27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

निर्वाचनले महत्व नदिएको शिक्षा क्षेत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

बिहानको मौसम स्वास्थ्यका हिसाबले बिछट्टै लाभदायक र स्वस्थकर थियो । हामीअर्थात मित्र खिम केसी र म मर्निङ्वाकको क्रममा अलि कम चल्तीको पिचबाटो हुँदै गाउँतिर लाग्यौं । पिचबाटो सकिएपछि गाउँ सुरु हुन्थ्यो । गाउँ सुरु हुनुभन्दा पहिले बाटोकै छेउमा आधारभूत विद्यालय पनि थियो । हामी अघिपछि त्यहीबाट फर्किन्थ्यौं । त्यो दिन भने दुवैको सल्लाहअनुसार ग्रावेल बाटो हिँड्दै गाउँभित्रसम्म गएर फर्कने निधो ग¥यौं । गाउँपसेपछि भने पर्यावरण हामीले सोचेजस्तो स्वस्थकर देखिएन । वयस्कहरु लोटा बोकेर खेततिर लाग्दै थिए भने साना बालबालिकाहरु लोटाबिनै ग्रावेल सडकको छेउछाउमा बसिरहेका थिए । यस्तैमा चुनावी नेताको झण्डावाल गाडी पनि कुद्दै गाउँ पस्यो । गाडीले बाटो छेउछाउको दिशाजन्य फोहोर पनि उछिट्याउँदै र नमूना मतपत्र बाँड्दै अघि बढिरह्यो । हामी भने हत्केलाले नाक थुनेर छेउ लाग्यौं । गाउँबाट निस्किएपछि बल्ल अलि राहत महसुस भयो । गाउँभित्र हिँड्दाको पाँचसात मिनेट समयसम्म त श्वास फेर्न पनि धौधौ हुने गरी हिँडियो । त्यसपछिका बिहानीहरुमा भने मर्निङ्वाकका लागि उक्त गाउँभित्र प्रवेश गर्ने धृष्टता गरिएको छैन ।

पशुपंछीभन्दा मानिस चेतनाको हिसाबले सर्वश्रेष्ठ प्राणी हो । पशुपन्छीले विगत र विगतको भोगाइको आधारमा वर्तमानको बारेमा जानकारी हासिल गर्छन । अर्थात उनीहरुले देखेको कुनै कुरा उनीहरुको मस्तिष्कमा चित्र बनेर बस्छ । तर उनीहरुले पहिले नदेखेको बस्तु र विषयको बारेमा सोच्न सक्दैनन् । अर्थात भविष्यको योजनाको बारेमा उनीहरु चिन्तन् मनन् गर्न सक्दैनन् । यदि त्यसो गर्न सक्ने भए त गाईले आफ्नो बाँच्छीलाई दिनु पर्ने दूध बाँच्छीको मुखबाट छुटाएर गोठालोलाई किन दिन्थ्यो होला र ? मानिस चेतनशील प्राणी त हो तर चेतनालाई तिखार्न र धार लगाउनका लागि शिक्षा चाहिन्छ । शिक्षा पनि निरपेक्षरुपमा अक्षरको खेती गर्ने शिक्षा होइन कि अक्षरसँगै जीवन पनि अन्तरघुलन भएको शिक्षा चाहिन्छ । हाम्रो शिक्षा व्यवहारतः त्यस्तो हुन पनि सकिरहेको छैन । त्यस्तो हुन्थ्यो भने त गाउँबस्तीकै छेउमा रहेको विद्यालयले खुला दिशायुक्त पर्यावरणलाई किन मुकदर्शक भएर दशकौंदेखि हेरिबस्थ्यो होला र ? विषयको अर्को पक्ष भनेको विगतदेखि अहिलेसम्म पनि शिक्षा सरकारको प्राथमिकता नै परेन ।

