मन्दिरको गुरुयोजना अलपत्र पर्नुको मुख्य कारणका रुपमा रहेको छ, ‘आर्थिक स्रोतको अभाव ।’ विगत पाँच वर्षमा बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा सरकार र गुठीबाट गरी मात्र दुई करोड ४९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
उक्त खर्च विशेषगरी सटर, बाटो, पार्क, सेड र रेलिङ निर्माणमा भएको छ । गुरुयोजनाले माग गरेका योजनातिर अझै कसैको ध्यान नगएको पाइएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
आर्थिक वर्ष २०७१/०७२ मा जिल्ला विकास समिति बाँकेले बागेश्वरी मन्दिरको गुरुयोजना तयार ग¥यो ।
आइइआरसी प्रालि भक्तपुरमार्फत तयार गराइएको उक्त गुरुयोजनामा विभिन्न १९ वटा संरचना बनाउन २४ करोड तीन लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो । गुरुयोजनाले तय गरेका योजनामा मन्दिरको दृष्य सुन्दरतालाई सुधार गर्नेदेखि मूर्तिको स्याहार सम्भारसम्म छन् । गुरुयोजना बनेको आठ वर्ष बितिसक्दा पनि उक्त गुरुयोजनामा समावेश कुनै पनि काम पूरा हुन सकेका छैनन् ।
अरु त परको कुरा, मन्दिरमा आगन्तुकले रात बिताउन मिल्ने धर्मशालासमेत छैन । बागेश्वरी मन्दिरको पूर्वतर्फको तलाउमा महादेवको जुंगा भएको दुर्लभ मूर्तिसहितको मन्दिर छ । उक्त मन्दिरसम्म पुग्ने पुलदेखि मूर्ति रहेको मन्दिर पनि जीर्ण भइसकेको छ ।
त्यसको जीर्णाेद्वार हुनुपर्ने माग उठेको वर्षाैँ भइसकेको छ । मन्दिरको सुधारका लागि आकर्षक डिजाइन पनि तयार भइसकेको छ । तर त्यसको पुनर्निर्माण कहिले हुन्छ ? अझै टुंगो छैन ।
मन्दिरको गुरुयोजना अलपत्र पर्नुको मुख्य कारणका रुपमा रहेको छ, ‘आर्थिक स्रोतको अभाव ।’ विगत पाँच वर्षमा बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा सरकार र गुठीबाट गरी मात्र दुई करोड ४९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । उक्त खर्च विशेषगरी सटर, बाटो, पार्क, सेड र रेलिङ निर्माणमा भएको छ । गुरुयोजनाले माग गरेका योजनातिर अझै कसैको ध्यान नगएको पाइएको छ ।
गुरुयोजनामा मन्दिरको ल्याण्डस्केप सुधार, कोशेली घर, जुंगे महादेवको मन्दिरसम्म जाने पुल, क्यान्टिन, नुहाउने सुविधासहितको सार्वजनिक शौचालय, कार पार्किङ, हरियाली क्षेत्र, गेटको पुनर्निर्माण, सूचना केन्द्र र गार्ड कक्ष, जलबिहार, फोहोर र ढल व्यवस्थापन, पर्खालको मुनर्माेडलिङ र मूर्तिहरुको मर्मत सम्भारका योजना समावेश छन् । यसका साथै आवश्यक जमिन अधिग्रहण, वरिपरिका घरहरुको उचाइको निश्चित मापदण्ड कायम गर्ने, नयाँ बनेका संरचनाहरुको पुनर्माेडलिङ गर्ने योजना पनि गुरुयोजनामा समेटिएको छ ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष ओमप्रकाश आजाद गुरुयोजनाको कार्यान्वयनमा लगानीको नपुगेको बताउँछन् । उनले आफूहरुको कार्यकालमा बजेट र स्रोतको अभावमा जहाँबाट रकम प्राप्त भयो त्यहीअनुसार प्राथमिकता निर्धारण गरेर खर्च गरेको बताउँछन् । ‘बागेश्वरीलाई प्रसिद्ध पर्यटकीय क्षेत्र भनिए पनि लगानी गर्न कञ्जुस्याइ भयो । बागेश्वरीको गुरुयोजना पूरा भयो भने यस मन्दिरले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिन सक्छ । तर हामीले लगानीको एकदमै अभाव महसुस ग¥यौँ,’ उनले भने ।
समितिका कोषाध्यक्ष मधुसुदन शर्मा लगानीका लागि स्रोतहरु धेरै जुटाउन सकिने अवस्था भए पनि समुदायलाई साथमा लिन समितिले नसकेको स्वीकार गर्छन् । उनी मन्दिरका मूल महन्थलाई पनि आफूहरुले साथमा लिन नसकेको बताउँछन् । शर्मा भन्छन्, ‘गुरुयोजनालाई गुरुजीको सहभागितामा परिमार्जन गरेर कार्यान्वयन गरौँ भन्ने हाम्रो मनशाय रह्यो ।
तर हामीले उहाँलाई त्यसका लागि साथमा लिन सकेनौँ ।’ गुरुयोजना कार्यान्वयन गर्न जमिनको पनि आवश्यकता पर्ने देखिन्छ । बागेश्वरी मन्दिर छेउमै रहेको बुद्ध मन्दिरको जमिन अनुपयोगीरुपमा रहेको छ । उक्त मन्दिरको पनि आवश्यक मर्मत सम्भार हुन सकेको छैन । बुद्ध मन्दिरको व्यवस्थापन समितिले बागेश्वरी मन्दिरमै मिलाएर विकासका कामहरु अघि बढाउन सहमति दिइरहेको छैन ।
