्यत्ति महान् र विशाल छिन् उनी । आमा शब्दलाई एकातिर र अर्कोतिर बाँकी सबै शब्दलाई मात्र होइन पूरा ब्रह्माण्डलाई राख्दा पनि त्यो समतुल्य हुन सक्दैन । ‘अरूको लाख, आमाको काखु उखान त्यसै बनेको पक्कै होइन होला ।आमाको गरिमा आमा शब्दले प्रेमिल र भावुक नबन्ने सायदै जीवात्मा छैन । संस्कृति मा एउटा भनाई छ नी ‘उपाध्यायान्दशा आचार्य आचार्याणां शतं पिता। सहस्त्रंतु पितृ माता गौरवेणा तिरिच्यते’
अर्थात ठूलोमा दश उपाध्यायहरू भन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन् । भनेर हाम्रा धर्मशास्त्रहरूले भन्दै र मान्दै आएका छन् ।

सर्वप्रथम ‘आमा’ शब्दको छोटो परिचय दिनु पनि असान्दर्भिक हुने छैन । ‘आमा’ भन्ने वित्तिकै आमाको अर्थ नबुझ्ने नेपाली पाउन गाह्रो छ। तर पनि ‘आमा’ लाई संस्कृत भाषामा ‘माता’ भने जस्तै हाम्रा नेपाली विभिन्न भाषाभाषीले फरक फरक नाम नामेसीबाट पहिचान पनि गर्दछन्। तथापी ‘आमा’ भनेपछि हामी नेपालीको साझा सर्म्पर्क भाषा नै नेपाली भएकोले ‘आमा’ शब्द नबुझ्ने नेपाली छंदै छैनन् भन्न सकिन्छ । ‘आमा’ भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ ।
आमाको विषयमा लेख्नु पनि सजिलो छैन। ‘आमा’ शव्दले संसार भरिकै आमाको कुरा आउँछ र आमाको गरिमामा यो संसार ज्यादै विशाल एवं विस्तृत छ । आमाको कार्य क्षेत्र जति विशाल र विस्तृत छ। त्यति नै महत्वपूर्ण र त्यति नै उच्च छ । वास्तविक भन्ने हो भने आमा सगरमाथा भन्दा अग्लि छन् । पृथ्वीभन्दा महान र विशाल छन् तर त्यस्तै ढुंगा माटो जस्तै कठिन तथा कठोर छैनन् ।

समुन्द्र भन्दा गहिरी छन् । तर न भेटिने हैनन्। आमा इश्वरकी पनि आमा हुन् । आमा मायाको पोको हुन्। हृदयकी खानी हुन् । धैर्यताकी प्रतिमूर्ति हुन् । सहनशीलताकी पनि खानी हुन् । आमाको महिमा जति गाए पनि पुग्दैन किनभने आमाको उपमा नै छैन । आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन। माता तीर्थ औँसी ।
संसारमा आमासँगै बस्न पाउनुजत्तिको खुसी र भाग्यमानी अरू केही पनि हुँदैन । मेरा लागि भने आजका दिनसम्म भगवान् त देखेको छैन तर आमासँगै बस्ने सौभाग्यचाहिँ पाइरहेको छु ।
संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।

तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन् । सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरछिन् माया सबैले गर्दछन् तर निस्वार्थ माया कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ । गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ । ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तान रिएको एउटा आवाज ले भुलिदिन्छिन् । हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ ।
आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान् ।
एक जना फ्रान्सका राष्ट्रपतिले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु ।
संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जो आमाभन्दा असल होस् । जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन् ।
सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस् । सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ ।
तिम्रो सफलतामा कोही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ तिम्रो आमा नै हुन्छिन् । आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि नै हरेक पीडाको सारथी हुन् सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने पनि आमा नै हुन् ।

संसारका हरेक दुःख, कष्ट झेलेर पनि आफ्ना सन्तानका लागि लडिरहने क्षमता केवल आमामा मात्र हुन्छ । आमा महान् छिन् । त्यसैले आमाको सर्वत्र चर्चा गरिन्छ ।
सन्तानको क्रन्दनमा रुँदा रुँदा सायद एक आमाको आँसु नदी जत्तिकै भिमकाय हुन्छ होला । सन्तानकै बारेमा सोचेर सायद उनका पीडाहरूले गगनचुम्बी पहाडभन्दा बडेमानका ढिस्काहरू बनाउँछन् होला। एक आमाले सन्तानको पीडामा बगाएको आँसु देखिन्थ्यो भने, सायद आठौं महासागर आमा कै नामबाट बन्थ्यो होला ।

