कैलालीमा दुई सय ६२ र कञ्चनपुरमा ९९ कैदीबन्दी अझै फरार



धनगढी ।

कैलाली कारागारबाट भागेका २ सय ६२ जना कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीहरू नफर्किएका हुन् । कैलाली कारागारबाट भागेका ६ सय ६५ कैदीबन्दी मध्ये हालसम्म ४ सय जनामात्रै कारागार फर्किएको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनका अनुसार फर्किएकामध्ये ३५ महिला र ३ सय ६५ पुरुष रहेका छन् ।

३ जना अन्यत्र कारागार गएको उनले बताए । फरार रहेकामध्ये १९ जना भने भारतीय नागरिक रहेको उनले बताए । कैलाली कारागारमा २१ भारतीय रहेकामा २ जना मात्रै कारागार फर्किएको कारागार प्रशासनले जनाएको छ । फर्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले पक्राउ गरि बुझाएको कारागार प्रशासनले जनाएको छ । फरार रहेकाको प्रहरी खोजी तीब्र पारेको कारागार प्रमुख सापकोटाले बताए ।

कैलाली कारागारमा ६ सय ६७ जना कैदीबन्दी रहेका थिए । जसमध्ये ५८ जना महिला थिए । जेनजी आन्दोलनका क्रममा ६ सय ६५ जना कैदीबन्दी भागेको जनाइएको छ । एकजना नभागेको र एक जना उपचाररत रहेकाले भाग्न नपाएको जनाइएको छ । यसैगरी कञ्चनपुर जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।
कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् ।

फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो । कारागारमा हाल १४ भारतीय नागरिकसमेत कैद सजाय भोगिरहेका छन् भने १७ भारतीय कैदी अझै फरार छन् । स्वेच्छिकरूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने भएको छ ।

निमित्त प्रशासक जोशीका अनुसार फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनीरूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ । पटक–पटक कारागार प्रशासनले स्वेच्छिकरूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाइएको निमित्त प्रशासक जोशीको भनाइ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार