गम्भीर प्रकृतिका उजुरीमा छानबिन गर्नु र थप घटनाहरु हुन नदिनु प्रहरी प्रमुखको प्रमुख चुनौतीको रुपमा देखिन्छ । अहिलेको अवस्थामा पनि दाइजोका कारण महिलाहरुले दर्दनाक मृत्युवरण गर्नु सुरक्षाको मुख्य चुनौती मान्नुपर्छ ।
नेपालगन्ज ।
अलग्गै सामाजिक, भौगोलिक विशेषता रहेको र विविध समुदायको बसोबास रहेको बाँके जिल्लामा सुरक्षा चुनौतीका चाङ पनि त्यतिकै छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खरै प्रहरी प्रमुख परिवर्तन भएका छन् । एसपी सन्तोषसिंह राठौर नयाँ प्रहरी प्रमुखको रुपमा आएका छन् । प्रहरी प्रमुखहरुको जिल्लामा कार्यकाल सम्झनलायक भएको कमै छ ।
यसभन्दा अघि प्रहरी प्रमुख रहेका एसपी श्यामकृष्ण अधिकारीको कार्यकालमा महिला हिंसाका घटनामा विवादित भएका घटना सार्वजनिक भए । महिलाहरु झुण्डिएको अवस्थामा मृत फेला परेका घटनामा एसपीको भूमिका पीडितमैत्री नभएको गुनासो पटकपटक सुन्नुप¥यो । चाहे जानकी गाउँपालिकाकी गोल्डी बर्मा होउन् चाहे राप्तीसोनारीकी अपसरुल खानको घटनामा होस् ।
प्रहरीले पीडित पक्षले ल्याएका जाहेरी जबरजस्ती तोडमोड गर्न लगाएको भन्दै पीडितहरुले सञ्चारमाध्यम गुहारे । शरीरमा निलडामसहित मृत्यु भएका ती महिलाहरुको मृत्यु पछाडि दाइजो नल्याएका कारण दिइएको यातना प्रमुख कारण रहेको पीडितहरु बताउँछन् । पीडितहरु उनीहरुले आत्महत्या नभइ हत्या भएको दाबी गर्दै आएका छन् । यी केशहरुको यथार्थ छानबिन गर्नु र थप घटनाहरु हुन नदिनु प्रहरी प्रमुखको प्रमुख चुनौतीको रुपमा देखिन्छ । अहिलेको अवस्थामा पनि दाइजोका कारण महिलाहरुले दर्दनाक मृत्युवरण गर्नु सुरक्षाको मुख्य चुनौती मान्नुपर्छ ।
बाँकेमा ६५ किलोमिटर भारतसँग जोडिएको खुला सीमा छ । यो खुला सीमाले तस्करी र लागुऔषधको सुरक्षा चुनौती सिर्जना गरिरहेका छन् । प्रहरीसम्म पुग्ने अधिकांश अपराधका घटनामा जोडिएर आउँछ, लागुऔषध दुव्र्यसनी । खुला सिमाना र फितालो सुरक्षा रणनीतिले बाँकेमा लागुऔषध दुव्र्यसनी र व्यापार अनियन्त्रित छ ।
यसले भारतसँग सीमा जोडिएको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको छ । भारतीय सीमावर्ती बजारबाट लुकाइछुपाइ लागुऔषध ल्याउने गरिन्छ । प्रहरीका अनुसार लागुऔषध दुव्र्यसनीमा फसेकाहरूको संलग्नता अन्य अपराधिक घटनामा रहने गरेको छ । विशेष गरी चोरी, हत्या, तस्करमा लागुऔषध प्रयोगकर्ताको सम्बन्ध जोडिने गरेको छ ।
भारतीय सिमाना नजिकैका गाउँहरु जयसपुर, जमुनाह नाका, राधापुर, साइगाउँ, नरैनापुर लागुऔषध भित्रिने मुख्य नाकाका रुपमा छन् । लागुऔषध बाँके हुँदै कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । २०६९ सालमा गृह मन्त्रालयले गरेको अनुसन्धानमा बाँकेमा कडाखालको लागुऔषध प्रयोगकर्ता चार हजार बढी रहेका खुलेको थियो । अहिले यो संख्या १० हजारमाथि रहेको अनुमान छ ।
प्रहरीमा नयाँ प्रमुख आएसँगै विभिन्न नाममा लागुऔषधविरुद्धका अभियानहरु सुरु हुन्छन् । तर बीचमै सेलाएर जान्छन् ।
तीनको प्रतिफल के भयो र अहिलेको अवस्था के हो भन्ने विषयमा कुनै पनि आधिकारिक अध्ययन भएको छैन । खुला सीमाकै कारण तस्करी रोक्न नसकिने गरेको प्रहरीले दाबी गर्ने गर्छ । तर मुख्य नाका जमुनाहबाटै हुने तस्करी रोक्न पनि प्रहरी असफल भएको र कतिपय अवस्थामा प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको आरोप लाग्ने गर्छ ।
घुमुवा प्रहरी तस्करी रोक्न नभइ ‘लाइन मिलाउन’(तस्करीका लागि बाटो खाली गराउन) दुरुपयोग हुने गरेको आरोप लाग्छ । विभिन्न स्थानमा राखिएका चेकपोष्टहरु पार गर्दै मुख्य बजारमा आइसकेपछि तस्करीका सामानहरु पक्राउ पर्ने गरेका छन् । तस्करीकै कारण नेपालगन्जको व्यवसाय चौपट भएको व्यवसायीहरु गुनासो गर्छन् ।
यसका साथै सडक दुर्घटना पनि बाँकेमा अत्यधिक बढेका छन् । सडक चौडा र फराकिला भए पनि दुर्घटनाहरु भइरहनुका पछाडि सवारी नियमको उल्लंघन र प्रहरीको निगरानी नै मुख्य कारण छन् । यसका साथै पछिल्लो समय गुण्डागर्दीका घटनाहरु पनि बढ्न थालेका छन् । दिनदहाडै खुकुरी प्रहर गरी मरणसन्न बनाएको घटना अझै सेलाउन पाएको छैन । लामो समय गुण्डाहरुको नाम नसुनिएको नेपालगन्जमा फेरि गुण्डाहरु सलबलाउन थालेका छन् । यसले आफू पनि थप चनाखो बनेको बाँकेका नयाँ प्रहरी प्रमुख राठौर बताउँछन् ।
उनले विभिन्न नाममा हुने हत्या र आत्महत्या निरुत्साहन र घटनाको अनुसन्धान, लागुऔषध दुरुपयोग नियन्त्रण, तस्करी, सवारी दुर्घटना र गुण्डागर्दी नियन्त्रण आफ्नो मुख्य काम हुने बताएका छन् । यसका साथै महामारीजन्य प्रकोपहरुमा पनि प्रहरीको सक्रियता बढाउने उनले बताए । उनले मिसन टुडेसँग बोल्ने नभइ काम गरेर देखाउने व्यक्तिका रुपमा आफूलाई अथ्र्याए ।
एसपी रौठोरले भने, ‘मैले हल्लाखल्लाभन्दा पनि काम गरेर देखाउछुँ । बाँके जिल्लाको वस्तुस्थितिलाई ध्यानमा राखेर सुरक्षा रणनीति अपनाउछौं । हामीलाई हाम्रा ऐन कानुन र दस्ताबेजहरुले के गर्ने ? के नगर्ने ? प्रष्ट भनेको छ । त्यहीअनुसार अघि बढ्छौँ,’ उनले भने । उनले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायसँग समन्वय बढाउने बताए । ‘अपराध नियन्त्रणमा प्रहरी एक्लै गर्नेभन्दा पनि समुदायको नै साथ चाहिन्छ । त्यसका लागि समुदायस्तरमा जनचेतनाका काम पनि हामी गर्छाैं,’ उनले भने ।
सन्तोषसिंह राठौर,
एसपी, प्रहरी प्रमुख, बाँके
मैले हल्लाखल्लाभन्दा पनि काम गरेर देखाउछुँ । बाँके जिल्लाको वस्तुस्थितिलाई ध्यानमा राखेर सुरक्षा रणनीति अपनाउछौं । हामीलाई हाम्रा ऐन कानुन र दस्ताबेजहरुले के गर्ने ? के नगर्ने ? प्रष्ट भनेको छ । त्यहीअनुसार अघि बढ्छौं ।
अपराध नियन्त्रणमा प्रहरी एक्लैले गर्नेभन्दा समुदायको नै साथ चाहिन्छ । त्यसका लागि समुदायस्तरमा जनचेतनाका काम पनि हामी गर्छाैं ।









प्रतिक्रिया दिनुहोस्