आफ्नै भवनबाट सेवा प्रवाह गर्दै लुंग्री



खुमबहादुर सुनार । रोल्पा ।

लुंग्री गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट औपचारिकरूपमा सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह बनेदेखि नै भाडाको भवनमा निर्भर रहँदै आएको गाउँपालिकाले करिब आठ वर्षपछि स्थायी भवन निर्माण सम्पन्न गरी आफ्नो सेवाको दायरा अझ सुदृढ बनाउन सफल भएको हो ।

यसअघि साँघुरा कोठा र असुविधाजनक भौतिक संरचनामार्फत सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही अब भने सुविधासम्पन्न चारतले भवनभित्रै एउटै छानामुनि आवश्यक सम्पूर्ण सेवा पाउने भएका छन् । भवन सञ्चालनमा आएपछि कर्मचारीलाई कार्यसम्पादन गर्न सहज भएको र सेवाग्राहीलाई पनि सहजरूपमा सेवा लिन सकिने वातावरण बनेको गाउँपालिका नेतृत्वले जनाएको छ ।

गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि स्मृति विशाल नारायण जेभीसँग २०७९ पुस २० गते सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने प्रावधान थियो । सोहीअनुसार निर्माण कम्पनीले २०८१ पुस २० गतेनै कार्य सम्पन्न गरी समयमै जिम्मेवारी पूरा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले जानकारी दिए ।

भवन निर्माणको लागि प्रारम्भिक सम्झौता रकम ७ करोड ४३ लाख ८४ हजार तोकिएको भए पनि कार्यसम्पादन र प्राविधिक मूल्यांकनपश्चात् कम्पनीलाई ६ करोड ९२ लाख ३ हजार रूपैयाँ भुक्तानी गरिएको हो । गाउँपालिकाले भवन संरक्षण, मेसिनरी वाल, मैदान निर्माण तथा भवनको घेराबारका लागि आफ्नै स्रोतबाट थप ४७ लाख २० हजार रूपैयाँ खर्च गरेको समेत जानकारी दिइएको छ ।

रिजालका अनुसार गाउँपालिकाले निर्माणको लागि आवश्यक जग्गा स्थानीयवासीबाट दानस्वरूप प्राप्त गरेको हो । ‘स्थानीयको योगदान र सहयोगले मात्रै यो सपना साकार भएको हो,’ उनले भने । नवनिर्मित प्रशासकीय भवन चारतले छ । यसमा ४८ वटा कोठा, सभाहल, अध्यक्ष–उपाध्यक्षका कार्यकक्ष, न्यायिक समितिको इजलास कक्ष, विषयगत शाखाहरूका कार्यालय, शौचालय सुविधा र भवनको प्रांगणमै पर्याप्त पार्किङ सुविधा रहेको गाउँपालिकाले जनाएको छ ।

भवन आधुनिक ढाँचामा तयार पारिएको छ, जसले सेवाग्राहीलाई मात्र होइन, कर्मचारीलाई पनि दीर्घकालीन सुविधा दिने अपेक्षा गरिएको छ । लुंग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले नवनिर्मित भवन उद्घाटन गर्दै भवनले गाउँपालिकाको प्रशासनिक कार्यलाई थप गति दिने विश्वास व्यक्त गरे । ‘करिब आठ–नौ वर्षको अवधिमा हामीले भाडाको घरमा बसेर सेवा प्रवाह गर्नुपरेको थियो ।

साँघुरा कोठा, असुविधाजनक वातावरण र पर्याप्त संरचना नहुँदा कर्मचारी र सेवाग्राही दुवैले समस्या भोग्नुपरेको थियो,’ उनले स्मरण गरे । ‘अब भने एउटै छानामुनि सम्पूर्ण सेवा प्राप्त गर्ने अवसर जुरेको छ । यो भवन केवल संरचना मात्र होइन, गाउँपालिकाको पहिचान र आत्मनिर्भरताको प्रतीक पनि हो । संघीय सरकारबाट प्राप्त हुने रकम समयमै नआउँदा केही कठिनाइ भए पनि हामीले साझेदारी रकम समयमै बेहोरेर कामलाई अगाडि बढाएका छौँ । अब हाम्रो प्राथमिकता गुणस्तरीय सेवा प्रवाह गर्नेमा केन्द्रित हुनेछ ।’

गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी गुरुङले प्रशासकीय भवनले मात्र नभएर गाउँपालिकाको प्रतिष्ठा र नागरिकमा विश्वास बढाउने कार्य गर्ने बताइन् । ‘हामी महिलाहरूले न्यायिक समिति, सामाजिक शाखा र नागरिकसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर पाउँछौँ । भाडाको घरमा त्यसरी सहज सम्भव थिएन । अब भने सेवाग्राहीलाई थप आत्मविश्वास दिलाउने वातावरण बनेको छ,’ उनको भनाइ थियो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्षहरूको उपस्थिति थियो ।

वडाध्यक्ष जोखबहादुर बुढाथोकीले भने, ‘हामीले गाउँपालिकालाई स्थायी ठेगाना दिन सफल भएका छौँ । यो संरचना हाम्रो पुस्ताको लागि मात्र नभई आउँदो पुस्ताका लागि पनि उपयोगी हुनेछ ।’ गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलबहादुर खड्काले भवनलाई शैक्षिक र सामाजिक चेतनाको केन्द्र बनाउन आग्रह गरे । ‘विद्यालय र गाउँपालिका मिलेर शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा ठोस कार्यक्रम अघि बढाउन सकिन्छ,’ उनले भने । हुरेक नेपाल लुङग्री गाउँपालिका संयोजक भक्तबहादुर बस्नेतले स्थानीय जनसहभागिता र सहकार्यकै कारण यो उपलब्धि सम्भव भएको बताए ।

जग्गादाता दिलबहादुर गुरुङले भवन निर्माणको लागि दान गरिएको जग्गाले गाउँकै विकासमा योगदान पु¥याएकोमा गर्व महसुस भएको बताए। ‘मलाई व्यक्तिगत स्वार्थभन्दा पनि गाउँको सामूहिक हित ठूलो लाग्यो,’ उनले भने । नेपाल पत्रकार महासंघ रोल्पाका सचिव तिलक घर्तिमगरले स्थानीय तहले यस्ता पूर्वाधार निर्माण गर्दा नागरिकलाई समयमै र पारदर्शी सूचना दिनुपर्नेमा जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले भने, ‘हामीले यो भवनलाई सिर्जना गर्न करिब तीन वर्षको लामो मेहनत गरेका छौँ । कर्मचारी, निर्वाचित जनप्रतिनिधि, निर्माण कम्पनी र स्थानीय जनतासम्म सबैको योगदानले मात्र यो सम्भव भएको हो ।’ लेपेन्द्र बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा स्थानीय बासिन्दा, सरोकारवाला निकायका प्रतिनिधि र विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार