बाँके ।
नेपालमा मनसुन सुरु भए पनि पश्चिममा भने मनसुन भएको छैन । यो वर्ष अहिलेसम्म मनसुनी प्रणाली चार प्रदेशमा सक्रिय भएको छ भने पश्चिमतिर सर्दै गएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार जेठ २७ गतेको मध्यान्हसम्म प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुन प्रवेश गरेको छ ।
देशका बाँकी भूभागमा केही दिनपछि मनसुनी प्रणाली प्रवेश गर्ने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अघि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन भए पनि यस वर्ष भने ५ जुन (जेठ २२ गते) मै मनसुनी वायु प्रवेश गरेको थियो । नेपालमा पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेर क्रमशः पश्चिमतिर सर्दै जान्छ ।
करिब चार महिना रहने मनसुनी अवधिमा वार्षिक हुने वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ । देशको खेतीपाती आकासे पानीमा निर्भर रहेकाले कृषिका मनसुन वरदान मानिन्छ ।
तर, मनसुनले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोप पनि सँगै लिएर आउँछ । यस वर्षको मनसुन सुरू हुनेबित्तिकै देशका विभिन्न भागमा पहिरो, नदी कटानजस्ता विपद सुरू भइसकेका छन् । हरेक वर्ष मनसुनमा प्राकृतिक प्रकोपमा परेर दर्जनौंले ज्यान गुमाउँछन् ।
यो वर्ष मनसुनको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने विभागले अनुमान गरेको छ । सरदरभन्दा धेरै पानी पर्दा प्राकृतिक प्रकोपको जोखिम थप बढ्नसक्छ ।









प्रतिक्रिया दिनुहोस्