काठमाडौं ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाको कारण खुलेको छैन । आइतबार बिहान १० बजेर ३२ मिनेटमा सो जहाज काठमाडौंबाट उडेको थियो ।
क्याप्टेन कमल केसीले उडाएको जहाजमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित जम्मा ७२ जना सवार थिए । पोखरा विमानस्थलमा जहाजको अनुमानित आगमन समय १० बजेर ५८ मिनेटमा थियो ।
पोखरा विमानस्थल कार्यालयका अनुसार पहिलो सम्पर्कमा जहाज पोखराबाट ६२ नटिकल माइल टाढा १२ हजार ५०० फिटको उचाइमा उडेको थियो ।
त्यसपछि ‘मनिका’बाट पाँच नटिकल माइल टाढा हुँदा १२ हजार ५०० बाट ६ हजार ५०० फिटका लागि अनुमति पाएको थियो ।
जहाजलाई रनवे ३० दिइएकामा १५ नटिकल माइलपछि जहाजले रनवे १२ का लागि अनुरोध गरेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । सो समयमा जहाज ६ हजार ५०० फिटको उचाइमा थियो ।
१० बजेर ५५ मिनेटमा जहावले रनवे १२ रिपोर्ट गरेको थियो । त्यसपछि १० बजेर ५७ मिनेटमा अवतरण अनुमति पाएको थियो । तर, जहाजले अवतरण अनुमतिको जवाफ फर्काएन ।
त्यसपछि ‘नोज तल फर्किएर’ जहाज भुईँतिर खसेको देखिएको र रनवे १२ को ‘फिनाल’तिर धुवाँको मुस्लो देखिएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्