वीरेन्द्र जैसी । नेपालगन्ज ।
शैक्षिक गुणस्तरका दृष्टिकोणले लुम्बिनी प्रदेशमा १२ जिल्लामध्ये बाँके कमजोर अवस्थामा देखिएको छ । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०७७ सालमा संकलन गरेको तथ्यांकअनुसार बाँकेमा कक्षा १० मा विद्यालय छोड्ने दर २ दशमलव ५ प्रतिशत छ । यो प्रदेशभरिमा दोस्रो उच्च प्रतिशत हो । प्रदेशमा सबैभन्दा बढी गुल्मीमा २ दशमलव ८ प्रतिशतले कक्षा १० मा विद्यालय छोड्ने गरेका छन् ।
प्रदेशभरिको तथ्यांक हेर्दा लुम्बिनी प्रदेशमा मात्र १ दशमलव ७३ प्रतिशतले कक्षा १० मा विद्यालय छोड्ने गरेका छन् । बाँकेको विद्यालय छोड्ने दर प्रदेशको भन्दा पनि बढी हो । २०७८ सम्म आइपुग्दा बाँकेमा कक्षा छाड्ने दर ५.१९ प्रतिशतमा चढेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेको तथ्यांकले देखाउँछ । २०७७ सबैभन्दा कम कक्षा छोड्ने दर प्रदेशमा पाल्पा र प्युठानमा थियो ।
यसैगरी बाँके लुम्बिनी प्रदेशका १२ जिल्लामध्येमा कक्षा दोहो¥याउने दरको हिसाबले पनि अग्रपंक्तिमा छ । २०७७ सालमा प्रदेशका १२ वटा जिल्लामा कक्षा पाँचमा कक्षा दोेहो¥याउने विद्यार्थीहरुको तथ्यांक मात्रै हेर्ने हो भने बाँके जिल्ला सातौँ नम्बरमा पर्छ । बाँकेमा कक्षा दोहो¥याउने प्रतिशत ४ दशमलव ३ प्रतिशत रहेको थियो । बाँकेको कक्षा पाँचमा कक्षा दोहो¥याउने दर २०७८ मा आइपुग्दा बढेर १२ दशमलव २ प्रतिशत पुगेको छ । प्रदेशमा २०७७ सालमा कक्षा सबैभन्दा कम दोहो¥याउने विद्यार्थी रहेको रुपन्देही र रुकुम पूर्व रहेका थिए । जहाँ मात्र ३ दशमलव ३ प्रतिशतले मात्रै कक्षा पाँचमा दोहोरिएका थिए ।
२०७६ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको एक अध्ययनले विद्यालय छाड्ने दर उच्च हुनेमा अति गरिब परिवारका बालबालिका धेरै भएको तथ्य सार्वजनिक गरेको थियो । अध्ययनका क्रममा विद्यालय भर्ना उमेर समूहका एक सय बालबालिकामध्ये ७६.२ प्रतिशत बालबालिका मात्र विद्यालयमा भर्ना भएको देखिएको छ । प्राथमिक तहमा भर्ना भएका अति गरिब परिवारका ७६.२ प्रतिशत बालबालिकामध्ये २४.९ प्रतिशत बालबालिका मात्र आधारभूत (निम्न माध्यमिक) तहमा पुग्ने गरेका र ७.६ प्रतिशत मात्र माध्यमिक (कक्षा १०) तहसम्म पुग्ने गरेका उक्त अध्ययनले देखाएको थियो ।
त्यस्तै उच्च शिक्षामा हेर्ने हो भने जम्मा एक प्रतिशतभन्दा कम विद्यार्थी मात्र उच्च शिक्षामा पुग्ने गरेका मन्त्रालयकै तथ्यांकले देखाएको थियो । ‘शिक्षामा सरकारको नीति तथा कार्यक्रम’ विषयक उक्त प्रतिवेदनका अनुसार प्राथमिक तहमा भर्ना भएका बालबालिकामध्ये ५१.३ प्रतिशत बालबालिकाले बीचैमा विद्यालय छाड्ने गरेका छन् । त्यस्तै माध्यमिक तहमा पुग्दा ६८.६ प्रतिशत बालबालिका बीचैमा हराउछन् । यो संख्या बढ्दै गएर उच्च माध्यमिक तहमा पुग्दा ९९ प्रतिशत पुग्ने गरेको छ भने उच्च शिक्षामा अति गरिब परिवारक न्यून विद्यार्थी मात्र पुग्ने गरेको तथ्य फेला पारेको छ ।
बाँके शैक्षिक संस्थाका हिसाबले भने धनी छ । यहाँ तीन सय ७१ सामदायिक र दुई सय सातवटा संस्थागत गरी जम्मा पाँच सय ७८ वटा विद्यालयहरु छन् । यसैगरी लुम्बिनी प्राविधिक विश्वविद्यालय पनि यही जिल्लामा सञ्चालनमा आउँदै छ ।
त्रिभुवन विश्वविद्यालयका दुईवटा आंगिक क्याम्पस रहेको बाँकेमा १५ वटा निजी लगानीका क्याम्पस, तीनवटा सामुदायिक क्याम्पस र एउटा मेडिकल कलेज छ । जिल्लामा कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय पढाइ हुने विद्यालयहरु ११ वटा छन् । जहाँ कृषि प्राविधिकदेखि कम्प्युटर ओभरसियरसम्मका विषयमा पढाइ हुने गरेको छ ।
१२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशभरिमा चार हजार पाँच सय ८५ सामुदायिक र एक हजार एक सय २२ संस्थागत गरी जम्मा पाँच हजार सात सय सातवटा विद्यालय छन् । यस प्रदेशमा तीनवटा विश्वविद्यालय, १३ वटा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस, ९२ वटा सामुदायिक क्याम्पस, ६४ वटा निजी क्याम्पस र चारवटा मेडिकल कलेज सञ्चालनमा छन् ।
विद्यालय क्षेत्र सुधार योजनाले विद्यार्थी शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा उपत्यकामा ४० रहनुपर्ने उल्लेख गरेको छ । तर, लुम्बिनी प्रदेशको शैक्षिक दर्पण २०७७ मा उल्लेख भएअनुसार प्रदेशका सामुदायिक विद्यालयमा प्राविमा २३.७३, निमाविमा ६६.११, कक्षा नौदेखि १० मा ४६.४७ र कक्षा ११–१२ मा ८७.६१ छ । यो अनुपात संस्थागत विद्यालयहरुमा झन कम छ । संस्थागत विद्यालयमा प्राविमा १८.५७, निमाविमा २९.६४, कक्षा नौदेखि १० मा १४.८१ र कक्षा ११–१२ मा १९.८८ रहेको छ ।
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस
आज शिक्षा अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिका स्मरण गराउन हरेक जनवरी २४ तारिबलाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको थियो । यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा पनि ‘जनतामा लगानी, शिक्षामा प्राथमिकता’ रहेको छ ।
विश्वव्यापी मन्दी, बढ्दो असमानता र जलवायु संकटको पृष्ठभूमिमा सबै दिगो विकास लक्ष्यहरूमा प्रगतिलाई गति दिन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने ध्येय दिवसको रहेको छ । अहिले पनि विश्वमा दुई सय ४४ मिलियन बालबालिका र युवाहरू विद्यालय बाहिर रहेका र सात सय ७१ मिलियन वयस्कहरू निरक्षर रहेका तथ्यांक छ ।









प्रतिक्रिया दिनुहोस्