बर्दिया ।
बर्दियामा आर्थिक वर्ष २०७५/०७६ दक्ष कामदारको एकदिनको ज्याला सात सय रुपैयाँ थियो । २०७६/०७७ मा सात सय ३० रुपैयाँ भयो । अर्को वर्ष दैनिक ज्याला सात सय ५० रुपैयाँ पुग्यो । २०७८/०७९ मा १० रुपैयाँ बढाएर सात सय ६० रुपैयाँ पु¥याइयो । चालू आर्थिक वर्षमा जिल्ला दररेट निर्धारण समिति, बर्दियाको निर्णयअनुसार दक्ष कामदारको दैनिक ज्याला सात सय ९० रुपैयाँ पु¥याइएको छ ।
सिकर्मी, डकर्मी, ग्याबिन तार बुन्ने वा सो सरहको कामदारको सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम समितिले चालू आर्थिक वर्षका लागि जिल्लाभरि लागु हुनेगरी विभिन्न तहका श्रमिकको दैनिक ज्याला र दरको निर्धारण गरेको हो ।
समितिले विभिन्न शीर्षकमा १२ प्रकारका श्रमिकको दररेट तोकेको छ । जसअनुसार अदक्ष कामदारको रुपमा सामान्य ज्यामीको प्रतिदिनको ज्याला गत वर्षभन्दा यस वर्ष २५ रुपैयाँ बढाइएको छ ।
२०७८/०७९ मा पाँच सय ५० रुपैयाँ थियो भने यस वर्षका लागि अदक्ष कामदारको दैनिक ज्याला पाँच सय ७५ रुपैयाँ तोकिएको हो । अदक्ष कामदारले २०७५/०७६ मा दैनिक चार सय ८५ रुपैयाँ पाउँथे । समितिले अदक्ष कामदारको रुपमा भरिया, सिभिल वर्क सुपरभाइजर, सर्भे कुल्ली वा सो सरह, सर्भे नापी नापी स्टाफमेन, पम्प अपरेटर ढल सफा गर्ने ज्यामी, स्प्रेमेन, नर्सरी नाइके, क्लिनर हेल्पर, चौकीदार र मालीलाई परिभाषित गरेको छ । उनीहरुको एकमुष्ट दैनिक ज्याला पाँच सय ८५ रुपैयाँ निर्धारण गरेको छ ।
गत वर्षको भन्दा २५ रुपैयाँ बढाइएको हो । उनीहरुको विगत चार वर्षमा जम्मा ८५ रुपैयाँ मात्रै ज्याला बढेको छ । अन्य कामदारको रुपमा ब्लाष्टरदेखि प्रशासनिक र प्राविधिक कर्मचारी (हलुका र हेभी सवारी चालक) समेतलाई तोकिएको छ ।
जिल्ला दररेट निर्धारण समिति बर्दियाका अनुसार ब्लाष्टरको प्रतिदिनको ज्याला ६ सय ५० रुपैयाँ, काँडेतारको काम गर्ने वायर वेन्डरको पाँच सय ७५ रुपैयाँ, राष्ट्रिय निकुञ्जभित्र वनमा काम गर्ने ज्यामीको ६ सय ३० रुपैयाँ, गेज रिडरको असारदेखि कार्तिकसम्मको तीन सय ४५ रुपैयाँ र गेज रिडरको कात्तिकदेखि असारसम्मको एक सय ४० रुपैयाँ ज्याला निर्धारण गरिएको छ ।
कृषि मजदुर र सिँचाइ गेट अपरेटरको समान पाँच सय ७५ रुपैयाँ पुगेको छ । प्रशासनिक र प्राविधिक कर्मचारी (हलुका र हेभी सवारी चालक) हरुको हकमा नेपाल सरकारले तोकेको सुरु मासिक स्केललाई २६ दिनको भाग गरी आउने रकमलाई एक दिनको पारिश्रमिक निर्धारण गर्ने भनिएको छ ।
यस्तै जिल्लामा काम गर्ने परामर्शदाता विशेषज्ञहरुको लागि ३० दिनको भन्दा कम अवधिको लागि इन्जिनियर, प्रशिक्षक, वातावरणविद्, प्राविधिक इन्जिनियरलगायतको दैनिक ज्याला तीन हजार आठ सय रुपैयाँ तोकिएको छ । सवइन्जिनियरको हकमा दैनिक दुई हजार चार सय रुपैयाँ तोकिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुको सहजताका लागि दररेट निर्धारण गरिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्