समयभन्दा पहिले नै तपाईंको छोरी जवान हुँदैछिन् ? अभिभावकले यी कुरामा दिनुपर्छ ध्यान



हिजो–आज बालिकाहरूमा चाँडै यौवनावस्था शुरू भइरहेको छ । तुलनात्मक रूपमा हेर्ने हो भने विगतभन्दा अहिले बालिकाहरूले चाँडै यौवनावस्थामा प्रवेश गरिरहेका छन् ।

यस्तो अवस्थालाई लिएर अधिकांश अभिभावकहरू चिन्तित देखिन्छन् । अभिभावकहरू आफ्नो बालिका चाँडै ठूली भएको कुराले चिन्तित देखिएका हुन् । यस विषयमा विभिन्न अनुसन्धानहरू पनि भइरहेका छन् ।

यौवनावस्था शुरू भएपछि बालिकाहरूमा शारीरिक परिवर्तनहरू देखिन थाल्छन् । किशोरावस्थामा प्रवेश गरेपछि बालिकाहरूको केही अंगहरूको विकास हुन थाल्छ । केही अंगहरूमा परिवर्तन पनि देखिन थाल्छ । यो प्रक्रिया सामान्यतया बालिकाहरूमा १० देखि १४ वर्षको उमेरमा देखिन थाल्छ । केहीमा १२ देखि १६ वर्षको बीचमा पनि यस्तो परिवर्तन देखिन सक्छ । किशोरावस्थामा छोरा र छोरीमा फरक प्रकारको परिवर्तन देखिन्छ ।

किशोरावस्थामा प्रवेश गरेपछि बालिकाको छाती (स्तन)को आकार बढ्न थाल्छ । तर, हिजोआज उमेर पहिले नै यस्तो परिवर्तन देखिन थालेको छ । जसले गर्दा अभिभावकहरूलाई चिन्तित बनाएको छ ।

उनीहरू यस्तो समस्या लिएर चिकित्सक कहाँ पुग्ने क्रम बढेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालै एक अभिभावक आफ्नो ७ वर्षकी छोरीको छातीको आकार अस्वाभाविक रूपमा बढेको भन्दै चिकित्सकसँग पुगेका थिए ।

बाल चिकित्सक तथा एण्डोक्रिनोलोजिस्टका अनुसार समय अगावै यौवनवस्था शुरू हुने क्रम बढिरहेको छ । यसले गर्दा भविष्यमा थुप्रै समस्याहरूको सामाना गर्नु पर्नेछ ।

समय अगावै यौवन अवस्था शुरू हुँदा शारीरिक तथा मनोवैज्ञानिक समस्या झेल्नु पर्ने हुनसक्छ । जस्तै, डिप्रेसन, मोटोपना, खानामा अरुची तथा क्यान्सरलगायतको समस्या झेल्नुपर्ने हुनसक्छ ।

किशोर (यौवन) अवस्थामा पुगेको संकेत

अधिकांशले महिनावारी शुरू हुनुलाई यौवन अवस्थामा पुगेको संकेतका रूपमा बुझ्छन् । तर, छातीको आकार बढ्नु, यौनांगमा रौँ पलाउनु पनि किशोरावस्थामा प्रवेश गरेको संकेत हो । काखी मुनीबाट गन्ध आउनु, काखी मुनी रौँ आउनुलगायतलाई पनि किशोरावस्थाको संकेत मानिन्छ ।

पहिले ८ वर्षको उमेरमा किशोरावस्थाको संकेत देखिनुलाई असामान्य मानिन्थ्यो । तर, एक अध्ययनअनुसार आजकल १५ प्रतिशत बालिकाको ७ वर्षको उमेरमै छातीको आकार बढ्न थालेको देखिएको छ भने, ८ वर्षको उमेरमा २५ प्रतिशत बालिकाको छातीको आकार बढ्न थाल्ने देखिएको छ । यही उमेरमा २० प्रतिशत बालिकाको यौनांग वरिपरि रौँ आउन थालेको देखिएको छ ।

