चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश सडक, कभर्ड हल, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, भ्यू–टावर, घण्टाघर, सिटी–हल, लामो दुरीको बसपार्क, रिङरोड, आधुनिक बद्यशाला, डुडुवा करिडोर, बाल अस्पताल, १५ शैड्ढयाको आधारभूत अस्पताल, आकासे पुल विद्युतीय शवदाह गृह, ढल तथा फोहोरमैला व्यवस्थापन तथा दिसाजन्य पदार्थको प्रशोधन केन्द्रलाई निवर्तमान नगर प्रमुख रावतको पालामा गौरवको आयोजनाका रुपमा समेटिएको थियो ।

कोहलपुरको गोलपार्कमा निर्माणाधिन भ्यूटावर
शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुरमा घण्टाघर निर्माण गर्ने निवर्तमान नगर प्रमुख लुटबहादुर रावतको प्रमुख प्राथमिकता थियो । सोहीअनुसार उनले बजेट विनियोजन गर्दै गए । अहिले घण्टाघरको भौतिक प्रगति ८० प्रतिशत भएको दाबी गरिएको छ ।
तर, विडम्बना घण्टाघरले पूर्ण आकार पाउन आर्थिक वर्ष २०७९/८० का लागि बजेट पाउन सकेन । स्रोत अभावको नाममा गौरवको योजना बजेटमा समेटिएन । यति मात्र होइन, यसभन्दा अघिका जनप्रतिनिधिले अघि सारेका गौरवका योजनालाई आउँदो वर्षमा निरन्तरता दिइएको छैन ।
भौतिक पूर्वाधार निर्माण भइरहेका कतिपय ठूला योजनाले रकम नपाउँदा अलपत्र पर्ने निश्चित देखिन्छ । हालका नगर प्रमुख पूर्णप्रसाद आचार्यलगायतका जनप्रतिनिधिले ति योजनालाई उपेक्षा गर्दा बजेटमा नसमेटिएको गुनासो सर्वत्र छ ।
कोहलपर नगरपालिका क्षेत्रको समग्र विकासका लागि रुपान्तरणकारी भूमिका गर्ने ‘गेम चेञ्जर प्रोजेक्ट’को नाम दिइएका ती योजना वर्तमान सरकारका प्राथमिकतामा परेनन् ।
चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश सडक, कभर्ड हल, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, भ्यू–टावर, घण्टाघर, सिटी–हल, लामो दुरीको बसपार्क, रिङरोड, आधुनिक बद्यशाला, डुडुवा करिडोर, बाल अस्पताल, १५ शैड्ढयाको आधारभूत अस्पताल, आकासे पुल विद्युतीय शवदाह गृह, ढल तथा फोहोरमैला व्यवस्थापन तथा दिसाजन्य पदार्थको प्रशोधन केन्द्रलाई निवर्तमान नगर प्रमुख रावतको पालामा गौरवको आयोजनाका रुपमा समेटिएको थियो ।
तीमध्ये अहिले पनि केही प्रक्रियामा छन् भने अधिकांश अधुरै छन् । अहिले नगरपालिकामा नेतृत्व परिवर्तन भएको छ । अहिलेका जनप्रतिनिधिहरुले टुक्रे तथा साना आयोजनालाई प्राथमिकता दिँदा ठूला लगानी लाग्ने तथा बहुवर्षीय आयोजना अलपत्र पर्ने जोखिम बढेको हो ।
नयाँ जनप्रतिनिधिले असार दोस्रो साता ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्ववर्ती सरकारका कुनै पनि गौरवका आयोजना समेटिएका छैनन् । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा नगर प्रमुख केन्द्रित कार्यक्रमदेखि युट्युब च्यालन सञ्चालन गर्ने कार्यक्रमले प्राथमिकता पाउँदा गौरवका आयोजना उपेक्षामा परे ।
