ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा खजुराका युवकको मृत्यु



बाँके ।

बाँकेको कोहलपुरमा रोकिराखेको ट्रयाक्टरको ट्रलीमा मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति कोहलपुर– १५ अक्कलघरुवामा सडक छेउमा रोकेर राखेको ट्रयाक्टरको ट्रलीमा मोटरसाईकल ठोक्किदा एकको मृत्यु भएको हो ।

रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्रयाक्टरको ट्रलीमा भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खजुरा गाउँपालिका– ५ का २५ वर्षीय सुमन शर्मा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

कोहलपुरमा रहेको ससुरालीबाट घर फर्किदैं गरेका उनी सडक छेउमा रोकिराखेको ट्रयाक्टरको ट्रलीमा ठोक्किएका थिए । उनको दुर्घटनास्थलमा नै मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् ।

प्रहरीले भने उद्दार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जनाएको छ ।

पीडित र पीडक पक्षबीच शुक्रबार कोहलपुर प्रहरीमा भएको वार्तामा सहमती भएपछि मृतक शर्माको शवलाई आफन्तले पोस्टपार्टम् पश्चात बुझेर लगेका छन् । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २१ गते शनिबार