कोहलपुर ।
कोहलपुरस्थित चौराहा नजिकै विद्युतीय सवारीको लागि चार्जिङ प्वाइन्ट (स्टेशन) सञ्चालनमा आएको छ । पहिलोपटक कोहलपुरमा बीबी इन्टरप्राइजेजले विद्युतीय सवारी चार्जिङका लागि चार्जिङ प्वाइन्ट स्थापना गरेको हो । विद्युतीय सवारी चार्ज गर्ने स्टेशन सुरु गरिए पनि थप भौतिक संरचना निर्माणका काम पनि भइरहेका छन् ।
बीबी इन्टरप्राइजेजका सञ्चालक विष्णु खनालले अहिले सातवटा विद्युतीय गाडीले दैनिक सेवा लिइरहेको बताए । ‘अहिले अनौपचारिकरुपमा गाडी जार्च गर्ने र रिफ्रेस सेन्टरको लागि भौतिक संरचना निर्माण कार्य भइरहेको छ,’ उनले भने, ‘यहाँको सेवाभन्दा निकै सस्तो रहेको छ । सेन्टरमा चार्ज गरेको प्रति युनिट १२ रुपैयाँ मात्रै पर्छ ।’ कोहलपुरमा तत्काल बाँके जिल्लालाई केन्द्रित गरेर सेवा सुरु गरे पनि कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका अन्य जिल्लामा समेत सेवा विस्तार गरिने सञ्चालक खनालले दाबी गरे ।
विद्युतीय चार्जिङ प्वाइन्ट स्थापनाको लागि बीबी इन्टरप्राइजेजले कोहलपुर नगर विकास समितिको जग्गा १० वर्षसम्म भाडामा लिएको हो । कुल क्षेत्रफल दुई कट्ठा रहेको जग्गाको भाडा समितिलाई मासिक २० हजार रुपैयाँमा दिने सम्झौता गरिएको छ ।
विद्युतीय चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेस सेन्टर स्थापनाका लागि एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको सञ्चालक खनालले जानकारी दिए । विद्युतीय चार्जिङ प्वाइन्टको केही सातामा नै औपचारिकरुपमा उद्घाटन गरिने छ । कम्पनीले विद्युतीय गाडीको समेत कारोबार गर्ने सञ्चालक खनालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्