१० पेजको एक सय ३० बुँदे नीति तथा कार्यक्रममा कोहलपुरका तीन स्थानमा आकासे पुल निर्माण गर्न संघीय सरकारसँग समन्वय गर्ने, घुइँयाबारी सडकको निर्माणलाई अगाडि बढाउन प्रदेश सरकारसँग समन्वय गर्ने र डिपीआर निर्माण कार्य गर्नेबाहेक अन्य आयोजनाका बारेमा मौन छ ।
विद्युतीय शवदाह गृह बनाउने विषय भने पनि तोडमोड गरिएको छ । नीति तथा कार्यक्रममा विभिन्न जातजातिका रीतिरिवाजलाई समेट्ने गरी उपयुक्त स्थानमा शवदाह गृह निर्माण गरिने अन्तरपालिका शवदाह गृहका लागि वैकल्पिक व्यवस्थापन गर्ने आश्वासन छ ।
चालु र पुँजीगत कार्यक्रममा पनि परेनन्
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा नगरस्तरीय चालु र पुँजीगत कार्यक्रमका लागि भनेर कार्यक्रम र बजेट विनियोजन गरेको छ । चालु र पुँजीगत दुवैतर्फ नयाँ टुक्रे योजना समावेश गरिँदा गौरवका आयोजनाले स्थानै पाएनन् । नगरपालिकारले कूल ३२ वटा साना तथा टुक्रे र पुँजीगततर्फ ११ वटा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
चालूतर्फ चार करोड ९४ लाख र पुँजीगततर्फ ११ करोड १० लाख बजेट विनियोजन गरेको छ । तीमध्ये पूर्ववर्ती सरकारले गौरवको आयोजनाका रुपमा उल्लेख गरेको कोहलपुर बाल अस्पताल निर्माणका लागि बहुवर्षीय आयोजनाको रुपमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै बहुवर्षीय योजनाकै रुपमा राजमार्ग जोड्ने सडकको स्तरोन्नती गर्न चार करोड, कोहलपुर चिल्ड्रेन पार्कका तथा थारु संग्राहलयका लागि दुई करोड ५० लाख, विद्यालय क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न पूर्वाधार निर्माण गर्नको लागि एक करोड ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
चालूतर्फ राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालनका लागि ३० लाख, लोकसेवा आयोग तयारी कक्षाका लागि पाँच लाख, कोहलपुर डिजिटलाइजेसन कार्यक्रमका लागि एक करोड, नगर प्रमुख छात्रवृत्ति कार्यक्रम १० लाख र समाधिस्थलको सम्भाव्यता अध्ययनको लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शाखामा टुक्रे योजनालाई प्राथमिकता
आर्थिक वर्ष २०७९/०८० मा कोहलपुर नगरपालिकाअन्तर्गत विभिन्न शाखामा टुक्रे योजनालाई प्राथमिकता दिइएको छ । नगरस्तरीय चालु र पुँजीगततर्फको कार्यक्रम र बजेट जस्तै शाखाको कार्यक्रम र बजेटमा समेत साना तथा टुक्रे योजनालाई प्राथमिकता दिइएको हो ।
शाखागत कार्यक्रम र बजेटअन्तर्गत स्वास्थ्य शाखातर्फ कुल २७ वटा कार्यक्रम र एक करोड ५७ लाख ११ हजार बजेट छ । वातावरण तथा विपद व्यवस्थापनका १२ वटा कार्यक्रमका लागि करिब एक करोड, आर्थिक विकास शाखामा २६ वटा कार्यक्रम र सामाजिक विकास शाखाअन्तर्गत पाँच करोड २५ लाख र पशु शाखाको लागि ५० लाख विनियोजन गरिएको छ ।