       जीतबहादुर शाह

मानिस चेतनशील प्राणी भए ता पनि मानिसले आफ्नो चेतनालाई माझ्न सकेन । त्यस कारण मान्छे र पशुको बीचमा अन्तर छुट्याउन गाह्रोगाह्रो भइरहेको अवस्था छ । जसरी गाईले आफ्नो बाँच्छीले खाने दूधलाई गोठालोले दोएर लैजाँदा कुनै आपत्ती र पिरलो पोख्दैन, त्यसरी नै खेतबारी र सडक छेउमा दिसाजन्य फोहर हुँदा जीवनलाई के हानी हुन्छ भन्ने कुराको बारेमा चेतनशील भनिएको मान्छेले पनि कुनै आपत्ती जनाउँदैन । चेतनालाई अद्यावधिक गर्ने शिक्षा भएन उनीहरुसँग । जसरी चुम्बकमा खिया लाग्यो भने खिया लागेको चुम्बकले चुम्बकीय बस्तुलाई आकर्षण गर्न सक्दैन त्यसरी नै मानिस चेतनशील भए पनि उसँग चेतनालाई अद्यावधिक गर्नका लागि जीवनसँग जोडिएको शिक्षा भएन भने उसको चेतनाले पनि गर्नुपर्ने जस्तो काम गर्दैन । अर्को शब्दमा भन्नुपर्दा मानिसमा शिक्षा नहुनु भनेको चुम्बकमा खिया लाग्नु जस्तै हो । जसले गर्दा मानिसको चेतनाले काम गर्दैन । मानिसको चेतनाले काम गर्न नसकेपछि मानिस र पशुमा खासै भिन्नता छुट्याउन गाह्रो हुन्छ । बिहानीपख गाउँबस्तीमा देखिएको खुला दिसाजन्य पर्यावरणको अवस्था त्यसैको परिणाम हो भन्दा अन्यथा हुन्छ भन्ने मलाई लाग्दैन ।

हेलेन केलारको भनाइ छ, ‘आँखामा दृष्टी नहुनुभन्दा नराम्रो त्यत्तिबेला हुन्छ जति बेला मानिससँग आँखामा दृष्टि भएर पनि उससँग जीवनको दूरदृष्टि हँुदैन ।’ हेलेन केलारको जीवनी पढ्दा बोध हुन्छ जन्मिदा सुन्दर र सवलाङ्ग जन्मिएकी उनी जन्मिएको १९ महिनापछि उनी लामो समयसम्म सञ्चै नहुने ज्वरोको कारण बिरामी हुन्छिन् । डाक्टरहरुले सञ्चो हुने कुरामा हार मानिसकेको अवस्थामा अन्ततः ज्वरो त ठीक हुन्छ तर उनको बोल्न सक्ने, सुन्न सक्ने र देख्न सक्ने क्षमता भने गुम्छ । उनलाई अध्यापन गर्ने शिक्षिका एनि सरिभान र सारा फुलरको कुशलताका कारणले धेरै समयपछि उनको बोली त फर्कन्छ तर देख्ने र सुन्ने शक्ति भने सधैका लागि गुम्छ । तथापि उनले जीवनमा हेच मारेर कहिल्यै बसिनन् । यस्तै अवस्थामा उनले सामाजिक क्षेत्रमा हात हालिन् । आफूजस्तै अपाङ्गहरुको न्याय र समानताको आवाज उठाउदै मानवताबादी आन्दोलनमा सरीक भइन । तीन दर्जन भन्दा बढि मुलुकहरुको भ्रमण गरिन् । दर्जनभन्दा बढि पुस्तकहरु लेखिन । विभिन्न अन्तर्राष्ट्रियस्तरका अवार्डहरुबाट सम्मानित पनि भइन् । आँखामा दृष्टि नभएर के भयो त ? जीवनको दूरदृष्टिलाई सानदारका साथ सफल गर्दै दुनियाँका निम्ति प्रेरणाको स्रोत बनेर आफ्नो जीवन सफलतापूर्वक बाँचिन ।

हाम्रा चुनावमा होमिएका दल र उम्मेदवारहरु भने निरक्षर र खुला दिसाजन्य बस्तीमा गएर निरक्षरता र फोहरजन्य वस्तीलाई साक्षर र स्वच्छ बनाउने कुरामा गम्भीर देखिदैन । अशिक्षा र गरीबि मानिसका हरेक समस्याका जड कारणहरु हुन्् । त्यसमा पनि वस्तीबाट अशिक्षा हटाउनुको अर्थ हुन्छ क्रमशः गरीबिलाई पनि हटाउनु । अध्ययन अनुसन्धानले समेत के देखाएको छ भने शिक्षित मानिस भन्दा अशिक्षित मानिसहरु गरीब हुने गर्दछन् । कुरोको चुरो यसो भएपनि हाम्रा चुनावी नेताहरुको प्रमुख एजेन्डामा शिक्षा कहिल्यै पर्न सकेन । परे पनि विद्यालय खोल्ने र विद्यालयमा अध्यापन गर्ने शिक्षक आफ्नो पार्टीको हुनुपर्ने सम्म मात्र पुगेर नेता र सरकारले गर्ने शिक्षाको कर्म सम्पन्न भएको देखिन्छ ।सबै समस्याको समाधानरुपि शिक्षालाई कामयावी बनाउने तर्फ उम्मेदवारहरुसमेत मौन छन् । चुनावी नेताहरुले गर्ने कुरा त टाढाको होला, चुनावी एजेण्डामा समेत गुणस्तरीय शिक्षाको कुरालाई मन खोलेर समावेश गरेको पनि देखिदैन । यसो विश्लेषण गर्दा गाउवस्तीका निरक्षर मानिसहरुको त दूरदृष्टि भएन नै, उनीहरुको नेतृत्व गर्ने नेताहरुको समेत समाजको उन्नतिर प्रगति गर्ने दूरदृष्टि भएन । मात्र उनीहरुको दूरदृष्टि गाउँवस्तीभित्र वर्षौसम्म अशिक्षा र गरीवि कायम राखी त्यहाँका मानिसहरुको मत मासुचिउराको भरमा खरिद गरेर वर्षौसम्म रजाइ गर्ने हो कि जस्तो लाग्दैछ ।