सन्तानका लागि एक आमाले पाएका पीडालाई संगाल्ने हो भने सबैभन्दा अग्लो हिमालको नाम आमाकै नामबाट हुन्थ्यो होला १ सन्तान हुर्काउँदा यति पीडा सहन्छिन्, यति आँसु पिउँछिन् तर त्यसको वहिखाता आमाले कहिल्यै पनि राख्दिनन् । किन कि आमालाई त आफ्नो सन्तानलाई माया गर्न मात्र आउँछ ।
आमालाई कखरा त्यति राम्रो आउँदैन तर पनि सबथोक जान्दछिन । सन्तानलाई परेको चिन्ता ।

आफ्नो सन्तानलाई परेको पीडा। आमाले मेरा हरेक भावानाहरू मज्जाले पढ्न सक्छिन् । मलाई के चाहिएको छ, त्यो आमालाई प्रष्ट थाहा हुन्छ । मेरा चाहनाहरूको लागि मात्र उनले राप र ताप सहेकी छिन् ।
कहिलेकाहि यस्तो लाग्छ, एक सन्तानको सासमा नै एक आमाको सास अड्केको हुन्छ । म हाँस्दा सबै सँगै हास्छन् तर म रुँदा सँगै रुने यो संसारमा सिर्फ मेरी आमा मात्र हुन्छिन् ।

   हरि खड्का (अनुपम)

मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै न होला । हामीले अनुभव गरेकै हो कुरा हो, बाटोमा हिँड्दा हामीलाई केही सानो दुखाइ हुन गयो भने पनि त्यो दुखाइले आमाको सहयोग मागेको हुन्छ । कुनै नराम्रो घटना हाम्रो आँखाले देख्न पुग्यो भने पनि आमा भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ । त्यसैगरी कुनै पनि असहज काम गर्नुपरेको बेलामा पनि आमालाई सम्झिएकै हुन्छाँै । त्यो सम्झाइले हामीलाई आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ । अबोध बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ । यसरी हाम्रो जीवनमा आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवम् व्यवहार गरेका छैनौँ कि भन्नेतर्फ एकचोटि सोच्नै पर्दछ ।
आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो । कुनै समस्या आइपरेको समयमा पनि लौन आमा के गर्ने भनी हामी आमालाई ठूलो ठूलो स्वरले चिच्याएकै हुन्छौं । कसैसँग कुनै झैझगडा भयो भने मेरी आमाले मलाई जन्माएकै हैन भनी ध्वांश दिने पनि गरेकै छौं । बालक कालमा कसैसँग झैझगडा हुँदा मेरी आमालाई ल्याउँछु भनेर ताकत पनि देखाएकै हुन्छौँ । यसरी हाम्रो दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिइआएको पाइन्छ ।
आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशुले बच्चा जन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरी आमालाई नै बोलाएको हुन्छ । अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् ।

प्रथम सृष्टिकर्ता एवम् पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ ।विश्वका चर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफनो प्रसिद्ध उपन्यासको नाम नै आमा’ राख्न पुगे
केही वर्षअघिको खबर हो, चीनको अमुक ठाउँमा पहिरो गएर आमा र काखको बालक पुरिए । पहिरो ठूलो भएकाले उद्धार कार्य सम्पन्न गराउन धेरै दिन लाग्यो । जमिन मुनि पुरिए पनि उनीहरू दुवै बाँची नै रहेका रहेछन् । अन्न, पानी केही नभएको हुँदा कसरी छोरालाई बचाउने भनी उनलाई चिन्ता पर्न थाल्यो । आफू मरेर पनि छोरालाई बचाउने उद्देश्यले आफ्नो स्तनको मुण्टोलाई टोकेर रगत निकालेर छोरालाई बचाउन सफल भएकी थिइन् । हामी आफै कल्पना गरौँ, आमाको माया आफ्ना सन्तानप्रति कस्तो हुँदो रहेछ ।

