‘टुक्रे योजना विस्थापित ग¥यौं’



आउँदो पाँच वर्षमा सिमकोट सुन्दर र रमणीय हुनेछ । यहाँको वातावरण स्वच्छ हुनेछ । यहाँको बजार व्यवस्थापन भइसकेको हुनेछ । यहाँको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निकालिनेछ । डम्पिंङ साइट हुन्छ । कर्णाली नदीमा बेलिव्रिज हुनेछ । सडक सञ्जालसँग जोडिनेछ सिमकोट । स्वास्थ्य र शिक्षाको पहुँच वृद्धि गरिनेछ । धुलोमुक्त विद्यालय हुनेछ । विकास र समृद्धिको मार्गरेखा तयार भइसकेको हुनेछ ।

स्थानीय सरकार प्रमुखका रुपमा निर्वाचित भएको १० महिना भयो । यो बीचमा के–कति काम भए ?

सर्वप्रथम तपाईंको मिडियालाई धन्यवाद व्यक्त गर्न चाहन्छुँ । फोनकै माध्यमबाट भए पनि गाउँपालिकाको विषयमा जानकारी लिन खोज्नुभयो । निर्वाचन भएपछि निरन्तर जनताको सेवामा छौं । निर्वाचित भएर आएको १० महिना भयो । सपथपछि पहिलो कार्यभार गाउँसभा आयोजना गर्नु थियो । हाम्रो कार्यकालको पहिलो गाउँसभा सम्पन्न भयो ।

गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित भयो । समुदायमा आधारित योजना हाम्रो मुख्य प्राथमिकता हो । नीति तथा कार्यक्रम र बजेट पनि सोहीअनुसार बनाएर पारित गरेका छौं । अहिले ति नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा छन् । अहिलेसम्म ७५ प्रतिशत योजना सम्झौता भएर सम्पन्न हुने चरणमा छन् ।

हामीले नीतिगत सुधारमा ध्यान दिएका छौं । गाउँपालिकाले टुक्रे योजनालाई विस्थापित गरेको छ । हरेक योजना पाँच लाख बराबरको छन् । स्थानीय तहका कर्मचारीहरुका लागि कल्याण कोषको व्यवस्था गरिएको छ । अन्य धेरै काम भएका छन् ।

सिमकोट गाउँपालिकामा अहिलेसम्म भएका मुख्य–मुख्य उपलब्धि के–के हुन् ?

सिमकोट गाउँपालिकाले अहिलेसम्म गरेका मुख्य उपलब्धिहरु धेरै छन् । जसमध्ये हामीले गाउँपालिकामा हरेक आयोजनामा साना तथा टुक्रे योजना निरुत्साहित गरिएको छ । अहिलेसम्म गाउँपालिकाको काम भाडाको घरमा सञ्चालन भइरहेको छ । हामी निर्वाचितपछि जग्गा व्यवस्थापनको प्रक्रिया सुरु भएको छ ।

स्थानीय बालीको प्रवद्र्धन, बजारीकरणका लागि मूल्य निर्धारण गर्नुका साथै निर्यातलाई प्राथमिकता दिएका छौं । यसबाट हुम्लाका उत्पादन काठमाडौंसम्म पुग्ने वातावरणको सिर्जना भएको छ । शैक्षिक क्षेत्रको सुधारका लागि शिक्षा समितिलाई गतिशील बनाइएको छ । विद्यालय मर्जको नीति लिएका छौं । शिक्षकको दरबन्दी मिलानको तयारी भइरहेको छ ।

पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । कृषि क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरेका छौं । कृषि उत्पादनलाई बढवा दिइएको छ । स्वास्थ्यतर्फको कुरा गर्दा सुत्ेकरी तथा गभर्वतीहरुका लागि पोषण क्याकेट कार्यक्रम लागु छ । यसमा स्थानीय सरकारले सुत्केरीलाई पाँच केजी मार्सी चामल, घ्यू, अण्डा, साबुन र तरकारी उत्पादनका लागि ग्रीन हाउस सहयोग गरिरहेको छ ।

पृथकखालको पोषण थैली कार्यक्रम लागु हुनेछ । हाम्रो पालिकामा सेनेटरी प्याड वितरण कार्यक्रम लागु भयो । तर प्रयोग गरेको पाइएन । खोज्दै गर्दा छात्राहरुसँग महिलाले लगाउने भित्री कट्टुको अभाव देखियो । त्यसैले गाउँपालिकाले प्रति किशोरी भित्री कट्टु सहयोग गर्ने नीति लिएको छ । सिमकोट गाउँपालिकामा अहिलेसम्म गरेका मुलभूत उपलब्धिहरु यिनै हुन् ।

हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन, सडक र पूर्वाधारलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?

तपाईंले सही प्रश्न गर्नुभयो, बिडम्बना भन्नुपर्छ हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । नेपालका ७६ वटा जिल्लामा सडक सञ्जाल जोडिएको छ । हुम्लामात्रै यस्तो जिल्ला हो, अहिले पनि सडक सञ्जालको पहुँचमा छैन । हामी अहिले पनि हवाई मार्गमा निर्भर छौं । तर, त्यसको पनि सहज पहुँच छैन । हुम्लाका अन्य तीन पालिकामा सडक सञ्जाल जोडिएको छ ।

तर हाम्रोमा जोडिएको छैन । हुम्लालाई कसरी जोड्न सकिन्छ भन्ने हाम्रो प्रमुख ध्यान रहेको छ । सोहीअनुसार पालिकास्तरबाट हुने विकास र पहल हामीले गरिरहेका छौं । यसमा राज्यका तीनवटै सरकारको संयुक्त पहल आवश्यक छ ।

म अध्यक्ष भएर आइसकेपछि हुम्लामा कसरी सडक सञ्जाल जोड्न सकिन्छ भनेर लागि परेको छुँ । सोहीअनुसार यहाँका प्रदेश र संघीय सांसदहरुसँग पनि छलफल गरेको छुँ । बाटो निर्माण प्रक्रियामा हाम्रैपालामा सडक सञ्जालमा जोड्नका लागि लागिपरेका छौं ।

स्थानीय तहमा सम्भावना र चुनौती के कस्ता देख्नु भयो नी ?

संविधानले तीन तहका सरकारको परिकल्पना गरेको छ । तीमध्ये जनताको घरदैलोको सरकार हो, स्थानीय सरकार । जहाँ जनताले प्रत्यक्षरुपमा आफ्ना समस्या र गुनासा राख्ने गर्छन् । तर, संविधानले भने पनि राज्यले स्थानीय सरकारलाई राम्रोसँग हेर्न सकेको छैन । झन दुर्गम जिल्लाका पालिकाको हालत नाजुक छ ।

यस्तो अवस्थामा काम गर्न चुनौती छ । अभावका बीच सम्भावनाका थुपै्र ढोका खुला रहेको मैले देखेको छुँ । बेरोजगारीको अवस्था बिकराल छ । विदेश पलायन प्रमुख समस्याका रुपमा रहेको छ । त्यसैले यसलाई रोक्नुपर्ने चुनौती हामीमाँझ छ ।

बेरोजगारीको समस्या छ भन्नुभयो, समस्या समाधानका लागि गाउँपालिकाले के–के काम गरेको छ ?

हामीसँग समस्या मात्रै छैन, समाधानका प्रचूर सम्भावनासमेत छन् । यहाँको पर्यटन क्षेत्रको राम्रोसँग सम्भावना छ । यसको प्रवद्र्धन गर्नुपर्नेछ । त्यसका लागि पर्यटन नीति बनाउनुपर्नेछ । गाउँपालिकाले त्यसको तयारी थालेको छ । यहाँको स्थानीय उत्पादन बजारीकरण गर्न सके समृद्धि र बेरोजगारी सिर्जना हुने सम्भावना पनि छ ।

स्थानीय उत्पादन बजारीकरणलाई प्राथमिकता दिइएको छ । त्यसको लागि स्थानीय बालीको मूल्य निर्धारण गरिएको छ । उद्योग सञ्चालनलाई प्रोत्साहन गरिएको छ । चिनो, फापर र कागुनालाई ब्रान्डिङ गर्न लागिपरेका छौं ।

स्वरोजगार सिर्जना गर्न उत्पादनलाई जोड दिइएको छ । हामीले समृद्धिको नारा लगाएका छैनौं । स्थानीय आवश्यकतालाई मध्यनजर गरेर यहाँको उत्पादन बढाउने र आम्दानी भिœयाउने नीति लिएका छौं ।

अन्त्यमा, अबको पाँच वर्षमा सिमकोट कस्तो हुन्छ ?

अहिले सिमकोट गाउँपालिका जुन अवस्थामा छ, त्यो अबको पाँच वर्षमा रहने छैन । गाउँपालिकामा धेरै विकास र परिवर्तन भएको हुनेछ । यहाँका जनताले त्यसको प्रत्यक्ष महसुस हुनेगरी हामी काम गर्नेछौं । पाँच वर्षमा गाउँपालिकाको आफ्नै भवन हुनेछ । त्यसबाट हामीले जनतालाई सेवा दिनेछौं । आउँदो पाँच वर्षमा सिमकोट सुन्दर र रमणीय हुनेछ ।

यहाँको वातावरण स्वच्छ हुनेछ । यहाँको बजार व्यवस्थापन भइसकेको हुनेछ । यहाँको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निकालिनेछ । डम्पिंङ साइट हुन्छ । कर्णाली नदीमा बेलिव्रिज हुनेछ । सडक सञ्जालसँग जोडिनेछ सिमकोट । स्वास्थ्य र शिक्षाको पहुँच वृद्धि गरिनेछ । धुलोमुक्त विद्यालय हुनेछ । विकास र समृद्धिको मार्गरेखा तयार भइसकेको हुनेछ ।

प्रस्तुतिः शुभाकर विश्वकर्मा

 

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २६ गते शुक्रबार