नेपालमा खुल्ला दिसा मुक्त अभियान अन्तर्गत गाउटोलमा शौचालय बनाउने अभियान चलाइयो । शौचालय त बने तर तिनको उचित प्रयोग हुन सकेन । कुखुरा खोर, सँुगुर खोर र घाँसदाउरा राख्ने स्थानको रुपमा प्रयोग गरिए शौचालयहरु । छाउप्रथाको विरुद्धमा पुलिस प्रशासन समेत लागेर छाउगोठहरु भत्काउने काम गरियो । पुलिसले भत्काएका छाउगोठहरुको पुनर्निमाण गरे बस्तीमा मान्छेहरुले । यथार्थमा शौचालय किन बनाउने ? किन प्रयोग गर्ने ? र छाउगोठ किन भत्काउने? भन्ने बारेमा राम्रोसँग हामीले शिक्षा र चेतना दिन सकेनौं । यो अभियानमा विद्यालयहरुले अगुवाइ गर्नु पर्ने हो तर गरेको देखिदैन । शिक्षालाई जीवनमा अनुवाद गर्ने काममा शिक्षक र विद्यालयहरु जति उदासीन छन् त्यो भन्दा बढि उदासीन सरकारहरु छन् । संसारमा शिक्षा राम्रो तर अरु कुरा नराम्रो भएको मुलुक पनि खोजी भेटिन्न र शिक्षा नराम्रो तर अरु कुरा राम्रो भएको मुलुक पनि भेटिदैन । परिवारका मानिसहरु शिक्षित र पढेलेखेका छन् भने त्यो घरमा शौचालय बनाउनका लागि कसैले भन्नै पर्दैन न त त्यो परिवारका छाउगोठ भत्काउन नै जानुपर्दछ । अफशोच, मिडियाका अनुसार अहिले पनि तराइका १३६ पालिकाहरु निरक्षर छन् र निरक्षर पालिकाहरुमा खुल्ला दिसामुक्त अभियान पनि सफल हुन सकेको देखिदैन ।
हाम्रो देशका नेता र सरकारहरुले शिक्षालाई ध्वस्त बनाएर पनि अरु क्षेत्रको विकास गर्ने नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् कि झै लाग्दैछ । हाम्रा देशका हर्ताकर्ताहरुले उर्जावान युवाहरुलाई विदेश पठाएर बृद्धबृद्धाहरुको आडभरोसामा बृद्धबृद्धाहरुको नेतृत्वमै देशलाई सुशासनयुक्त र समुन्नत बनाउने नयाँ शैली प्रतिपादन गरेका हुन् कि झै लाग्दैछ । मलाई लाग्छ यो पाराले त देश वर्तमानमा त गतिलो हुन सकेन नै, भविष्यमा पनि गतिलो हुन नसक्ने निश्चित देखियो । भोलिका देशका कर्णधारको रुपमा काम गर्ने आजका बालबालिकाहरुलाई नै कामयावी शिक्षा प्रदान गर्न सकेनौं । सरकारले दुई हप्तामा मुलुकभरि मतपत्र पठाउन सक्छ तर वर्षदिन हुन लाग्दा पनि विद्यार्थीका पाठ्यपुस्तकहरु पूरा सेटमा विद्यालयमा पु¥याउन नसकेको अवस्था छ । प्राथमिकतामा नपरेपछि यस्तै हुन्छ । रविन्द्र मिश्रले भने झै विदेशी मुलुकहरुले भिसा दिने कामलाई खुकुलो गरिदिए भने कुनै पनि नेपाली युवा शक्ति नेपालमा बस्ने छैनन् भन्ने कुरालाई सहजरुपमा आँकलन गर्न सकिन्छ । अनि यसरी बन्छ त देश ? युवा शक्ति सबैलाई विदेश पठाएर के साँच्ची पुशपतिनाथ र तेत्तीस कोटी देवीदेवताले बनाउने हुन् त देश ?

देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि दुई अवधि नहुदै मानिसहरु नेताहरुसँग आत्तिएको अवस्था छ । कुनै राजनीतिक पार्टी पनि भरपर्दो देखिएनन् । राज्यलाई दोहन गरेर सुविधा लिने सवालमा सबै पार्टी मिलिहाल्छन् । पदावधि समाप्त भएपनि भिभिआइपीहरुले सुरक्षा र यातायातका लागि सरकारबाट सुविधा लिने कुरामा सबैको सहमति छ । मुलुक भन्दा राजनीतिक दल र नेताहरुको भलो चिताउन थालेपछि नागरिकहरु वाक्क भइसकेका छन् । त्यसैले पनि स्थानीय लगायत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदाताहरुको क्रेज स्वतन्त्र उम्मेदवारहरु तर्फ बढ्दो छ । मानिसहरु राइट टु रिजेक्ट तिर पनि उन्मुख भएको देखिन्छ । सर्वोच्च अदालतले २०७६ असोज १ गते नेपालको सरकारको नाममा कानून बनाइ नागरिकको राइट टु रिजेक्टलाई सम्बोधन गर्नदिएको आदेशलाई निर्वाचन आयोगले आगामी निर्वाचनहरुमा कार्यान्वयन गर्ने गरी कानून बनाउन सकारात्मक किसिमले अघि बढेको देखिन्छ ।

अर्थविदहरुका कुरा सुन्दा लाग्छ, मुलुक टाटपल्टिने स्थितिमा आइसकेको छ । घोषणा गर्न मात्र बाँकी छ । सरकार र बैंकहरुसँग पैसा छैन । भएको पैसा मुठ्ठीभर मानिसहरुले घरलाई नै बैंक बनाएर राखेको अवस्था छ । निर्माण कार्य ठप्प छ । निर्माण सामग्री उत्पादन गर्ने सिमेण्ट र सरियाका उद्योगहरु बन्द हुने स्थितिमा छन् । देशको सोधनान्तर स्थितिमा चौध महिनापछि केही सुधारोन्मुख देखियो भनिए पनि त्यसको प्रभाव सुन्य छ । निर्वाचनमा दलहरुले यो भत्ता र उ भत्ता बढाएर बाँड्छौं भन्दै घोषणा पत्रमा लेखिए पनि अन्ततः कर्मचारी, सेना, प्रहरी र शिक्षकहरुलाई तलब दिन समेत विदेशीहरुलाई हारगुहार गर्ने स्थिति आइसकेको छ । एकातिर देशको यस्तो जटिल अवस्थामा निर्वाचन हुन थालेको छ भने अर्कोतिर राजनीतिक दल र उम्मेदवारहरु यस्ता कुराहरुबाट बेखवर जस्ता देखिएका छन् ।

राजनीतिक दल र उम्मेदवारहरुलाई हामीले यो कुरा बुझाउन नसके पनि एक दिन समयले क्रुर शिक्षक भएर यो कुरा सिकाउने छ । आशा र अपेक्षा गरौं कि समयले क्रुर शिक्षक भएर सिकाउनु पूर्व नै अब चुनिएर आउने जनप्रतिनिधिहरुको विवेकरुपि घैटौमा घाम लागिसकेको हुनेछ । हामी मतदाताहरुको पनि पैसा र प्रलोभनमा नफसी इमान्दार र दूरदृष्टि भएका नेताहरुलाई जिताउने सवालमा बुद्धि फर्किसकेको हुनेछ । हामीले जिताउने अवका नेताहरु बिगतका जस्ता शिक्षा, बालबालिका र युवाविरोधी हुने छैनन् । बरु गुणस्तरीय शिक्षा मार्फत देशमै रोजगारी सिर्जना गरेर देशलाई उभो लगाउने काममा नेताहरुले आफूलाई समर्पित गर्नेछन् । यसका लागि निर्वाचनबाट चुनिएर आउन सबैमा अग्रीम बधाइ एवम् शुभकामना ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     9:15:08 AM  |