16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

‘कृषिमा व्यवसायिकरणका लागि सञ्जाल तयार गर्दैछौँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २४, २०७८  

समग्र कृषि क्षेत्रको विकासको लागि सरकारले विभिन्न योजना अघि सारेको छ ।पराम्परागत कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने लक्ष्य सरकारले राखेको छ । सोही अनुसार कृषि क्षेत्र मार्फत रोजगारी सिर्जना गर्ने सम्भावना पनि उत्तिकै छ । देशको अर्थतन्त्रको आधारका रुपमा रहेको कृषि क्षेत्रको विकास अहिलेको आवश्यकता पनि हो । यसबाट लाखौँ बेरोजगारलाई रोजगारी दिन सकिने सम्भावना भएपनि सरकार यस सम्बन्धमा खास्सै जागरुक भएको देखिदैन । देश विकासको मेरुदण्ड मानिएको युवा पुस्ताको त झन कृषि क्षेत्रमा आकर्षण नै छैन । नेपालको युवा विदेश जान चाहन्छ तर आफ्नै देशको बाँझो जमिन जोत्न तयार छैन । दुःख बढी तर उत्पादन र कमाई कम हुने कारणले पनि यस क्षेत्रबाट पालायन हुने क्रम रहेको छ । यति हुँदा हुँदै पनि विदेशभर फर्केपछि, सरकारको अनुदानमा र आंशिक रुपमा कृषि कर्म गर्नेहरु पनि छन् । पछिल्लो समय स्थानीय सरकारले पनि कृषि क्षेत्रको विकासको लागि धेरै बजेट विनियोजन गरेको देखिन्छ । संघ देखि स्थानीय सरकारसम्मले कृषि क्षेत्रलाई प्राथमिकता दिएका हुन् । यस्तै बाँके जिल्लाका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन् ।यस्तै किसानहरुका आफ्नै संघ संगठन स्थापीत छन् ।उनीहरुले किसानहरुको हक र हितका लागि काम गरिरहेका छन् । यस्तै बाँकेको कोहलपुरमा पनि व्यवसायिक कृषक सञ्जाल स्थापना गरिएको छ । हामीले कृषि सञ्जालले गरिरहेको काम, स्थापनाको उद्देश्य र स्थानीय सरकारको सहयोग लगायतका विषयमा हामीले सञ्जालका अध्यक्ष शेषकान्त शर्मासँग कुराकानी गरेका छौँ, प्रस्तुत छ, कोहलपुरका अगुवा कृषक समेत रहेका शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

१. तपाईंको दैनिकी कसरी बितिरहेको छ, जानकारी गराइदिनुहोस न ?

सामान्यतया मेरो दैनिकी व्यस्त नै हुने गर्दछ । कृषि पेसामा लागेका हामी किसानहरुको दैनिकी बित्ने भनेको त्यही खेतबारीमा नै हो । त्यसैगरि मेरो पनि व्यवसायिक रुपमा बितिरहेको छ । यो दुःखदायी व्यवसाय भएका कारण पनि काम गर्दा दुःख पनि भोग्नुपर्छ । आफूले पालन गरेका पशुपंक्षीको स्याहार, कृषि उपज वस्तुको उत्पादन, हेरचाह, बजारीकरणमा पनि बित्ने गरेको हुन्छ । यस्तै छ कृषि क्षेत्रको विकासको लागि लागिपरेको छु ।

२ .व्यवसायिक कृषि सञ्जाल स्थापनाको पृष्ठभूमिका बारेमा बताइदिनुन ?

यो एक विशुद्ध व्यवसायिक कृषकहरुको एउटा समूह हो । यसको नाम हामीले व्यवसायिक कृषि सञ्जाल, नेपाल जुराएका छौँ ।यसको स्थापना २०७७ सालमा भएको हो । यो संस्था जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि आधिकारिक रुपमा दर्ता छ ।निर्वाहमुखी व्यवसायबाट व्यवसायिक कृषि क्षेत्रको परिकल्पनाका साथ यसको स्थापना भएको हो ।यसले व्यवसायिक सञ्जाल निर्माण गर्छ । यतिमात्रै होइन व्यवसाय गर्न क्रममा किसानहरुले अनावश्यक रुपमा पाउने दुःख,उनीहरुको पक्षमा पैरवी गर्ने र कृषकहरुको हितका लागि गरिएको हो । सरकारले दिने सुविधाबाट किसान बन्चित नहुन भन्नको लागि पनि हामीले काम गर्छौँ ।सरोकारवाला निकायसँग समन्वय गर्ने काम सञ्जालले गर्नेछ । अब किसानलाई सचेत गराउनुपर्छ भन्ने हाम्रो ध्याय हो । यसमा विशुद्ध व्यवसायीहरु आवद्ध हुन्छन् । यसमा आवद्ध हुनको लागि कुनै पनि व्यवसाय गरेको हुनुपर्छ । कोरोनाका कारण धेरै समय काम हुन सकेन । अब कोरोनाका अवस्था सामान्य बन्दै छ । अब यसको सञ्जाल विस्तारको काम पनि शुरु भएको छ । अहिले सम्म बाँके जिल्लाका १ सय ५५ जना किसान आवद्ध भएका छन् । हामीले यसको सञ्जाल जिल्लाका सबै स्थानीय तहका साथै देशभर विस्तार गर्ने योजना राखेका छौँ । पहिलो चरणमा बाँकेका सबै पालिकामा पालिका स्तरीय समिति बनाउँछौँ। साउन महिनाभित्र त्यसपछि देशभर जाने हो ।

३. बाँके सहित देशभर कार्यक्षेत्र रहने कुरा गर्नुभयो, सञ्जाल स्थापनाको खास उद्देश्य के हो ?

देशभरका व्यवसायिक कृषकहरुलाई संगठित गर्ने हाम्रो मूख्य उद्देश्य हो । हाम्रा कुनै पनि सदस्यलाई परेको समस्या समाधानको लागि हामीले संस्थागत रुपमा आवाज उठाउँछौँ । देशमा हरेक क्षेत्रमा काम गर्नेहरुको संगठन छ । उनीहरुले एकजुट भएका छन् । किसानहरुको पनि एउटा संगठन बनाउनुपर्छ भन्ने उद्देश्यले बनाइएको हो । समयले यसको आवश्यक महशुस गरायो । त्यसैले हामीले यो अभियान बाँके जिल्लाबाट सुरु गरेको हो ।यो सञ्जाल अब हरेक किसानका घरदैलोमा पुग्छ ।अप्ठ्यारो परेकालाई सहयोग गर्छौँ । प्राविधिक, नैतिक र प्रशासनिक सहयोग हामी गछौँ उनीहरुलाई ।

४.स्थानीय सरकारसँग कृषि क्षेत्रको विकासका लागि समन्वय भएको छ की छैन ?

बाँकेमा सम्पूर्ण स्थानीय तहमा अहिलेसम्म हामी पुग्न सकेका छैनौ । कोरोनाका कारण त्यहाँ पुग्न सम्भव भएन । तर कोहलपुर नगरपालिकाको हकमा विभिन्न तवरबाट हामीले समन्वय गरिरहेको अवस्था छ । कृषि कर्म गर्नको लागि सञ्जालसँग सहकार्यका लागि अपील गरेको अवस्था छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्रमा समेत हामीले आधिकारिक रुपमा जानकारी गराइसकेको अवस्था छ । यस्तै कृषि क्षेत्रसँग सम्बन्धित एनजिओ, आइएनजिओसँग पनि हामीले सहकार्यको लागि जानकारी गरेको अवस्था छ । केही निकायले सहकार्यका लागि सकारात्मक कुरा पनि गरेका छन् । त्यस्ता निकायसँग छिट्टै समन्वय गरि काम पनि हुन्छ । यस्तै स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्ने हामीले विभिन्न माध्यमबाट जानकारी प्राप्त गरेका छौँ । पालिका स्तरमा सञ्जाल विस्तार भयो भने प्रक्रियागत र संस्थागत रुपमा सहकार्य अघि बढाउँछौँ ।

५. कोहलपुर नगरपालिकालाई कृषकहरुका लागि ११ बुँदे सुझाव दिएकोे कुरा गर्नुभयो, के के कुरा समेट्नु भएको थियो ?

नीति तथा कार्यक्रम तर्जुमा गर्दा अन्य पालिकासँग समन्वय भएन । कोहलपुर नगरपालिकाले चाँहि हामीले जानकारी गराएको थियो । सोही अनुसार हामी प्रत्यक्ष रुपमा त्यहाँ गएर ११ बुँदे सुझाव दिएका थियौँ । ती ११ बुँदामा यहाँको कृषिको क्षेत्रको बृहत विकास र किसानहरुलाई राहत तथा प्रोत्साहन हुने खालका कार्यक्रम राखेको अवस्था थियो । जहाँ सम्म तपाईँले बुँदागत रुपमा उल्लेख गर्न भन्नु भयो । हामीले कोहलपुर नगरपालिकालाई कृषि क्षेत्रको विकासको लागि नीति तथा कार्यक्रम छनौट गर्नको लागि पहिलो बुँदाको रुपमा सिक्टा नहर आइसकेकोले आसपासका क्षेत्रमा क्षेत्र हेरेर सिँचाइको प्रबन्ध मिलाउने रहेको थियो । कृषि क्षेत्रको विकासका लागि रणनीतिक योजना अघि बढ्नुपर्ने हाम्रो सुझाव रहेको थियो ।विभिन्न किसिमका अनुदान प्राप्त गर्न किसानलाई निकै झन्झट हुने गरेको छ । प्रक्रिया समेत निकै जटिल रहेका छन् । हामीले कोहलपुर नगरपालिकालाई अनुदान प्रक्रिया सरल बनाउन कार्यविधि निर्माणको माग गरेका छौँ । परम्परागत कृषिलाई थप मजबुत बनाइनु पर्ने सुझाव रहेको छ । अहिले पनि किसानलाई उन्नत जातको मल र बीउ अभाव रहेको छ । मल र बीउको सहज आपूर्ति गरिनुपर्ने हाम्रो माग रहेको थियो ।

६. तपाईं यहाँको अगुवा कृषक पनि हुनुहुन्छ, कोहलपुरको कृषि शाखा मार्फत किसानहरुका लागि भनेर अहिलेसम्म कस्ता कार्यक्रम लागू भएको पाउनु भएको छ ?

कृषिबाट समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य रहेको छ । सोही अनुसार प्रदेश र स्थानीय सरकारले समेत कृषि सम्बन्धि ठूला नारा लगाएको पाइन्छ ।कृषि क्षेत्र भन्न वित्तिकै किसानहरु जोडिने गर्छन् । स्थानीय सरकार आएको पनि चार वर्ष पुरा भइसकेको छ । अहिलेसम्म अधिकांश किसानहरुले स्थानीय सरकारबाट जुन किसिमको सहयोग प्राप्त गर्नुपर्ने हो । सोही अनुसार नपाएको मैले पाएको छु ।अहिलेसम्म धेरै किसान सरकारको पहुँचमा छैनन् । शाखाहरुबाट पनि वास्तविक किसान लाभान्वित भएको मैले पाएको छैन ।केही सीमित पहुँचवालाले पनि बारम्बार अवसर पाउने अवस्था रहेको छ । किसानहरुको लागि भनेर छुट्याइएको बजेट कार्यान्वयनमा समस्या देखिएको छ । यस्तो कुरा स्थानीय सरकारले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । कृषि क्षेत्रको बजेट बाटो पीच गर्ने ठाउँमा लगानी भएको पाइएको छ । आगामी दिनमा यस्तो नहोस भन्ने कुरा चाहेको छु । हामीले सीमित स्रोत र साधनमा व्यवसाय सञ्चालन गरिरहेका छौँ । स्थानीय सरकारको सहयोग हामीलाई चाहिएको छ । स्थानीय सरकारले सोचोस् ।

७. अहिलेपनि किसान र सरकारको सम्बन्ध सुमधुर हुन सकेको छैन व्यवसायिक रुपमा दुवै क्षेत्र सँगै जोडिनको लागि
के गर्नुपर्ला ?

व्यक्तिगत रुपमा भन्नु हुन्छ भने मैले यसले विषयमा बारम्बार नगरपालिका र सरोकारवाला निकायको ध्यानाकर्षण गर्दै आएको छु । मंच पाएसम्म हाम्रा अन्य साथीहरुले समेत यस विषयमा कुरा उठाइरहनु भएको छ । हामीले सहयोग गर्न तयार छौँ । स्थानीय सरकारको लक्ष्य प्राप्त गर्ने यात्रामा हाम्रो साथ छ पनि भनेका छौँ । तर अहिले पनि स्थानीय सरकारले हाम्रा कुरालाई गम्भीरता पूर्वक समन्वय गरेको अवस्था छैन । सबैभन्दा पहिला किसान र सरकारबीचको सम्बन्ध राम्रो हुनुपर्छ । कृषि शाखा पनि अधिकतम किसानहरुसँग जोडिन पहल गर्नुपर्ने देखिन्छ । अन्त्यमा स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । कृषि क्षेत्रको विकासको लागि अधिकतम रुपमा प्रयोग होस भन्ने हाम्रो उद्देश्य छ । अब कृषि सञ्जालले हरेक कुरामा पैरबी गर्छ । आफ्ना कुरा राख्ने अवसर दिनुभयो मिसन टुडे दैनिकलाई धन्यावाद छ ।

प्रकाशित मितिः बिहिबार, असार २४, २०७८     10:57:42 AM  |