विक्की अपहरण प्रकरणः पाँचजनाविरुद्ध अपहरण तथा शरीर बन्धक र डाँका चोरी मुद्दामा जाहेरी



भारतीय नागरिक विक्कीमाथि कुटपिट गर्दै युवाहरु । सीसी क्यामेरा तस्विर

कृष्ण ओली । बाँके ।

स्टार लाइट होटेलमा सञ्चालित क्यासिनो लक्की स्टारबाट अपहरणमा परेका भारतीय नागरिक विक्की भनिने अतिक खानले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा उनले अपहरण तथा शरीर बन्धक र डाँका चोरी मुद्दामा जाहेरी दिएका हुन् ।

विक्कीले पाँचजनाविरुद्ध अपहरण तथा शरीर बन्धक र डाँका चोरी मुद्दामा जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

गत बिहीबार (जेठ ५ गते) बिहान कारकाँदोमा रहेको होटल स्टारलाइटमा रहेको क्यासिनो लक्की स्टारबाट भारतीय र नेपालीको एक समूहले कुटपिट गर्दै विक्कीलाई अपहरण गरेको थियो । अपहरण तथा शरीर बन्धक र डाँका चोरीमा संग्लन रहेको भन्दै उनले पंकज श्रीवास्तव, अनुराग शाह, सुरेश कुर्मी, अस्विनी सिंह र एकजना नामथर नखुलेका व्यक्तिविरुद्ध जाहेरी दर्ता गराएका प्रहरीले जनाएको छ ।

विक्कीले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता नम्बर ५४८ मा दर्तासमेत भइसकेको छ । पंकज समूहले कुटपिट गरी जबरजस्ती गाडीमा राखी अपहरण गरेर लिँदा पनि बाँके प्रहरीले कुनै कारबाही नगरेपछि आफूले बाध्य भएर उजुरी दिएको विक्कीले बताए ।

‘घटना भएको दिन मलाई अपहरण गर्ने समूहलाई कारबाहीको साटो मलाई नै केही घण्टा प्रहरीले हिरासतमा लियो,’ विक्कीले भने, ‘जबरजस्ती प्रहरीले मिलापत्र गर्न लगायो । मलाई त्यहीबेला डरत्रास देखाए ।’ नेपालगन्जमा भारतीय नागरिक अपहरण पर्दासमेत प्रहरीले बिनाकारबाही आरोपितलाई छोडेको भन्दै बाँके प्रहरीको चर्को आलोचना भएको थियो ।

समाचार प्रकाशित भइसकेपछि प्रहरी प्रधान कार्यालयले समेत यस घटनामा चासो देखाएपछि बाँके प्रहरीले विक्कीलाई कारबाहीको लागि उजुरी दिने वातावरण मिलाएको हो । विक्कीलाई गुण्डागर्दीमा संग्लन भारतीय समूहको दबाबमा प्रहरीले करिब ५÷६ घण्टा आफ्नो हिरासतमा राखेको थियो । क्यासिनो लक्की स्टारबाट भारतीय समूहले विक्कीलाई गत बिहीबार बिहान २ः३० बजे कुटपिट गर्दै नियन्त्रणमा लिएर फरार भएको थियो ।

सुरेश कुर्मी, पंकज श्रीवास्तव, अनुराग साह, अश्विनी सिंह, अंशुमान सिंहलगायतले विक्कीलाई क्यासिनोभित्रैबाट कुटपिट गर्दै अपहरणशैलीमा नियन्त्रणमा लिएका थिए । विक्कीलाई क्यासिनो परिसरबाट भारतीय नम्बर प्लेट भएको डिएल२सीएएक्स७८७८ नम्बरको गाडीमा हालेर उनीहरुले राप्ती नदीतर्फ लिएका थिए । तर, राप्तीपारिको क्षेत्रमा लैजाँदै गर्दा प्रहरीलाई थाहा भएको भन्दै एकजनाले उनीहरुलाई फोन गरेका थिए । त्यसपछि उनीहरुले विक्कीलाई वडा कार्यालयमा ल्याएर बुझाएका थिए ।

अपहरण गरेको समूहले विक्कीलाई वडा प्रहरी कार्यालयमा बुझाएको थियो । त्यसपछि हामी भोलि आउँछौं भन्दै उक्त समूह फरार भयो । तत्कालै वडा प्रहरी कार्यालयले विक्कीलाई मेडिकल गराएर बिहान ९ बजेसम्म आफ्नो हिरासतमा राख्छ । करिब ६ घण्टा हिरासतमा राखेपछि वडा प्रहरीले विक्कीलाई उल्टै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको थियो ।

खोजी भइरहेको छ
मधुसुदन न्यौपाने, प्रवक्ता जिप्रका बाँके

विक्कीले जाहेरी दिएपछि हामीले घटनामा संग्लनहरुको खोजीमा प्रहरी परिचालन गरिसकेका छौं । ढिलै भए पनि पीडितको पक्षबाट प्रहरीमा किटानी जाहेरी परेको छ । अहिलेसम्म जाहेरीमा नाम उल्लेख गरेका व्यक्तिहरु भने पक्राउ परेका छैनन् ।

जाहेरी परेको सूचना पाएपछि उनीहरु फरार भइसकेका छन् । मुद्दा दर्ता भइसकेको अवस्थामा उनीहरु जहिले भए पनि पक्राउ पर्छन् । प्रहरी उनीहरुको खोजीको लागि लागिपरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार