गणेश विशु
नेपालगन्ज–कोहलपुर सडक खण्डअन्तर्गत गोच्छानेर सडक छेउमा एउटा सानो टहरा छ । जुन टहरा, चारवटा बाँसका खम्बाले अडेस लागेको छ भने जस्तापाता (टिन) ले ढाकिएको छ । भित्ता बनाइएको छैन । हावा आउँदा न हावा छेक्छ न त वर्षामा पानी नै छेकिन्छ । मात्र सूर्यको किरण थोरै भए पनि छेक्छ । टहरालाई अडेस दिएको एउटा बाँसको खम्बामा सुरक्षाका लागि कुकुर बाँधिएको छ । त्यसमा ६९ वर्षीय दिवानाथ सिग्देल, श्रीमती गोमा र दुई छोराले आश्रय लिएका छन् ।
समय हिँडिरहन्छ । समय हिँडेपछि तपाईं बस्नुहुन्न । हिँडेपछि गन्तव्य पुग्न पनि सकिन्छ, नपुग्न पनि । पुग्नु वा नपुग्नुले मान्छेमा आशा र निराशाको भाव बोकाइदिन्छ । आशा तपाईंमा भयो भने खुसी बोकेर जिन्दगीमा तपाईं हिँड्नुहुन्छ । निराश बोक्नुभयो भने तपाईं कतै हराउनुहुन्छ, जिन्दगीबाट ठगिएको महसुस गर्दै विश्राम लिन सक्नुहुन्छ ! दिवानाथको जीवन पनि यही सेरोफेरोमा रुमलिएको छ । उनको कठिनाइपूर्ण यात्राले गरिबीको चित्ररेखा लिपीबद्ध गर्छ । गरिबीको मुक्तिका लागि दिवानाथले कयौं संघर्ष गरे । भारतीय भूमिमा रगत पसिना बगाए । तर, पनि गरिबीबाट उनले छुटकारा पाएनन् । तनहुँ किउकाबाट २०४६ सालमा उनका बुवा नन्दलाल बसाइँसराइ गरी कैलाली पुगे । जहाँ रोजगारी पाइने र छोराछोरीको पालनपालनमा टेवा पुग्ने नन्दलालको आशा थियो । तर, कैलाली झरेको ६ महिनामै नन्दलालको दुःखद् निधन भयो । त्यसपछि परिवारको अभिभावकत्व दिवानाथको काँधमा स¥यो । धनगढीबाट टिकापुर आउने हुलाकी राजमार्गमा पर्ने फूलबारीमा एउटा घर थियो ।
राजमार्ग निर्माण गर्दा उक्त घर सबै राजमार्गमा प¥यो । भएको एउटा सानो घरजग्गा पनि सडकमा परेपछि दिवानाथको परिवार भूमिहीन भयो । ‘घरमा सानो पसल थियो । त्यो पसलबाट दिन गुजारा गर्न समस्या थिएन,’ दिवानाथले भने, ‘घर सडकमा परेपछि केही सीप भएन । घरसँगै पसल पनि गयो । पुनः पसल गर्ने सामथ्र्य पुगेन । अनि कमाइ पनि हुन छाड्यो ।’ २०४६ सालदेखि २०६१ सम्म उनले कैलालीमा जेनतेन दैनिकी निर्वाह गरे । आम्दानीको स्रोत नभएपछि उनी परिवारसहित २०६२ सालमा कोहलपुर पुगे । कोहलपुर आउनुभन्दा केही महिना अघि मात्र दिवानाथकी आमा ललितादेवीको निधन भएको थियो ।
कोहलपुर आएर उनले कृषि मेलामा तरकारी व्यवसाय सुरु गरे । ‘सुरुमा तरकारी बिक्रीवितरण गथ्र्येँ । खान लगाउन मात्र ठिक्क हुन्थ्यो,’ उनी भन्छन्, ‘अरुको जस्तो बेइमानी नगरि व्यापार गर्दा पैसा बचत गर्न सकेनँ ।’ तरकारी पसलबाट आम्दनी हुन छाडेपछि मासु पसल सञ्चालन गरेका थिए । जतिबेला उनी अहिले बसी रहेको स्थान गोल्छा बसाइँ सारेका थिए । गोल्छामा सामान्य जंगल थियो । बस्ती थिएन । नेपालगन्ज–कोहलपुर सडक साँधुरो थियो । त्यतिबेला मासु पसल राम्रै चल्थ्यो । ‘सुरुमा मासु पसल राम्रै चल्थ्यो,’ उनी भन्छन्, ‘सानो लगानीको पसलबाट परिवारको दैनिकी चलाउन मात्र आम्दानी हुन्थ्यो ।’ त्यही पसल गर्दा २०७२ सालमा उनकी श्रीमती गोमालाई मोटरसाइकलले ठक्कर दियो । ‘पसलमा मासु सकिएको थियो । उनी मासु लिन सडक क्रस गरेर कुखुरा ल्याउन गएकी थिइन्,’ उनले भने, ‘कुखुरा लिएर फर्किँदा मोटरसाइकलले ठक्कर दियो ।’ त्यतिबेला गोमाको दायाँ खुट्टा भाँचियो । अहिले गोमाले अपांग जीवन बिताइरहेकी छिन् । श्रीमान्लाई सामान्य घरायसी काममा सहयोग पु¥याउँछिन् ।
अहिले गोल्छा सहरीकरण हुँदैछ । जसरी गोल्छा विकासोन्मुख हुँदैछ त्यसरी नै दिवानाथ र गोमाको उमेर पनि ढल्किँदै छ । गोल्छामा घर बढे । पसलहरु छ्याप्छ्याप्ती भए । मासु पसल पनि बढे । जसले दिवानाथको अवस्था पहिले जस्तै भयो । अहिले आफू बस्ने ठाउँमा सानो मासु पसल थापेका छन्, तर ग्राहक आउँदैनन् । दैनिक एक÷दुई केजी मासु बिक्री गर्छन् जसले दैनिक गुजारा चलाउनै हम्मेहम्मे हुन्छ । यति मात्र होइन, उनीहरु असुरक्षितरुपमा रात बिताउँछन् । सडक छेउमै बसेका उनीहरु अहिले त असुरक्षित भएको महसुस गर्दैनन् । ‘सडक छेउमा ढोका नभएको नबारेको ठाउँमा बस्दा धेरै डरत्रास लाग्थ्यो,’ गोमा भन्छिन्, ‘अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना भएको छैन । आजभोलि त्यस्तो आभाष भएको छैन ।’ बर्खामा सुत्ने ठाउँसम्म पानी पुग्ने भन्दै उनले भनिन्, ‘सुत्ने ठाउँमा पानी पुगे पनि सर्प आएका छैनन् ।’
साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन् त्यसैले त अभावको जिन्दगी जिउनेहरूको लागि उनीहरूको सहयोग वास्तविक मल्हम बनेको छ । दिवानाथ र गोमा यही मल्हमको प्रतीक्षामा छन् ।
प्रतिक्रिया दिनुहोस्