यी हुन् पाँच वर्षमा भएका काम
गुठी व्यवस्थापन समिति पुनर्गठन भएपछि बागेश्वरी मन्दिरमा दुई करोड ४९ लाख ५८ हजारको लागतमा केही कामहरु भएका छन् । विशेषगरी मन्दिर परिसरको सौन्दर्यकरण र पसल व्यवस्थापनमा सुधार गरिएको छ भने केही महŒवपूर्ण संरचनाहरु पनि निर्माण भएका
छन् ।
पाँच वर्षअघि मन्दिरको पूर्वतर्फ तलाउको किनारमाथि दुवैतर्फ घुम्तीमा सञ्चालित पसलहरु थिए । भक्तजनहरु धेरै भएको बेला ठेलमठेल भएर हिँड्नै नसक्ने अवस्था थियो भने मन्दिर परिसर कुरूप अवस्थामा थियो । समिति आइसकेपछि पहिलो काम तिनै पसल हटाइयो । त्यहाँ रहेका पसलेलाई तलाउको उत्तरपट्टि सटरहरु बनाएर व्यवस्थापन गरियो ।
मन्दिरको दक्षिणतर्फको पर्खालबाहिर गुठी समितिको ५९ लाख ८२ हजार चार सय ५१ रुपैयाँ लगानीमा १६ वटा सटर निर्माण गरियो । ५८ लाख ३२ हजार चार सय ५१ रुपैयाँ लागतमा मन्दिर तलाउको पूर्वमा सत्संग भवन र २० वटा सटर निर्माण गरियो । उक्त निर्माणमा नेपालगन्ज उपमहानरपालिकाको ७० प्रतिशत र ३० प्रतिशत समितिको लगानी छ ।
यसैगरी उपमहानगरपालिकाको २७ लाख ५६ हजार आठ सय रुपैयाँ लगानीमा मन्दिर उत्तरतर्फबाट बग्ने मुल नाला छेउमा सातवटा सटर र बाटो निर्माण भएको छ भने तलाउमा रेलिङ र उत्तरतिरको किनारमा सेड निर्माणका साथै सौन्दर्यकरणमा पर्यटन डिभिजन कार्यालय कोहलपुरबाट २७ लाख ८६ हजार चार सय ९९ रुपैयाँ खर्च भएको छ ।
यसैगरी मन्दिर उत्तरतर्फको मुलनालाको किनारमा १८ वटा सटर, बाटो, बत्ती, रेलिङलगायतको निर्माणमा ७६ लाख रुपैयाँ खर्च भएको समितिका खरिदार राजु केसीले उपलब्ध गराएको विवरणमा उल्लेख छ । २०५७ सालसम्म बागेश्वरी मन्दिर गुठी संस्थान केन्द्रीय कार्यालयमा दर्ता थियो । अलग्गै गुठी व्यवस्थापन समिति थिएन ।
२०५७ साल जेठ २४ गते गुठी संस्थानले तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति ओमप्रकाश जंग राणाको संयोजकत्वमा बागेश्वरी गुठी व्यवस्थापन समिति गठन ग¥यो । २०५९ सालपछि पुनः जनप्रतिनिधिविहीन अवस्थामा प्रमुख जिल्ला अधिकारीको जिम्मामा रहे पनि मूलतः समिति अलपत्र बन्यो ।
२०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि संस्थानले नेपालगन्ज उपमहनगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिलाई तोकिएको पाँच वर्षको कार्यकाल आगामी असोज १० गते पूरा हुँदैछ ।
‘महन्थले गर्दैछन् असहयोग’
बागेश्वरी मन्दिरको विकासका लागि लगानीको स्रोत जुटाउन कुनै समस्या नभएको गुठी समितिका कोषाध्यक्ष मधुसुदन शर्माको भनाइ छ । शर्मा कुटनीतिकरुपले भन्छन्, ‘हामीले गुरुजीलाई साथमा लिन सकेनौँ ।’ मन्दिरका एक महŒवपूर्ण व्यक्ति हुन् मूल महन्थ चन्दनाथ योगी । उनको र गुठी व्यवस्थापन समितिको सधैं टसल भइरहने गरेको समितिका सदस्यहरु बताउँछन् ।
अहिले बागेश्वरी मन्दिरमा चढाइने भेटी सबै महन्थको भागमा पर्छ । गुठी व्यवस्थापन समितिले रसिद काटेर लिने शुल्कमा पनि प्रतिशतका आधारमा महन्थको भाग लाग्छ । महन्थले तलब लिँदैनन् । तर भेटीको रकम उनकै हो । उक्त रकम समितिमा आएको भए आम्दानी पनि बढ्ने विश्वास समितिका सदस्यहरुको छ ।
समितिका उपाध्यक्ष ओमप्रकाश आजादका अनुसार महन्थलाई तलब लिएर सेवा गर्न र मन्दिरमा आउने सबै दान दक्षिणा समितिमा जम्मा हुने व्यवस्था गर्न आग्रह गरिएको थियो । तर महन्थ योगीले सो प्रस्ताव स्वीकार गरेनन् ।
आजादले भने, ‘उहाँलाई हाम्रो मन्दिरको आयस्तर हेरेर निश्चित तलब लिएर सेवा गरिदिनुस् भनेर आग्रह ग¥यौँ । तर उहाँले राज्यमन्त्रीसरहको सुविधा चाहिन्छ भन्ने अडान राख्नुभयो । केही सुधार्नै पर्ने आर्थिक पक्ष छन् । जसलाई सुधार्न महन्थलाई सम्झाउन सकिएन ।’









प्रतिक्रिया दिनुहोस्