कृषि शाखातर्फ कुल २३ वटा कार्यक्रम छन् । ती कार्यक्रम कार्यान्वयनका लागि आठ लाख ८५ हजार रुपैयाँको बजेट पास गरिएको छ । यस्तै आयुर्वेद शाखाका लागि ११ लाख र शिक्षा युवा तथा खेलकुद शाखाका लागि कार्यक्रम ३४ वटा छन् भने बजेट ६ करोड ३५ लाख छ ।
‘गौरवका आयोजना छुट्नु दुर्भाग्य’
ल्ुटबहादुर रावत
निवर्तमान नगर प्रमुख
कोहलपुर नगरपालिका
नयाँ प्रमुखको पदबहालीको दिन मैले मन्तव्यमा, अधुरा योजनालाई समेट्नुपर्ने बताएको थिएँ । उहाँ मेरो घरमा आउँदासमेत ती कुरामा जोड दिएको थिएँ । प्रमुख प्रशासकीय अधिकृतलाई समेत बारम्बार भन्ने गरेको छुँ ।
जहाँसम्म पुराना गौरवका आयोजना नयाँ बजेटमा समेटिएको कुरा छ, अवस्य पनि नयाँ नेतृत्व आएपछि नयाँ योजना आउने नै भए, ल्याउनु पनि पर्छ ।
पुराना काम सुरु भएका योजनालाई निरन्तरता दिने दायित्व पनि हुन्छ । यसमा मेरो धारणा के छ भने, कुनै पनि व्यक्ति निर्वाचित भएर आएपछि पूर्वाग्राही हुन आवश्यक छ जस्तो मलाई लाग्दैन । मैले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भनेको थिएँ ।
यति भन्दाभन्दै उहाँहरुले छुटाउनु भएको छ भने, यो त दुर्भाग्य हो । नयाँ प्रमुख पढेलेखेको युवा हुनुहुन्छ । उहाँले पूर्वाग्राह राख्नु हुन्छ जस्तो लाग्दैन । उहाँले आगामी दिनमा निरन्तरता दिनेमा आशावादी छुँ ।
‘पूर्वाग्राही होइन, बजेट छैन’
पूर्णप्रसाद आचार्य
नगर प्रमुख, कोहलपुर नगरपालिका
हामीले पुराना गौरवका योजना रोकेर पूर्वाग्राही बनेको होइन । हामीसँग अघिल्लो सरकारका योजना निरन्तरता दिनुबाहेक विकल्प छैन । हामीले अघिल्लो सरकार खर्च गरेको बजेटको १५ करोड दायित्व बहन गरेका छौँ । हचुवाका भरमा सञ्चालन गरिएको योजना रोकिएका हुन् । बजेटै छैन हामीसँग । बजेट अभावका कारण हो रोकिने ।
त्यो बजेट कहाँ गयोभन्दाखेरि हामीले दायित्व बहन गर्दाखेरि बसपार्क, भ्यू–टावर, अस्पतालमा लगाउनु पर्ने भयो । त्यसैले हामीसँग रकम अभाव छ । ती सबै योजना सम्पन्न गर्ने हाम्रो दायित्व भयो । पहिले नै गौरवका आयोजना भएका कारण त्यहाँ आउनु पर्ने भयो । ८० प्रतिशत सम्पन्न भइसकेका योजनालाई छोड्दा राम्रो सन्देश नजाने भयो । बनायौँ घाटा हामीलाई हुने ।
करोडौँ पैसा भ्यू–टावर, अस्पतालमा लगाउँदा सबै त्यसमा जाने भयो । हामीले दायित्व बहन गर्नु नपरेको भए हामीले काम गर्न सक्ने थियौँ । अर्कातिर अघिल्लो सरकारका दुई प्रकारका योजना देखिए ।
एकखाले जनता र अर्काे जनप्रतिनिधिका । यसपटक व्यक्तिका होइन जनताका योजना पूरा हुन्छन् । हामीले वडालाई साना योजना धेरै आउन थाले भनेर कम्तिमा १० लाखको योजना राख्न भनेका थियौँ । बाँकी विभिन्न शाखाअन्तर्गत त सानै योजना हुन्छन् । खास्सै ठूलो बजेट हुँदैन ।









प्रतिक्रिया दिनुहोस्