चाँडै किशोरावस्थामा प्रवेश गर्नुको कारण

माउन्ट सिनाई अस्पताल तथा सिनसिनाटी मेडिकल सेन्टर युनिभर्सिटीले गरेको अध्ययनमा चाँडै किशोरावस्थामा प्रवेश गर्नुको कारण पत्ता लागेको छ ।

अध्ययन अनुसार बोसो उत्पादन गर्ने गन्थी धेरै सक्रिय हार्मोन ग्रन्थी हो । बोसो उत्पादन गर्ने कोशिकाहरूले अन्य हार्मोनहरूलाई एस्ट्रोजनमा रुपान्तरण गर्दछ । बालिकाहरूमा बढी बोसोको तन्तुका कारण यौवनावस्थाको प्रारम्भिक शुरूवातको सम्भावना बढ्ने देखिएको छ । यद्यपि, अनुसन्धानकर्ताहरूले मोटोपन चाँडै यौवनावस्था शुरू हुने प्रमुख कारण हो वा होइन भन्ने निष्कर्ष निकाल्न सकेका छैनन् ।

अनुसन्धानका क्रममा चाँडै यौवनावस्था शुरू हुनु र तनावबीचमा पनि केही सम्बन्ध देखिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार घरेलु हिंसामा परेका वा बुबाको संरक्षण नपाएका बालिकाहरूमा अन्य बालिकाहरूभन्दा पहिलो महिनावारी हुने सम्भावना धेरै हुने देखिएको छ । यसको पछाडि वैज्ञानिक कारण पनि देखिएको छ ।

जस्तो की लामो समयसम्म तनावमा रहने व्यक्तिको मस्तिस्कले चाँडो–चाँडो पुनर्उत्पादन गर्छ । पुनर्उत्पादनका लागि जिम्मेवार हार्मोन मस्तिष्कमा विकास हुन्छ । त्यसैले तनाव पनि चाँडै किशोरावस्थामा प्रवेश गराउने कारण हो ।

अभिभावकले ख्याल गर्नुपर्ने कुराहरू

खुलेर कुरा गर्नुहोस्ः आफ्नो छोरीमा शारीरिक परिवर्तन देखिन थालेमा उसँग यसका बारेमा खुलेर कुरा गर्नुहोस् । उसलाई किशोरावस्थामा देखिने शारीरिक परिवर्तनहरूका बारेमा बताउनुहोस् । यसलाई सबै बालिकाले यो अवस्थाको सामना गर्नुपर्ने कुरा सम्झाउनुहोस् । ताकी उ त्यस परिस्थितिका लागि तयार होस् ।

उमेरअनुसारको व्यवहार गर्नुहोस्

यदी तपाईंको बच्चामा चाँडै किशोरावस्था शुरू भए पनि त्यसलाई ख्याल गर्नुहोस् । तपाईंको बालिका चाँडै किशोरावस्थामा प्रवेश गरे पनि उसलाई ठूलोलाई गर्नेजस्तो व्यवहार नगर्नुहोस् । उनलाई उमेरअनुसार कै व्यवहार गर्नुहोस् ।

यदी तपाईंले उसको उमेर तथा कपडालगायतका विषयलाई लिएर गाली गर्नुभयो भने यसले बालिकालाई असहज महसुस हुने मात्र होइन, उसको आत्मविश्वास पनि कमजोर हुन्छ ।

मनोवैज्ञानिक तथा शारीरिक स्वास्थ्यमा ख्याल गर्नुहोस्

किशोरावस्था शुरू भएपछि बालिका परिपक्व हुन थाल्छिन् । यस्तो बेलामा अभिभावकहरूसँग धेरै समय बिताउन मन लाग्ने हुनसक्छ । त्यस्तो बेलामा समय दिनुहोस् ताकी तपाईंको छोरीलाई आफ्नो मनको कुरा भन्न सहज होस् ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रबार