भूईमान्छे : खच्चर पाल्ने अन्तिम पुस्ता



वीरेन्द्र जैसी
नेपालगन्ज वडा नम्बर ८ मा छ, ‘५१ वर्षीय सकिल कसगरको एकतले इट्टाको घर ।’ चारपाँच वर्ष भइसक्यो उनको घरले अझै पूर्णता पाएको छैन । घरको छेउमा अर्कैको जग्गामा थन्किएको छ उनको खच्चरले तान्ने गाडा । त्यसैगरी घरमै थन्किएका छन्, सकिल पनि । फुर्सििदलो भएको छ उनको खच्चर ।
बाध्यताले फुर्सदिला नै बनेका सकिल घर नजिकै रहेको एक चिया पसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरुसँग गफ गर्छन् । उहिलेका दिन सम्झेर र अहिलेको हालत हेरेर उनीहरु थकथकाउँछन् । सन्ततिको भविष्य के हुने हो चिन्तामा छन् उनीहरु । कसगर पुरुषहरुको पुख्र्यौली मुख्य पेसा खच्चर पाल्ने र ढुवानीको काम गर्ने हो । महिला र ज्येष्ठ नागरिकहरुको पेसा भने गृहणीका साथै माटाका भाँडा बनाएर आर्यआर्जन गर्नु हो । अहिले माटाका भाँडा बनाउने पेसा जेनतेन चलिरहे पनि खच्चरबाट ढुवानी गर्ने काम भने विकासको गतिसँगै हराउन थालेको छ । मुख्य पेसा नै संकटमा परेपछि अहिले कसगरहरुको आर्थिक जीवन संकटग्रस्त अवस्थामा रहेको छ ।


सकिलका अनुसार उनका बुवाको पालासम्म खच्चर पाल्ने र तराईबाट पहाडी तथा हिमाली जिल्लासम्म सामान ढुवानी गरेर उनीहरुको जीवन चलिरहेको थियो । सकिल पनि कर्णाली राजमार्गमा ट्याक्टर चल्नुअघिसम्म कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा सामान ढुवानी गर्न पुग्थे । त्यतिञ्जेलसम्म कर्णालीमा ढुवानीको एकमात्र साधन थिए खच्चर । ‘आम्दानी पनि राम्रो हुन्थ्यो । त्यहीअनुसार खच्चर पनि टन्नै पालेका हुन्थ्यौँ । कालीकोट, जुम्लासम्म मैले सामान लिएर पु¥याउन गएको छुँ,’ सकिलले भने ।
कर्णाली राजमार्ग बनेपछि स्वभाविकरुपमा खच्चरहरुमार्फत हुने ढुवानी पेसा विस्थापित भयो । उनीहरु तराईभन्दा माथि उक्लिने दिन सकिए । एउटा संकटको त्यो समय थियो । कसरगरहरुले कामको अर्काे स्रोत खोजे, ईट्टाभट्टा (ईट्टा उद्योग) । बुटवल, चितवन र काठमाडौंसम्मका इट्टाभट्टामा इट्टा बनाउने ठाउँदेखि पोल्ने ठाउँसम्म ओसारपसार गर्ने काम उनीहरुले ठेक्का लिएर गर्न थाले । यसले उनीहरुको कामलाई केही सहज र व्यवस्थित बनायो । धेरै टाढा जानुनपर्ने, एक ठाउँ बसेर व्यवस्थितरुपले काम गर्न सक्ने यो तरिकाले कसगरहरु खुसी थिए । उनीहरुले इट्टाभट्टाको ढुवानीको ठेक्का नै लिएर सामान गाडामा चढाउनेदेखि झार्ने र इट्टा बनाउनेसम्मका मानिसहरुलाई रोजगारी पनि दिन थाले, आफू मातहत । यो प्रकृतिको काम २०७२ सालको भूकम्पसम्म सामान्यरुपले नै चलेको थियो । ‘यो सब बिग्रेको ठूलो भूकम्प आयो नि काठमाडौंमा, त्यसपछि हो । भट्टा मालिकहरुले त्यसपछि पैसा कम दिने, टाइममा नदिने, उधारो काम गराउने गर्न थाले । त्यसपछि कोरोना आयो । कोरोनापछि त सखापै भयो,’ सकिल भन्छन् ।
अर्काेतिर ईट्टा उद्योगमा भारतीय कामदारहरुको प्रवेश भएदेखि पनि नेपाली कामदार तथा मजदुरहरुको काम खुम्चियो । काम मात्रै खुम्चिएन, ज्याला पनि खुम्चियो । विशेषगरी ढुवानी ज्यलामा भूकम्पपछि २० प्रतिशतले कमी आएको सकिल बताउँछन् । तर, कामदारहरुको ज्यालामा दोब्बरले वृद्धि भएको उनको भनाइ छ । ढुवानी ज्याला घटेपछि र कामदारको ज्याला बढेपछि कसगरहरुले ठेक्का लिएर धान्नसक्ने अवस्था रहेन । त्यसैमाथि साहुले समयमा पैसा नदिने गर्न थालेपछि ईट्टा उद्योगको काम पनि संकटमा परेको सकिल बताउँछन् ।


