सुर्खेत : कर्णाली प्रदेश सरकारले बाढी र पहिरो लगायतका विपद्बाट निधन भएका परिवारलाई जनही २ लाख रुपैयाँ दिने भएको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना विमाबाट प्राप्त हुने २ लाख रुपैया तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रवक्ता सिता नेपालीका अनुसार विपद्मा परी घाईते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । बैठकले विपद्का कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरुलाई क्षतिपुर्तिको व्यवस्था गर्ने निर्णय गरेको नेपालीले जानकारी दिइन् ।
यस्तै पुर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गर्ने र संघीय तथा स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गरिने प्रवक्ता नेपालको भनाइ छ । विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय भएको उनले बताइन् । ‘ कर्णालीका जिल्लाहरुमा अहिलेपनि जोखिम कायम छ । राजमार्ग अवरुद्ध अवस्थामा छ । क्षतिको विवरण आउन सकेको छैन । सरकार यस विषयमा गम्भीर छ ।’ मन्त्री नेपालीले भनिन् । कर्णालीमा गत आइतबारदेखि लगातार परेको वर्षाका कारण आठ जनाको ज्यान गएको थियो ।









प्रतिक्रिया दिनुहोस्