अर्को एउटा घटना पनि मलाई यहाँ उल्लेख गर्न मन लाग्यो । कुनै नदीको किनारामा बस पल्टिँदा आफ्नो छोरालाई पाखामा फालेर आफूले मृत्युवरण गरेको र छोरालाई बचाएको घटनाले सबैको मन दुखेको हुँदो हो । गङ्गामाया र नन्दप्रसादको छोराप्रतिको बात्सल्य प्रेम कस्तो हुँदो रहेछ भन्नेत सबैलाई थाहा नै छ । नन्दप्रसादले त प्राणको आहुती नै दिए ।

आमाको माया कति अगाढ हँुदो रहेछ भन्ने कुरा भनी साध्य नै छैन । स्थलचर, जलचर सबैमा उत्तिकै हुँदो रहेछ । एउटा बाँदर्नीले आफ्नो मरेको छाउरोलाई पिठ्युँमा बोकेर हिँडिरहेकी हुन्छे । यसरी समातिरहन उसलाई गाह्रो पर्न थाल्यो र आफ्नो पेटमा एक हातले च्यापेर अर्को हातले टेक्दै हिँडिरहेकी हुन्छे । मरेको शरीर गह्रँुगो हुने हुँदा उसले बोकेर हिँड्न नसकेर सडकको एकान्त कुनामा मृत बच्चालाई एकोहोरो हेर्दै आँखाभरी आँशु भएको दृश्य यदा कदा देख्न पाइन्छ । यसरी एउटा बाँदर्नीले त आफ्नो सन्तानप्रति यति ठूलो माया देखाउँछे भने हामी मानव प्राणीले देखाउनु त के ठूलो कुरो भयो र ?

आमालाई घृणा गरेर वृद्धाश्रममा बेवारिसे अवस्थामा छोडेका र लाउन खान नदिएर विचल्लीमा पारेका घटना पनि नदेखिएका होइनन् । यद्यपि सबै मानिसको भावना, विचार तथा व्यवहार एउटै हुँदैन । जेहोस् आमाले जति आफ्ना सन्तानलाई माया गर्छिन् सन्तानले निश्चय नै त्यति गरेका हुँदैनन् ।

नेपालको सन्दर्भमा भन्ने हो भने आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको पाइन्छ । घरबाट टाढा जाँदा वा बाहिरबाट घर आउँदा आमालाई ढोग गरी आशीर्वाद लिने प्रचलन हामीहरूले मानी आएकै छौँ । यो प्रचलनले एकातिर आमा छोरामा आगाध माया ममता बस्न जान्छ भने व्यक्तिको आचरणमा पनि सुधार भएको हुन्छ । यसरी हाम्रो पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखी आएका नै छ ।

पहिले बाल्यकालमा आमाले दुःख कष्ट एवम् विभिन्न हण्डर खाएर आफ्ना सन्तानलाई हुर्काएकी हुन्छिन् । पछि आमा वृद्ध भएको अवस्थामा छोराछोरीले पनि आमाले जस्तै माया तथा प्रेम गरून् भन्ने नै हाम्रो हिन्दु धर्मको मुख्य मर्म रहेको पाइन्छ । त्यसैले हाम्रा धर्मशास्त्रमा पनि आमा बाबुको कर्तव्य र छोराछोरीले गर्नुपर्ने आचरणबारे उल्लेख भएको पाइन्छ । पश्चिमी संस्कारमा अशक्त आमा बाबुलाई घरमा राख्दा त्यति स्याहार सुधार नपुग्नेदेखि स्याहार सुसार केन्द्रमा लग्ने प्रचलन बढ्दै गएको छ भने नेपालमा भने सकभर आफ्नै घरमा राखेर हेरचाह गरिन्छ । बाध्यात्मक अवस्थामा मात्र आश्रममा लगिने गरिन्छ । यसरी नेपालमा मात्र हैन, अन्य देशहरूमा पनि आमालाई विशेष स्थान दिई आदर गरेको पाइन्छ ।

अन्त्यमा,
जीवन र जगतमा आमाको माया अपरम्पार नै छ । जीवजन्तु तथा जनावरले समेत आफ्ना बच्चालाई कसरी माया गरेको हुन्छ भन्ने कुरा हाम्रा आफ्नै आँखाले देखेकै छौँ भने हामी त विवेकशील मानव प्राणी हौँ, हाम्रो कर्तव्य नै हुन्छ, आमालाई माया गर्नु

                               लेखक खड्का दुल्लु ६ ,दैलेखका हुन् । हाल जापानमा छन्

प्रकाशित मितिः बुधबार, बैशाख ६, २०८०     8:22:35 PM  |