9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

चैते धानतर्फ किसान आकर्षित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

बाँके –  बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल हुनुभएको छ । बर्खे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाउनु भएको हो ।

उत्पादन राम्रो भएपछि अर्को वर्षदेखि थप जमीनमा पनि चैते धान रोप्ने उहाँले सोच बनाउनु भएको छ । कृषि ज्ञान केन्द्र बाँकेले किसान उहाँलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान बिउ उपलब्ध गराएको थियो ।

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिदै आएको छ । बर्दियाका किसानले एक दशकदेखि नै चैते धान लगाउँदै आएका छन् । यस वर्ष बाँकेका किसानले पनि चैते धान फलाउन सफल भएका छन् ।

सिक्टा सिँचाइ आयोजनाअन्तर्गत नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् । नहरमा बाहै्र महिना पानी आउन थालेपछि किसानलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमीनमा चैते लगाउनु भएको छ । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताउनुभयो । परीक्षणका रूपमा उहाँले हल्दीनाथ ३ र चैते धान ५ नामक धानको बिउ रोेप्नु भएको हो ।

लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि चैते धानको खेती लगाउनु भएको हो । एक वर्षमै शुरुमा बर्खे धान, त्यसपछि हिउँद्मा मसुरो र चैतमा चैते धान खेती गरेको नेपालले बताउनुभयो । सिँचाइ सुविधा पुगेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उहाँको भनाइ छ ।

धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनुभयो । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उहाँले जानकारी दिनुभयो । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।रासस

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     6:44:45 PM  |