काठमाडौँ ।
नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आउँदो १० वैशाखदेखि हुने भएको छ । १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने यस प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कूल १४ टोलीको सहभागिता रहनेछ ।
पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रूकुम, कोशी प्रदेश र बुढानिलकण्ठ क्लब सहभागी हुनेछन् । महिलातर्फ न्यू डायमण्ड, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, एभरेष्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ ।
विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँँ पाउनेछन् । यो भलिबल खेलकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रूपैयाँँ प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ ।
काठमाडौँ बाहिरका टोलीका खेलाडीलाई दैनिक १२०० रूपैयाँँ र उपत्यकाभित्रका खेलाडीलाई ३०० रूपैयाँँ खाजा खर्च उपलब्ध गराइने बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रूपैयाँँ खर्च हुने अनुमान गरिएको छ । साथै, प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्