19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २२, २०७८  

सुर्खेत ।

विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरिएको छ।

विश्वविद्यालयको इञ्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक यादवलाई बर्खास्त गरिएको उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले जानकारी दिए ।

यादवले आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुसी नम्बर दिएको पाईएको थियो । विद्यालयको शैक्षिक मर्यादाविपरीत क्रियाकलाप गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको सिंहले बताए ।

यादवले विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो। परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाईएको छ ।

उजुरी परेपछि छानविन समिति बनाइएको थियो । सो छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा सिंहलाई केही समयअघि मात्रै निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो ।

प्रकाशित मितिः मङ्लबार, असार २२, २०७८     12:00:36 PM  |