अहिले अधिकांश कसगरहरुले ईट्टाभट्टा छोडेर दैनिक ज्याला मजदुरी गर्न थालेको उनी बताउँछन् । सकिलका छोराहरु पनि अहिले दैनिक मजदुरी गर्छन् । घर बनाउने ठाउँमा सामान ढुवानी गर्न कहिलेकाहिँ खच्चर र गाडा प्रयोग हुन्छ । कहिलेकाहिँ बजारमा एक ठाउँबाट अर्काे ठाउँ सामान ढुवानी गर्ने काम पाइन्छ । तर अत्यन्त सीमित मात्रामा । अधिकांश काम मान्छे बोक्नका लागि बनाइएका ई–रिक्सामार्फत हुन थालेको छ । प्रहरीले पनि सडकमा गाडा देखेपछि हकार्छन् । फुर्सदिला भएका खच्चरहरु फुस्किएर सडकमा गइहाले भने नगरपालिकाले लगेर काञ्जीहाउसमा थुन्छ । काञ्जीहाउसबाट फिर्ता ल्याउन एउटा खच्चरको एक दिनको एक हजार पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । पाल्नका लागि चारो करी भ्याउनु । ‘अब खच्चर पाल्ने हाम्रो अन्तिम पुस्ता यही होला । हाम्रा छोराछोरीले पाल्न पनि नपाल्लान् । पाल्नु पनि हुन्न । बरु ज्याला मजदुरी नै ठिक यो भन्दा त,’ सकिलले दिक्दारी प्रकट गरे ।

नेपालगन्जमा १५ सयभन्दा बढी घरधुरी कसगर समुदायका रहेका सकिलको अनुमान छ । यी सबै परिवारको कथा उस्तैउस्तै रहेको उनको भनाइ छ । अधिकांशले अब ईट्टाभट्टा छोड्दै छन् । पछिल्लो समय सन्नतिको पढाइतिर जोड रहेको उनीहरु बताउँछन् । केही युवाहरु पढाइ लेखाइमा राम्रो गरिरहेका छन् । सकिल भन्छन्, ‘तर सरकारी जागिरे कोही पनि छैनन् । मैले थाहा पाएसम्म एकजनाले बोर्डिङ स्कुलमा पढाउँछन् । अरु केही कलेजमा पढ्दै छन् । सानासाना केटाकेटी प्रायः स्कुल जान्छन् ।’

एउटा अर्काे सम्भावना पछि उनीहरुसँग छ । माटामा सामानहरुको व्यापार केही समय ओरालो लागेर फेरि सुधार हुने संकेत देखिएका छन् । तर, यसमा स्थानीय सरकारले सीप स्तरोन्नतिका लागि तालिम एवं माटोको उपलब्धताका लागि सहजीकरण गरिदिनु भने आवश्यक छ । सकिलका तीन छोरा र एक छोरी छन् । तीमध्ये कसैको बिहे भएको छैन । बिहे गर्ने उमेर भने भइसकेको छ । उनीहरुको बिहे नहुनुको मुख्य कारण छ, आर्थिक जोहो गर्न नसक्नु । सकिलले भने, ‘के गर्नुहुन्छ, बिहेको लागि पनि पैसा नभएर हुँदैन रहेछ । अब पैसा जम्मा गर्न सकियो भने अर्काे वर्षबाट बिहे गराइदिन सुरु गर्नुपर्ला ।’

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार