शेरबहादुर ऐर । कैलाली ।
कुनै समय थियो, साँझ पर्न थालेपछि कैलालीको मुख्य सहर धनगढी लगायतका चौरमा जुनकिरीको मेला लाग्थ्यो । लाग्थ्यो, आकाशका तारा जति सबै धर्तीमा ओर्लिएका छन् । ती जुनकिरी अचेल देखिँदैनन् । अचेल त सम्साँझ पर्न पाएको हुँदैन, धनगढी क्षेत्रको आकाशमा प्रकाशको चम्किलो किरण विभिन्न दिशामा दौडिन थाल्छ । धनगढीको मुख्य सडकमा बालिने हाइटेन्सन लाइट र त्यहाँ लगाइएको झिलिमिली बत्तीले उज्यालो बनाउँछ ।
पुच्छरमा उज्यालो छर्दै आहाराको खोजी गर्ने जुनकिरी आज सहरमा हावा, पानी, वातावरण, ध्वनी प्रदूषण र ठूला लाइटका कारण हराउँदै गएका छन् । पृथ्वीमा दुई प्रतिशतका दरले अनावश्यक मानवनिर्मित कृत्रिम उज्यालो बढ्दै गएको छ । यसको प्रत्यक्ष असर बसाइँसराइ गर्ने चराचुरुङ्गीलाई पर्ने गरेको छ । उड्न सक्ने भएकाले होला, चराचुरुङ्गीको घुमफिर यात्रा अन्य जीवजन्तुको भन्दा बेग्लै हुन्छ । उनीहरूले ओगट्ने क्षेत्र पनि ठूलो हुन्छ । कतिपय चरा त मौसमअनुसार हजारौँ माइलको दूरी पार गरी बसाइँसराइ गर्छन् ।
स्थानीय रूपमा पाइने चराचुरुङ्गीहरू भँगेरो, उल्लु, चमेरा, गौँथली, परेवा, नाइटजार (चैतेचरा) तथा स–साना किराहरूलाई बत्तीका कारण प्रत्यक्ष असर पुगेको चराविद् दयाराम चौधरीले बताए । विभिन्न राजमार्ग तथा सडकमा राखिएका बत्तीका कारण चराचुरुङ्गीलाई मात्र होइन् स–साना किराहरू, पुतली तथा फट्याङ्ग्राहरू समेतलाई असर परेको छ । तिनै स–साना कीटपतङ्गका कारणले पारस्थितिक प्रणाली चलिरहेको चराविद् कृष्ण भुसालले बताए ।
उनले अनुकूल मौसम, सुरक्षित वासस्थान, चरन र उपयुक्त प्रजनन क्षेत्रको खोजीमा चराचुरुङ्गी एक ठाउँबाट अर्को ठाउँमा तथा एक महादेशबाट अर्को महादेशमा आवतजावत गर्छन् । पछिल्ला दिनहरूमा मानवीय क्रियाकलापका कारण बसाइँसराइ गर्ने चराचुरुङ्गी सङ्कटमा पर्दै गएका छन् । त्यसैले बसाइँसराइ गर्ने चराचुरुङ्गीको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडान मार्ग सुरक्षित रहन सकेको छैन । रातको झिलिमिली उज्यालोलाई हामी आकर्षक ठान्छौँ, विकासको प्रतीक मान्छौँ । तर, यस धर्तीमा अँध्यारोमा मात्र सक्रिय हुने हजारौँ जीवजन्तु र लाखौँ किराफट्याङ्ग्रा छन् र तिनलाई उज्यालोले असर गर्छ भन्नेबारे मानिस बेपरवाह छन् ।
चराचुरुङ्गी चहकिलो बत्तीतर्फ आकर्षित भएर त्यता जाँदा आफ्नो बाटो बिराउने, हराउने, ठोक्किने मात्र होइन, त्यहाँ ढुकेर बसेका शिकारीको निशानामा पनि पर्ने गर्छन् । रातको उज्यालोले चराचुरुङ्गीको २४ घण्टा समयको शारीरिक ‘जैविक घडी’लाई पनि प्रभावित पार्छ । चराविद् तथा स–साना किराहरूका बारेमा अध्ययन तथा अनुसन्धान गरिरहेका डा आनन्द चौधरीले रातिको समयमा सक्रिय हुने जुनकिरी अँध्यारोमा तारा तथा जुनको प्रकाशमा आफ्नो जोडी खोज्ने गरेका बताए ।
जुनकिरीको प्रकाश देखेर नै भाले–पोथी जुनकिरीको भेट हुनुका साथै प्रजनन प्रक्रियासमेत हुने गर्दछ । तर राजमार्गलगातका सडक रङ्गिन बत्तीले सजाउँदा त्यहाँ जुनकिरीको प्रकाश देखिँदैन । उनीहरूको भेट नै हुन पाउँदैन । स–साना किराहरू बत्तीको प्रकाशतर्फ आकर्षित हुँदा प्रत्येक दिन हजारौँको सङ्ख्यामा मरिरहेका डा . चौधरीले बताए । डा चौधरीले भने, ‘करिब ७० प्रतिशत स्तनधारी जनावर रातमा आहारबिहार, हिँडडुल र प्रजननका लागि सक्रिय हुन्छन् भने दिनमा लुकेर बस्छन् । आराम गर्छन् ।
चरा प्रजातिका लाटोकोसेरो, चैते चरा जस्ता करिब ३० प्रतिशत प्रजाति आफ्नो गुजाराका लागि रातमा सक्रिय हुन्छन् । दिनमा सक्रिय हुने चराले पनि बसाइँसराइ रातको समयमा नै गर्ने गर्छन् ।’ दिनभर आहारको खोजी र शक्ति सञ्चयमा बिताउने चरा रातमा उड्दा शत्रुको जोखिम कम हुनुका साथै जुन र तारा उडानमार्ग पहिल्याउन सहयोगी हुन्छन् । रातमा तापक्रम कम हुने र वायुमण्डल पनि स्थिर हुँदा चरालाई उडान भर्न सजिलो हुन्छ । अध्ययनकर्ता चौधरीले राजमार्गमा बत्ती जडान गर्दा चारैतिर प्रकाश जाने गरी होइन् सडकको तलतिर जानेगरी ढाकेर, छोपेर, कुन रङ्गको बत्ती लगाउँदा के कस्तो असर गर्छ भनी खोज अध्ययन गरेर लगाउनुपर्ने बताए ।
बाज, चिल, गिद्ध जस्ता शिकारी चराले दिनमा बसाइँसराइ गर्ने हुँदा तिनबाट बच्न पानी चरा र अन्य गीतारु चरा, साना फिस्टे, चाँचर प्रजातिका चरा रातमा बसाइँसराइ गर्छन् । धनगढी उपमहानगरपालिकाले पालिकाको क्षेत्रभित्र पर्ने ६ लेन राजमार्ग, जेएजी मार्ग, कैलाली बहुमुखी क्याम्पस रोड, हसनपुर जाइ रोडमा रङ्गिन बत्ती जडान गरेको छ । गोदावरी नगरपालिकाले पनि धनगढी उपमहानगरपालिकाको देखासिकी गरेर अत्तरिया–धनगढी ६ लेन राजमार्गमा करिब ७ किलोमीटर सौर्य सडकमा बत्ती बालेको छ ।
यस विषयमा जानकारी लिनका लागि धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल तथा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीसँग फोन सम्पर्क हुन सकेन । गोदावरी नगरपालिका इन्जिनियर पूर्णबहादुर कुँवरले भने, ‘बत्ती लगायतमा जडान गरिएका बत्तीको असरबारेमा अध्ययन गरेका छैनौँ ।’ नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहको साझेदारीबाट बत्ती जडान गरिएको उनले बताए । उनले वातावरण प्रभाव मूल्याङ्कन गरिएको भए पनि विस्तृतमा सडकबत्तीले चरा तथा किराहरू तथा मानिसलाई समेत असर गर्ने गरे पनि यसबारे प्राविधिक अध्ययन अनुसन्धान नभएको बताए ।
स्थानीय पालिकाहरू स्थानीय पालिका सञ्चालन ऐनअनुसार भन्दै सडकमा बत्ती बाल्ने गरेका छन् । यस विषयमा सम्बन्धित सरोकारवाला निकाय भने मौन रहेको पाइन्छ । आजभोलि यी बत्तीहरू तालका छेउमा, पर्यटकीय स्थलहरूमा लगाइएको पाइन्छ । जसका कारण मानवीय स्वास्थ्यमा असरसँगै प्रकाश प्रदूषणले तापक्रम बढ्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्