वीरेन्द्र जैसी
नेपालगन्ज, १६ माघ
करिब एक महिनाअघि डा. विनोद खेतानकहाँ एकजना दादुरा रुबेलाका बिरामी पुगेका थिए । तर, त्यसबेला सरकारको जनस्वास्थ्य संयन्त्रले यसबारेमा जानकारी पाइसकेको थिएन । त्यहीबीचमा पुस १२ गते नेपालगन्ज वडा नम्बर ५ मा कार्यरत हेल्थ असिस्टेन्ट सन्दीप शाहीले पनि एक शंकास्पद बिरामी फेला पारे । उनले त्यसबारे स्वास्थ्य कार्यालय बाँके र विश्व स्वास्थ्य संगठनलाई खबर गरे । त्यसपछि दादुरा फैलिएको आशंकित क्षेत्रबाट पाँचवटा नमुनाहरु संकलन गरी काठमाडौं परीक्षणका लागि पठाइयो । पाँचवटा नमुनामध्ये चारवटा नमुनाहरुमा दादुरा रुबेला पोजिटिभ भेटियो । त्यसपछि राष्ट्रिय प्रयोगशालाले संकलित नमुनामध्ये ८० प्रतिशतमा दादुरा पोजिटिभ भेटेपछि महामारीको अवस्था देखिएको रिपोर्ट उपमहानगरपालिकामा पठायो ।

उक्त रिपोर्ट प्राप्त भएपछि उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दादुरा महामारीकै अवस्था आएकोले सोहीअनुसार रोकथामको काम सुरु गर्नुपर्ने निष्कर्ष निकाल्यो । स्वास्थ्य महाशाखा, स्वास्थ्य कार्यालय बाँके, स्थानीय स्वास्थ्य संस्थाहरु, युनिसेफका प्रतिनिधिहरु बसेर महामारीलाई रोक्न योजना बनाउन थाले । यतिन्जेलसम्म उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिले कुनै सक्रियता देखाएको थिएन । जनप्रतिनिधिहरु केही दिन पर्खाैँ न भन्दै थिए । तर, स्वास्थ्य महाशाखाले भित्रभित्रै काम सुरु ग¥यो । यता दिनदिनै संक्रमितहरु भेटिने क्रम बढ्दै गयो । संक्रमणको दर बढ्दै गएर एक वडाबाट हुँदै अर्काे वडामा सर्न थाल्यो ।
महामारी बढ्दै गएर अन्य स्थानीय तहमा फैलिने खतरा देखिन थाल्यो । त्यसपछि स्वास्थ्य कार्यालय बाँकेको प्रत्यक्ष सहयोग माग्यो महाशाखाले । पुस २२ गतेदेखि खोप अभियान नै सञ्चालन गर्ने निर्णय गरियो । खोप लगाउन छुटेको कारण नै दादुरा महामारी फैलिएको हुनसक्ने निष्कर्ष निकालेर धर्मगुरुहरुलाईसमेत खोपबारे जनचेतना फैलाउने काममा प्रयोग गर्ने निर्णय गरियो । तर, त्यसका लागि अभिमुखिकरण गर्न बजेट नै थिएन । ‘खाजामात्रै खुवाएर अभिमुखिकरण कार्यक्रम गर्ने बजेट पनि हामीसँग थिएन,’ उपमहानगरपालिकाका दादुरा फोकल पर्सन जागेश्वर बस्नेत भन्छन् । त्यसपछि बस्नेतले मेयर, उपमेयर र प्रशासकीय अधिकृतसँग कुरा गरे । त्यहीबीचमा विपद व्यवस्थापन समितिको बैठक पनि बस्यो । सबैबाट तत्कालै बजेटको व्यवस्था गर्नसक्ने अवस्था नभए पनि महामारी रोकथामका लागि लागेको खर्च प्रक्रिया पु¥याएर व्यवस्था गर्ने आश्वासन पाए । बस्नेत भन्छन्, ‘हुन त यो भन्न मिल्ने हो कि होइन । त्यसपछि मैले आफ्नै खाताबाट साढे तीन लाख रुपैयाँ निकालेर खोप अभियान अघि बढायौँ ।’
खोप अभियानसँगै धर्मगुरु, स्वास्थ्य स्वयम्सेविका, वडाका जनप्रतिनिधिहरु, शिक्षक, सामाजिक अगुवालाई अभिमुखिकरण गरियो । दादुरा महामारी नै भएको कुरा बुझाउँदै अपनाउनुपर्ने सावधानी रोकथामका उपायबारे समुदायस्तरमा जनचेतना फैलाउन अनुरोध गरियो । खोप लगाउनु नै एकमात्र विकल्प भएको कुरा बुझाइयो । त्यसपछि वडा तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविकालगायत सम्मिलित बस्तीस्तरीय जनचेतना टिमहरु गठन गरियो । तोकिएको क्षेत्रमा शंकास्पद दादुरा संक्रमित पत्ता लगाउने, उपचारमा पठाउने, खोप लगाउन सबैलाई बुझाउँदै हिँड्ने जिम्मा ती टिहरुलाई दिइयो । धर्मगुरुहरुलाई धार्मिकस्थलमा भेला भएका सर्वसाधारणलाई खोप लगाउन सम्झाइबुझाई गर्न अनुरोध गरियो । सुरुमा वडा नम्बर ५ र ७ मा अपनाइएको यो उपायले काम गरेपछि अरु वडामा पनि यही उपाय विस्तार गरियो । यो सबै उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आफ्नै अगुवाइमा युनिसेफ र विश्व स्वास्थ्य संगठनको सुझावका आधारमा अपनाएको उपाय हो ।
यसका साथै हरेक दिन जनस्वास्थ्य विभागलाई दादुराको अवस्थाका बारेमा जानकारी गराउने र विभागको सहयोगका लागि झकझक्याउने काम महाशाखाले ग¥यो । दिनदिनै संक्रिमितहरु बढ्दै जान थालेपछि सुरुमा चासो कम दिएको विभागले पनि सक्रियता बढायो । विभागबाट अधिकारीहरुको टोली नेपालगन्ज आयो । आवश्यक सहयोग उपलब्ध हुने आश्वासन महाशाखाले पायो ।
तर, खोप अभियानका लागि परिचालन खर्च पनि अभाव रहेको समस्या भने समाधान भएको थिएन । उपमहानगरपालिकाबाट आश्वासन मात्रै पाइएको थियो । संघ सरकारले आर्थिक सहयोगका लागि चासो दिइरहेको थिएन । स्वास्थ्यकर्मीहरु नास्ता समेत नखाई खोप लगाउन खटिएका थिए । पुस २२ गतेदेखि माघ १४ गतेसम्म करिब २२ दिनको खोप अभियानसम्म स्वास्थ्यकर्मीहरुले बिना कुनै सुविधा काम गरेका छन् । ‘हामीले बजेटको अभावमा उहाँहरुलाई नास्तासमेत खुवाउन सकेनौँ । स्वास्थ्यकर्मीहरुले महामारी रोक्न गरेको योगदानको कदर हुनुपर्छ,’ फोकल पर्सन बस्नेतले भने ।
माघ १४ गतेबाट दादुरा रूवेला विशेष खोप अभियान कार्यक्रम अर्काे कुनै निर्णय नहुँदा सम्म स्थगित गरिएको छ । बस्नेत अहिलेपनि केही बालबालिकाहरु खोप नलगाएर छुटेको हुनसक्ने आशंका व्यक्त गर्दै समुदायस्तरमा खोजी अभियान भने संयन्त्रमार्फत जारी रहेको बताउँछन् । २२ दिनको अवधिमा उपमहागरपालिकामा ४६ हजार पाँच सय ६३ जना बालबालिकालाई खोप लगाइएको छ । यो अभियान सुरु हुनुअघि तोकिएको लक्ष्यको १०८ दशमलव ३४ प्रतिशत हो । दादुरा खोपले करिब दुई हप्तामा प्रतिरोधात्मक क्षमता विकास गर्दछ । अहिले दैनिक नयाँ संक्रमित भेटिने क्रम घटेको छ । खोप अभियानको अन्तिम दिन १४ गते शनिबारसम्म दुई सय २४ जना संक्रमित संख्या पुगेकोमा दुई सय २० जना निको भइसकेका छन् । उक्त नयाँ बिरामी फेला परेनन् ।
लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाउनुलाई उपमहानगरपालिकाले महामारीविरुद्ध एक चरणको खतरा पार गरेको अर्थमा लिएको बस्नेत बताउँछन् । तर, पहिलेदेखि नै खोपको पहुँचमा आउन छुट्दै आएको समुदायमा अझै केही बालबालिका छुटेको हुनसक्ने आशंकालाई आधार मानेर जनचेतनाका कार्यक्रम र खोजीका कार्यक्रमहरु भने जारी रहेको उनले जानकारी दिए ।
अहिले उपमहानगरपालिकाले महामारीमा भएको करिब चार लाख रुपैयाँ खर्च उपलब्ध गराइसकेको र थप आवश्यक परेका व्यवस्था गर्ने आश्वासन पाएको बस्नेतले जानकारी दिए । यसैगरी संघ सरकारले आवश्यक परेको खर्च उपलब्ध गराउने आश्वासन दिएको उनले बताए । बस्नेत दादुरा महामारी रोक्न उपमहानगरपालिकाले अपनाएको उपाय र आर्जन गरेको अनुभव अन्य स्थानीय तहलाई पनि उपयोगी हुनसक्ने विश्वास व्यक्त गर्छन् ।









प्रतिक्रिया दिनुहोस्