20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

आज माघी पर्व माघीमय थारु बस्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १, २०७८  

माघे संक्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने प्रचलन छ । थारु समुदायमा माघे संक्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कृतन गर्ने, डफ (एक प्रकारको डम्फु) बजाउने चलन छ र माघे संक्रान्तिका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ ।

यो दिन खोला नदीमा गइ नुहाउँदा वर्षभरिको पाप पखालिने जन विश्वास छ । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आर्शीवाद लिने र साथीभाईसँग अंकमाल गरी माघीको शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।

सुदीप अधिकारी । बर्दिया ।

थारु समुदायमा यतिखेर माघीको खुसीयाली छाएको छ । मकर संक्रान्ति पर्वलाई थारु समुदायले माघी पर्वका रुपमा मनाउँछन् । माघी थारु समुदायको सबैभन्दा महŒवपूर्ण पर्व हो । माघी पर्वका कारण अहिले पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ ।

थारु बस्तीमा यतिखेर निकै चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । दसैँ तिहारमा घर नआएका व्यक्तिहरु पनि माघीमा घर आउने गर्छन् । बजारमा माघीको किनमेल गर्नेको घुइँचो छ ।

माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यो पर्वलाई थारु समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् । बारबर्दिया नगरपालिका सरम चौधरी भन्छन्, ‘माघी हाम्रो लागि नयाँ वर्ष हो । माघीलाई हामी ठूलो पर्वको रुपमा मनाउँछौं । वर्षभरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन् ।’

माघीको अवसरमा थारु बस्तीमा युवायवतीहरु माघीमा मघौटा, सखिया र हुरदंगा नाच नाच्ने गर्छन् । सामुदायिक विद्यालयका एक शिक्षक हरिप्रसाद चौधरी भन्छन्, ‘माघी थारु समुदायको विशेष पर्व हो । माघीकै अवसर पारेर गाउँघरमा थारु संस्कृतिको जर्गेना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् ।’ कोरोनाको तेस्रो लहरका कारण यहाँ हुने माघी मेला, महोत्सव भने स्थगित गरिएका छन् ।

माघे संक्रान्तिका दिन ठाकुरद्वारामा रहेको ठाकुरबाबा मन्दिर परिसरमा ठूलो मेला लाग्ने प्रचलन रहेको थियो । कारोनाको सक्रमण देखिएसँगै यहाँको मेला पनि स्थगित गरिएको ठाकुरबाबा मन्दिर व्यवस्थापन समितिका सदस्य खगेन्द्र नेपालले बताए । मेलाका लागि स्टल बुक गरिएको भए पनि प्रशासनको निर्देशनअनुसार मेला स्थागित गरिएको नेपालले बताए ।

माघे संक्रान्तिको अघिल्लो दिनअर्थात पुस २९ गते थारु समुदायमा जीता मार्ने (सामूहिकरुपमा सुँगुर, बंगुर मारेर खाने) गरिन्छ । थारुहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आआफ्नो काममा लाग्छन् । घर छुट्टिने, खोतबाली लगाउने निर्णय पछि माघीमै गरिन्छ ।

माघे संक्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने प्रचलन छ । थारु समुदायमा माघे संक्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कृतन गर्ने, डफ (एक प्रकारको डम्फु) बजाउने चलन छ र माघे संक्रान्तिका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ ।

यो दिन खोला नदीमा गइ नुहाउँदा वर्षभरिको पाप पखालिने जन विश्वास छ । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आर्शीवाद लिने र साथीभाईसँग अंकमाल गरी माघीको शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।

यो पर्वमा थारु जातिले विशेष परिकारको रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सँुगर वा बंगुरको मासु र जाँड खाने र खुवाउने चलन छ । यसैगरि माघीमा गाउँका सबैजना जम्मा भएर वर्ष दिनका लागि बड्घर– मैटहवा (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतिलो उदाहरण पनि हो । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निमार्ण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।

ठाकुरद्वारामा रहेको ठाकुरबाबा मन्दिरमा मकर संक्रान्तिका दिन विशेष पूजाआजा हुने गर्छ । ठाकुरबाबा मन्दिरको दर्शनका लागि बाँके, बर्दिया, सर्खेत, कैलाली र सिमावर्ती भारतीय गाउँबाट पनि दर्शनार्थीहरु आउने गर्छन् ।

माघीको दिन ठाकुरबाबाको दर्शन गरेका मनोकामना पूरा हुने धार्मिक जनविश्वास रही आएको छ । विशेषगरि निसन्तान दम्पतीले ठाकुरबाबाको दर्शन गरेमा सन्तान लाभ हुने विश्वास गरिन्छ ।

प्रकाशित मितिः शनिबार, माघ १, २०७८     11:03:54 AM  |